गुलिया पदार्थ सबै स्वादिला हुँदैनन्। कतिपयको स्वाद गुलियो भए पनि स्वास्थ्यका लागि अहितकर हुनसक्छ। तर ‘मह’ यस्तो खाद्य पदार्थ हो, जो गुलियो र स्वादिलो त हुन्छ नै, त्योभन्दा ज्यादा पौष्टिक र स्वास्थ्यवर्धक। मौरीले मिहिन ढंगले अनेक फूलको सारतŒव चुसेर कठिन मेहनतका साथ मह तयार पारेको हुन्छ। जुन मानिसको एक प्रिय उपहार बनेको छ। विश्वभर कैयौं मानिस यही महका पारखीसमेत छन्।
मौरीको महबाहेक नेपाली समाज एक अर्को ‘मह’को पनि पारखी छ। त्यो मह हो, महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी। यो जोडी नेपाली कलाकारिता क्षेत्रको कालजयी जोडी हो, जसले मूलतः हास्यव्यंग्यको रसमार्फत नेपाली समाजलाई झन्डै आधा शताब्दीसम्म मनोरञ्जनको चास्नी चखाइरहेको छ। चास्नी चखाएको मात्र छैन, यसको अम्मलमा चुर्लुम्म डुबाएको पनि छ।
यो जोडीले दशकौंदेखि नेपाली रङ्गमञ्चमा अनेकांै नयाँ परिकार पस्कँदै त्यसको बेजोड स्वादमा दर्शकश्रोतालाई मन्त्रमुग्ध पार्दै आएको छ। महजोडीको ‘मेन्यु’मा रहेका अनेक परिकारहरूमा सदावहार लोकप्रिय परिकार भने ‘महजात्रा’ प्रहसनलाई मानिन्छ।
तर, एकाएक समयले त्यसलाई निरन्तरता दिन सहयोग गरेन। एक दशकयता नेपाली रङ्गमञ्चबाट महजात्रा अलप भयो। दर्शकले रुचाएकै थिए। माया र साथ पनि उत्तिकै थियो। तर विविध संयोगले साथ नदिँदा महजोडीले त्यसलाई निरन्तरता दिन सकेनन्। अहिले १० वर्षपछि भने पुनः एक पटक महजात्रा नेपाली रङ्गमञ्चमा चढेको छ।
१० वर्ष कहाँ हराए मह?
यस्तोमा प्रश्न उठ्छ, १० वर्ष कहाँ हरायो महजोडी ? प्रश्नको उत्तर पनि दर्शकसँगै छ। दुवैजना नेपाली आँखाअगाडि देखिनै छाडेका त छैनन् नि। मात्र ‘प्लेटफर्म’ परिवर्तन भयो होला तर हराएका छैनन्। यस्तै तयारी जवाफ ‘मह’ भित्रका ‘ह’ अर्थात् हरिवंश आचार्यसँग पनि छ। ‘रङ्गमञ्चमा आउन नसक्नुमा विभिन्न कारण हुन सक्छन्। हामी डिजिटल प्लेटफर्ममा आइ नै रहेका छौं,’ उनी भन्छन्, ‘विभिन्न कार्यक्रम भइरहेकै छन्। दुईतीन वर्ष त हामीले विदेशमै कार्यक्रम गर्यौं। १० वर्षअगाडि हामीले गरेको महजात्राका कार्यक्रमहरू नेवारबहादुर–बाहुनबहादुर, मदनको फोटो स्टुडियो, यी प्रोग्राम हामीले संसारभर देखायौं। त्यहाँ नै दुईतीन वर्ष लाग्यो हामीलाई।’ यसबाहेक पनि भूकम्प र कोभिड पनि अर्का कारक मान्छन् उनी ।
‘स्टेज सो’ नदेखाउनुको अर्को पनि कारण छ। त्यो हो– पाइरेसी। ‘लामो रिहर्सलपछि स्टेज सो देखाउँदा दर्शकले खिचेर अगाडि नै प्रसारण गरिदिँदा मजा नै आउँदैन,’ मह भित्रका ‘म’ अर्थात् मदनकृष्ण श्रेष्ठ उदासी पोख्छन्, ‘स्टेज सोमा ध्यान कम हुनुको कारण त्यो पनि हो। यो कुराले हामीलाई निरुत्साहित गर्छ।’
‘नखिचिदिने भएको भए हामी टुँडिखेलमा देखाउँथ्यौं होला,’ हरिवंश थप्छन्, ‘एकैचोटि लाखौं मान्छेले हेर्थे ।’ एउटा प्रोग्राम बनाउन धेरै मेहनत गर्नुपर्छ। स्क्रिप्टदेखि फिजिकल गर्दा ठुलो मेहनत लाग्छ। ‘यति मेहनत गरेको कार्यक्रम एकैचोटि मोबाइलमा खिचेर प्रसारण गर्दा ठिक लाग्दैन,’ हरिवंश तितो अनुभव सुनाउँछन्।
अनुभवीहरू भन्छन्– गीतसंगीतका कार्यक्रममा त्यस्तो सुहाउँछ। किनभने गीतसंगीत जतिपटक सुन्यो, त्यति नै दिमागमा बस्छ। पछि सुन्दा रमाइलो पनि हुन्छ। तर नाटक सबै ‘सस्पेन्स’ हुन्छ। सस्पेन्स पहिले नै खुले त्यसबाट दर्शकको मनमा उत्पन्न हुने उत्सुकता घटाइदिन्छ।
‘रङ्गमञ्ज आमाको काख’
वास्तममा आफ्नो पृष्ठभूमि, आफू हुर्केको ठाउँ, परिवेश, संघर्षका दिन कसले पो बिर्सन सक्छ र ? गुनासो त्योसँग हुन्छ, जोसँग आत्मीयता पनि हुन्छ। महजोडीका हकमा पनि त्यो लागु हुन्छ। लामो समय नेपाली रङ्गमञ्चबाहिर बस्दाको रिक्त अनुभूतिमा दुवैजना निकै भावुक सुनिन्छन्।
‘स्टेज हाम्रो जग हो। हामीले कार्यक्रम सुरु गर्दा न टिभी थियो, न चलचित्र नै। त्यसैले रङ्गमञ्च मलाई आमाको काखजस्तै लाग्छ,’ हरिवंशको भावुकता छचल्किन्छ, ‘त्यसलाई माया मार्न सकिँदैन। त्यसको लोभ अर्कै हुन्छ। जन्मेको ठाउँलाई बिर्सन कहाँ सकिन्छ र ?’ त्यसकारण ढिलै भए पनि महजात्रामा आफूहरू आएको उनी बताउँछन्।
हरिवंशलाई भावुक सुनिसकेपछि सँगै बसेका मदनकृष्ण सम्हालिँदै आफ्नो कुरा थप्छन्, ‘हामी यसमै छौं। विदेशमा पनि हामी स्टेजमै प्रोग्राम गर्यौं। यहाँ पनि यसै गर्यौं। महजात्रा हाम्रो ब्रान्ड हो। यो गरेको धेरै भइसक्यो, २०–२५ वर्ष नै। यो हामीलाई सुहाउने ब्रान्ड पनि हो। यो बान्डको हामीलाई विशेष लोभ पनि लाग्छ।’
१० वर्षपछिको ‘महजात्रा’
यसपटकको महजात्रा मानवसेवा आश्रम र मीरा फाउन्डेसनको सहयोगार्थ सुश्री मिडियाले आयोजना गरेको हो। कात्तिक २९ देखि सुरु भएको महजात्रा मंसिर १८ सम्म काठमाडौंको प्रज्ञा भवन र मोफसलका सहरमा चलिरहेको छ। यसमा मुख्य कलाकार मदनकृष्ण र हरिवंशबाहेक किरण केसी, नरेन्द्र कंसाकार, राजाराम पौडेल, शैलेन्द्र सिम्खडा, शिवहरि पौड्याल, यमन श्रेष्ठ, दिनेश काफ्लेले पनि हास्यव्यंग्य प्रस्तुति दिइरहेका छन् ।
विगतमा देखाइएका कार्यक्रमभन्दा अहिले फरक विषयवस्तु रहेको कलाकारको दाबी छ। तर उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु रहेको हरिवंशको भनाइ छ। ‘एक नम्बरमा मनोरञ्जन, दुई नम्बरमा सन्देश हो। हाम्रो कार्यक्रममा आएका मानिस हाँसेर जानुहुन्छ,’ हरिवंश भन्छन्।
रङ्गमञ्च भनेको सशरीर उपस्थित भएर अभिनय गर्ने ठाउँ हो, जहाँ दर्शक र कलाकारको प्रत्यक्ष साक्षात्कार हुन्छ। कलाकारका कमीकमजोरी चतुर दर्शकले सजिलै थाहा पाउँछन् भने आफ्नो कलाको प्रतिक्रिया कलाकारलाई निमेषभरमै भान हुन्छ। राम्रो लागे ठाउँको ठाउँ हुटिङ र तालिको वर्षा हुन्छ, पट्यार लागे दर्शकदिर्घा निन्द्रामा जान्छ।
रङ्गमञ्चमा कलाकार जतिकै महत्त्वपूर्ण अर्को पक्ष हो, दर्शक। कलाकारको स्टेज सानो र तल हुन्छ। तर दर्शकदिर्घा निकै ठुलो र माथिसम्मको हुन्छ। त्यसकारण रङ्गमञ्चमा दर्शकको साथ अनिवार्य हुन्छ ।
पछिल्लो समय महजात्रामा दर्शकको कस्तो प्रतिक्रिया पाइरहेको छ यो जोडीले ?
हरिवंश फ्याट्टै जवाफ दिन्छन्, ‘एकदमै राम्रो प्रतिक्रिया। मान्छे खुसी हुनुभएको छ। हाँसेर जान पाउनुहुन्छ। केही चिज मनन गर्न पाउनुहुन्छ।’ १० वर्षपछि नयाँ पुस्तामाँझ प्रस्तुत हुँदा दर्शकको गुणस्तरमै पनि धेरै फरकपन आएको उनी सुनाउँछन्। ‘१० वर्षअघि भन्दा अहिले पुस्ता फेरिएको छ। पहिले र अहिलेका दर्शक फरक छन्,’ उनी अनुभव सुनाउँछन्, ‘पहिले रङ्गमञ्चमा हेर्ने मान्छे मात्रै हुन्थे। अहिले त अध्ययन गर्ने मान्छे पनि हुन्छन्। सिनेमा पढ्ने मान्छे, नाटक पढ्ने मान्छे। ती मान्छे पनि आउनुभएको छ। कसरी गर्दा रहेछन् ? भनेर कार्यक्रमको अनुसन्धान जस्तो काम पनि भएको छ हाम्रो।’
नयाँसँग प्रतिस्पर्धा कि सहकार्य?
पछिल्लो समय हास्यव्यङ्ग्य क्षेत्रमा नयाँ कलाकारको उदय पनि उत्साहजनक रूपमा भइरहेको छ।
हामीले प्रश्न गर्यौं– नयाँ पुस्ताका कलाकारलाई हौसला दिनुपर्ने ठाउँमा तपाईंहरूको पुनरागमनले हास्यव्यङ्ग्य क्षेत्र सन्तोषजनक छैन भन्ने सन्देश दिन खोजेको हो ?
प्रश्न भुइँमा खस्न नपाउँदै हरिवंश उत्तर दिन अगाडि आए। ‘यो बिचको हौवा पिट्नेहरूको कामको हो। नयाँ पुस्ता झन् खुसी छन्,’ उनले भने, ‘हामीलाई उमेरको हिसाबले पनि होला, एउटा अभिभावक दर्जा पनि दिनुहुन्छ उहाँहरू।’
आफूहरू पनि नयाँ पुस्तासँग जोडिने प्रयास गरिरहेको उनको दाबी छ। ‘एकदुई जना नयाँ पुस्ता हामीसँग सहकार्य पनि गरिरहनुभएको छ। पुरानो मान्छे आयो भनेर नयाँ पुस्ता रिसाउने भनेको त्यो त नपढेको अशिक्षित मान्छेले गर्ने कुरा हो। शिक्षित मान्छे त खुसी भइराछन् जस्तो लाग्छ मलाई,’ उनले अगाडि भने।
नयाँ चलचित्रमा आफूसँग ९९ प्रतिशत नयाँ कलाकार हुने हरिवंशको दाबी छ। उनी भन्छन्, ‘जस्तो हामीले कुनै टेलिभिजनमा कुनै प्रोग्राम बनायौं भने पनि त्यसमा खेल्ने कलाकार पनि नयाँ पुस्ताकै कलाकार हुनुहुन्छ। पुराना पुस्ताका कलाकार त अलिअलि मात्रै बाँकी हुनुहुन्छ। धेरै त बाँकी पनि हुनुहुन्न।’
नयाँ चलचित्रका लागि दीपकराज गिरीसँग सहकार्य हुने हरिवंशले खुलाएका छन्। त्यसका लागि अवधारणा पनि बनिसकेको र पाण्डुलिपिको काम भइरहेको हरिवंशले सुनाए।
उहिले र अहिलेका चलचित्र
नेपालमा चलचित्रको इतिहास त त्यति पुरानो छैन। केही दशकको मात्रै हो। पहिलेको भन्दा चलचित्र क्षेत्रमा लगानी बढेको छ। त्यो विषयवस्तुमा पनि हो र प्रविधिमा पनि हो। सँगै कलाकारले पनि आफूलाई विभिन्न प्रशिक्षण र अध्ययनबाट निपुण बनाइरहेका छन्। केही वर्षअगाडि लाखमा बन्ने र लाख नै कमाउने अपेक्षा गरेका चलचित्र करोडमा बन्दैछन् र करोड नै कमाइरहेका छन्।
कुनै समय आफूले बनाएका टेलिचलचित्र १५ गते, लालपुर्जा, चिरञ्जीवी या दसैंलाई चलचित्र नै हो भन्न नरुचाउने जमात रहेको उनी स्मरण गर्छन्। ‘यस्तो नि चलचित्र हुन्छ भन्थे,’ उनी भन्छन्, ‘चलचित्र भनेको पाँच वटा गीत, एउटा दुइटा फाइट, नारी प्रधान, रुवाउनुपर्ने, बेलाबेला हँसाउने दुई जना हास्य कलाकार र हास्य कलाकार राखेर सिनेमा बनाइन्थ्यो।’ तर अहिले केही चलचित्र मौलिक बन्न थालेको हरिवंश सुनाउँछन्। ‘हामीले संसारको कुनै पनि चलचित्रको अनुसरण गर्नुपरेको छैन। नयाँ नयाँ विषय राखेर चलचित्र बन्न थालेका छन्। चलचित्रको विकास पनि भएको छ,’ उनी भन्छन्।
ओझेलमा रङ्गमञ्च
महजोडीको बुझाइमा रङ्गमञ्चको विकास चाहिँ अहिलेभन्दा त्यो बेला नै बढी भएको थियो। त्यति बेला चलचित्रको विकास भएको थिएन। अहिले रङ्गमञ्चको विकास हुन नसक्नुमा नयाँ थिएटरहरू बन्न नसक्नु रहेको हरिवंशको आँकलन छ। उनी भन्छन्, ‘लाइटिङ सिस्टम नयाँ ल्याउन सकिएन। निजी क्षेत्रको लगानीमा खुलेका केही उदाहरणीय संस्थाहरू त छन् तर त्यसको क्षमता निकै न्यून छ। १५०/२०० संख्याको मात्रै छ। हामीलाई यस्तो एडिटोरियम चाहिन्छ कि एकै सोमा तीनचार हजारले मिलेर हेर्न सकून्। त्यस्तो हल छैन हामीसँग। एउटा चिम जले त्यो फेर्नसक्ने क्षमता पनि छैन।’
प्रज्ञा भवनलाई पहिले पञ्चायत व्यवस्थामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भनिन्थ्यो। त्यो बेला यहाँ सधैं अभ्यास भइरहेको हुन्थ्यो। कलाकार सधैंजसो व्यस्त हुन्थे। ‘पहिलेका कलाकार अहिले सबै अवकाश भएर गइसके। कलाकार नै छैनन्। तीनचार जना मात्रै बाँकी छन्। यो त अहिले भाडामा दिने स्थान मात्रै भयो,’ हरिवंश असन्तुष्ट सुनिन्छन्। नाट्य एकेडेमी भनेर अन्त लगेर खोलियो। त्यहाँ न हल छ, न त्यहाँ कुनै नाटक हुन्छ, न त संगीतको अभ्यास हुन्छ। केही पनि हुँदैन। खालि संस्था खोलेर सबैलाई भाग पुर्याउने काम मात्रै भएको हरिवंशको बुझाइ छ। उनी भन्छन्, ‘त्यो बेला राष्ट्रिय नाचघरमा दिनहुँ नाटक प्रदर्शन हुन्थ्यो। दिनहुँ सांगीतिक प्रस्तुति हुन्थ्यो। कलाकार सधैं व्यस्त हुन्थे। दिनहुँ रिहर्सल हुन्थ्यो। तर त्यो रङ्गमञ्चको वातावरण झन् झन् हामी विकास हुँदै गयौं, त्यो चाहिँ विनास हुँदै गयो।’
विगत र वर्तमानलाई मदनकृष्ण भने फरक ढंगले विश्लेषण गर्छन्। ‘हामीले सबै किसिमको प्रविधि उपभोग गर्न पायौं। त्यतिबेलाको कामचलाउ साधन र अहिलेको प्रविधि पनि उपभोग ग¥यौं। नयाँ नयाँ प्रविधि पनि देख्यौं। हाम्रो पालामा ट्रली भन्ने हुँदैनथ्यो। बोरामा क्यामेरा म्यान बसेर तान्नुखिच्नु पथ्र्यो,’ उनी भन्छन्। त्यो बेलादेखि अहिलेसम्मका प्रविधि देख्न पाएको र उपभोग गरिरहेकामा उनी खुसी व्यक्त गर्छन्।
‘रङ्गमञ्च भनेको मलाई प्रज्ञा भवन, राष्ट्रिय नाच घरको पुरानो भवन जुन भत्काइयो, (अहिले नयाँ बनाइएको छ) यो दुइटा रङ्गमञ्च सम्झन्छु म,’ हरिवंश भन्छन्, ‘सपनामा पनि यही रङ्गमञ्च देख्छु। रङ्गमञ्चको कल्पना गर्नासाथ यही देख्छु म।’ तर अहिले एउटा भाडामा दिने भवन मात्रै बनेकामा उनको चित्त दुखाइ छ।
मदनकृष्ण भने त्यही क्षेत्र भएर हिँड्दा श्रद्धापूर्वक नमन गरेर अघि बढ्ने गरेको सुनाउँछन्। ‘यो बाटोमा आउँदा पनि नमस्कार गरेर जान्छु। श्रद्धा लाग्छ मलाई,’ मदनकृष्ण भावुक हुँदै भन्छन्।
अविश्रान्त मदनकृष्ण
पार्किन्सन्स रोगले पीडित भए पनि मदनकृष्ण अभिनय, लेखन र गायनलाई निरन्तरता दिइरहेका छन्। १० वर्षपछिको नेपाली रङ्गमञ्च चढाइमा उनी दिनहुँ झन्झन् स्फुर्ति बटुलिरहेका छन्। ‘स्टेजमा गए फूर्ति आउँछ,’ जोशका साथ मदनकृष्ण भन्छन्, ‘सकिन्न भनेर बसे झन्झन् डल्लो भएर जान्छ। सक्छु भनेर गर्नुपर्छ। गरिरहेको पनि छु। अस्तितिर स्टेजमा जानेबेला समातेर लानुपथ्र्यो। पछि अरू प्रोग्राममा हिँडे। त्यहाँ, हिँड्नै नपर्ने भए पनि म सक्छु भनेर हिँडेर देखाए। झन फूर्ति बढेको छ अहिले।’
जुन दर्शकमा पाइएको उत्साहजक र उपस्थितिले पनि पुष्टि गर्छ।
हरिवंशको बुझाइमा मदकृष्णको जोश स्टेजकै कारणले आएको हो। ‘स्टेज सो गर्नु फिजियो थेरापी पनि त हो। मान्छे चलायमान हुनुपर्छ जहिले पनि,’ उनी भन्छन्, ‘म सक्दिनँ, सक्दिनँ होला भन्ने सोचले त्यो मान्छे शिथिल हुन्छ ।’
हरिवंश मानिसको सिर्जनशीलता मेसिनसँग तुलना गर्छन्। ‘जस्तो मेसिन पनि नचलाइ राखे खिया लाग्छ। जति चलायो त्यति नै त्यो मेसिनको ऊर्जा बढ्छ। त्यसले नै गन्तव्यमा पु¥याउँछ,’ उनी थप पुष्टि गर्ने कोसिस गर्दै भन्छन्, ‘त्यसैले मान्छे पनि मेसिन हुन सिक्नुपर्छ। बिग्रिन त एक दिन बिग्रिहाल्छ। जिन्दगी पनि एक दिन विश्राम लिनु पर्छ नै ।’ तर सकेसम्म शरीरिक रूपमा मान्छे जति सक्रिय हुन्छ, दिमाग पनि उति नै सक्रिय हुने सोचेर आफूहरू त्यही कोसिसमा रहेको उनी बताउँछन्।
हरिवंशले भनेजस्तै मान्छे मान्छे नै हो र मेसिन पनि मान्न सकिन्छ। मान्छेको शरीर र मेसिन दुवै अजम्बरी हुँदैनन्। कति दिन ? किटेरै भन्न नसके नि निश्चित आयु हुन्छ। मदनकृष्ण अशक्त शरीर बोकेर कति दिन रङ्गमञ्चमा हरिवंशको साथ दिनसक्छन् ? त्यो भने समयले बताउने छ। तर महजोडीका प्रशंसक/पारखी भने उनीहरूबाट आजीवन नयाँ नयाँ प्रस्तुति पर्खाइमा हुनेछन्।
प्रकाशित: ८ मंसिर २०८१ ०९:२९ शनिबार