८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क,राज्यको करोडौं रुपैयाँ खेर गयो

पर्वतको कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा नल्याउँदै जीर्ण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क सञ्चालन नहुँदै जीर्ण हुन थालेको हो।

कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा ६ करोड ६६ लाख तीन हजार दुई सय ५० रुपैयाँ खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छ भने टर्मिनल भवनका झ्यालढोका र सिसा फुटिसकेका छन्। अहिले बसपार्कका संरचना शौचालयमा परिणत भएको छ ।  

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले कुश्मा नगरपालिकालाई बसपार्क हस्तान्तरण गरिसकेको भए पनि त्यसलाई सञ्चालन गर्ने नीतिको अभावमा  उपयोगविहीन भएको हो । कुश्मा नगरपालिका–६ का वडाअध्यक्ष शिव गिरीले शीघ्र नीति तर्जुमा गरी बसपार्क सञ्चालन गर्न आफुहरूले माग गरेको बताए।

१२ रोपनीमा फैलिएको बसपार्कमा यात्रीकक्ष र पसल कबल, टिकट बिक्रीकक्ष, चमेनागृह, हलुका तथा भारी  सवारीसाधन राख्ने  संरचना बनाइएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले कुश्मा बजारबाट हरेक दिन काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभित्तालगायत गन्तव्यका निम्ति सार्वजनिक यातायातका सवारीसाधन प्रस्थान गर्ने गरेका तथा तिनले सडकमै पार्किङ गर्दा सवारी व्यवस्थापनमा पनि समस्या भएको बताए।

यसैबीच, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले कार्यपालिकाको बैठकबाट बसपार्क सञ्चालनसम्बन्धी नीति बनाएर यथाशीघ्र सञ्चालन गरिने आश्वासन दिएका छन्।रासस

प्रकाशित: ८ मंसिर २०८१ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App