coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लुम्बिनी प्रदेशका कोरोना अस्पताल भरिभराउ : उपचार नपाएरै फर्कन्छन् बिरामी

दाङ स्थित कोरोना बिशेष अस्पतालमा कोरोनाका दुईजना बिरामी गल्लीमै छन् । उनिहरुलाई त्यहिँ राखेर अक्सिजन दिईएको छ । अस्पतालमा रहेका बेड कोरोनाका बिरामीले भरिभराउ भैसकेका छन् । अस्पताल व्यवस्थापन पक्ष भन्छ ‘बेडमा राख्ने ठावैँ नभएपछि गल्लीमै अक्सिजन दिएर राखेका छौँ ।’ प्रदेश सरकारले स्थापना गरेको यो कोरोना अस्पताल २५ बाटबाट सञ्चालन भयो । अस्पताल आँफैले स्थानीय तहहरुसंग समन्वय गरेर थप १२ वटा बेड थप्यो ।

 हाल ३७ बेडको यो अस्पतालमा बेड भन्दा बढि बिरामी भरिएका छन् । ‘३७ बेड क्षेमताको अस्पतालमा अहिले ४२ जना बिरामी हुनुहुन्छ,’ अस्पताल व्यवस्थापक दोर्ण ओलीले भने ‘गल्लीमा समेत राखेर उपचार गरिरहनु परेको छ । यो अस्पतालमा बिरामी राख्ने ठावैँ छैन । तर गम्भिर अवस्थाका बिरामीहरु गेटमै आईपुग्छन् । ‘क्रिटिकल अवस्थाका बिरामीहरु गेटमै छट्पटाउन थाल्नु हुन्छ,’ ओलीले भने ‘अनि मानवताका हिसावले पनि हामीहरुले प्रतिक्षालय वा गल्लीमा राखेर उहाँहरुलाई अक्सिजन दिनु परिरहेको छ ।’

उनका अनुसार अस्पतालमा रहेका सबै बिरामीहरु गम्भिर अवस्थाका छन् । उनिहरु सबैलाई अक्सिजन दिएर उपचार गरिएको छ । यो अस्पतालमा अक्सिजन प्लान्ट छैन । नेपालगन्जबाट दिनुहुँ ७० सिलिण्डर अक्सिजन आयात भैरहेको छ । तर खपत पनि उत्तिकै मात्रामा दिनहुँ भैरहेको छ । ‘अक्सिजन खपत गरौँ, नत्र बिरामीहरुको जति बेला पनि निधन हुन सक्छ भनेर मैले पटक पटक सरोकारवाला निकायहरुलाई भन्दै आएको छु,’ओलीले भने ‘तर स्टक अक्सिजनको व्यवस्थापनका लागि कतैबाट पनि पहल भएन, यसो नहुनु उपचाररत बिरामीहरुको ज्यान माथिनै उच्च खतरा बन्दै गएको छ ।’

दाङ स्थित यो अस्पताल मात्रै हैन, कोरोनाको उच्च संक्रमण बढिरहेको लुम्बिनी प्रदेशमा सरकारले सञ्चालन गरेका चारवटै सरकारी अस्पतालहरुको अवस्था यस्तै बिजोग छ । यो प्रदेशमा रहेका कुनै पनि सरकारी अस्पतालमा थप बिरामी राख्न सकिने अवस्था छैन । सबै अस्पतालहरु बिरामीले भरिभराउ भैसकेका छन् ।  

बुटवलमा रहेको धागो कारखाना अस्पतालले एक हप्ता देखि बिरामी राख्न बन्द  गरिसक्यो । अस्पतालमा रहेका १५ वटा आईसियु बेड भरिईसकेका छन् । गम्भिर प्रकृतिका बिरामीहरु अस्पतालमा उपचारका लागि दिनुहँ आईरहन्छन् । तर अस्पतालमा बिरामी राख्न सक्ने अवस्थै छैन । अनि गम्भिर प्रकृतिका बिरामीहरुलाई यो अस्पतालले भरतपुर चितवन तथा काठमाडौँ पठाउँदै आएको छ । 

‘हाम्रो अस्पतालमा कोरोनका बिरामीका लागि छुट्याईएका १५ वटै आईसियु बेड भरिईसकेका छन्,’ यो अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाले नागरिकसंग भने ‘गम्भिर प्रकृतिका बिरामीहरु दिनहुँ उपचारका लागि आईरहनु भएको छ, तर हामीहरुले उहाँहरुलाई राखेर उपचार गर्न सम्भवै छैन, उहाँहरुलाई फर्काउन बाध्य हुनु परेको छ ।’ उनका अनुसार विगत एक हप्ता देखि यो अस्पतालले एकजना पनि नयाँ बिरामीलाई भर्ना गरेको छैन ।  

भैरहवा स्थित अर्को सरकारी अस्पताल भिम अस्पतालमा पनि दिनहुँ कोरोनाका बिरामीहरु आईरहन्छन् । शुक्रबार पनि गम्भिर प्रकृतिका बिरामीहरु उपचारका लागि आए । तर अस्पतालले एकजना बिरामीलाई पनि अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था भएन । ‘तपाईसंग कुरा गर्दैगर्दा दुईजना कोरोनाका गम्भिर बिरामीहरु अस्पताल परिसरमा आउनु भएको छ,’ यो अस्पतालका फोकलपर्सन डा. आरिफ हुसैनले भने ‘उहाँहरुलाई पनि हामी फर्काउनु बाहेक अर्को बिकल्पै छैन ।’ 

उपचारका लागि बेड अभावमा योा अस्पतालले बिगत तीन दिन देखि यसैगरि बिरामीहरुलाई फर्काउनु परिरहेको छ । डा. हुसैनका अनुसार  यो अस्पतालमा जम्मा २७ बेड छन् । २७ मध्य पाँच वटा आईसियु बेड बिरामीले भरिएका छन् । अन्य २२ वटा बेडमा पनि गम्भिर अवस्थाकै बिरामीहरु छन् । उनिहरु सबैलाई अक्सिजन दिएर राखिएको छ । ‘हामीहरु थप बिरामी राखेर उपचार गर्न सक्ने अवस्थामा छैनौँ,’ डा. हुसैनले भने ‘अन्य अस्पतालमा जानुस् भनेर पठाउनुको बिकल्पै छैन, बेड आली भएछ भने तपाईहरुलाई बोलाउँछौँ भनेर पठाईरहेका छौँ ।’

बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा पनि कोरोनका बिरामी राखेर उपचार गर्ने ठावैँ छैन ।  एक सय ४० बेड रहेको यो अस्पतालमा सबै बेड बिरामीले भरिएका छन् । त्यहाँ १० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ भने अन्यलाई अक्सिजन दिएर राखिएको छ । ‘सबै बिरामीहरु गम्भिर अवस्थाकै हुनुहुन्छ,’ यो अस्पतालका फोकलपर्सन डा. संकेत रिसाल भन्छन् ‘सामान्य अवस्थाका बिरामीहरुलाई त हामीहरुले होम आईशोलेशनमै बस्नुस् भनर पठाईरहेका छौँ ।’ 

उपचारका लागि ठाउँ अभावमा अब यो अस्पतालले थप बिरामी राख्न सक्ने अवस्था छैन । ‘तैपनि बिरामीहरुको अवस्था कसैको सुधार भएको अवस्थामा उहाँहरुलाई घर पठाएर अन्यलाई उक्त बेडमा राख्न सकिएला,’ उनले भने ‘अन्यथा गम्भिर अवस्थाका बिरामीहरुलाई पनि हामीहरुले बेड अभावमा उपचार गर्न सकिने अवस्था अव देखिन्न ।’ 

बेड अभावमा यो अस्पतालले पनि बिहिबार देखि बिरामी फर्काउन थालिसकेको छ । अस्पतालले अन्य अस्पतालमा जान भन्दै बिहिवार देखि केहि बिरामीहरुलाई फर्काउनु परेको जनाएको छ । ‘अरु अस्पतालमा जानुस् भनेर बिहिबार पनि केहि बिरामीहरुलाई फर्काउन बाध्य भयौँ,’ उनले भने ‘बेड अभावै अभाव छ कहाँ राखेर उपचार गर्ने ?’ यो अस्पतालमा आउने बिरामीहरुलाई कोहलपुर मेडिकल कलेजमा बिरामी रेफर गर्दै आएको छ ।  

एकातिर सरकारले सञ्चालन गरेका अस्पतालहरुमा बेड संख्या नबढाईनु । अर्कोतर्फ यिनै सरकारी अस्पतालले मात्रै उपचार गर्नुपर्ने सरकारी नियतका कारण बिरामीहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आएको चिकित्सकहरु बताउँछन् । यस्तो बेला अन्य अस्पतालहरुमा समेत कोभिडको उपचार गर्ने गरि ब्यवस्थापन नमिलाईए अहिलेको अवस्थाले भोली झनै भयावह अवस्था आउने खतरा उनिहरुले देखिरहेका छन् ।

 ‘सरकारी अस्पतालहरु बिरामीले भरिईसके,अब बिरामी राखेर उपचार गर्न सक्ने अवस्थै छैन,’ भेरी अस्पतालका फोकलपर्सन डा. रिसाल भन्छन् ‘यस्तो खतरनाक अवस्थामा बिरामीहरु अक्सिजन नपाएरै मर्नुपर्ने अतरा बढ्न थालिसक्यो, फलतः अरु अस्पतालहरुलाई पनि कोरोना अस्पतालका रुपमा रुपान्तरण गर्न सरकारले पहल लिनै पर्छ , नत्र यो भयावहलाई रोक्न सकिने अवस्था मैले देख्दैन ।’

प्रकाशित: १० वैशाख २०७८ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App