१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अयोध्यापुरीमा राम-सीताको मूर्ति

चितवनकाे माडिस्थित अयोध्यापुरीमा निर्माण गरिएकाे मन्दिर। तस्बिर: नागरिक

चितवनको माडी नगरपालिका अयोध्यापुरीमा राम–सीताको मूर्ति प्रतिस्थापन गरिएको छ। अयोध्यापुरीमा नवनिर्मित मन्दिरमा श्रीरामनवमीको अवसर पारी बुधबार भगवान् राम , सीता, लक्ष्मण र हनुमन मूर्ति राखिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्ण कदका मूर्ति काठमाडौंबाट रथयात्रासहित अयोध्यापुरी पुर्‍याइएको थियो। पशुपतिनाथमा स्वस्तिवाचन र मन्त्रोच्चारण गरी काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै माडीस्थित अयोध्यापुरीको रामधाममा निर्मित मन्दिरमा राखिएको छ। मूर्तिलाई माडी लगेपछि परशुराम कुण्डको जलले अभिषेक गरिएको थियो।

अहिले राखिएका मूर्तिलाई पछि मूल मन्दिर बनाएर राखिने अयोध्यापुरी व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले बताए।‘ काठमाडौंबाट बाजागाजासहित रथयात्रा गरेर मूर्तिलाई अयोध्यापुरी ल्याइएको हो,’ अध्यक्ष भुसालले भने, ‘हजारौंको सहभागितामा रामनवमीको अवसर पारी मन्दिरमा मूर्ति राखेका छौं ।’ चितवनको माडीस्थित करिब १ सय बिगाहा क्षेत्ररहेको सो स्थानमा १६ लाख रूपैयाँको लागतमा मूर्तिराख्न मन्दिर निर्माण गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मंगलबार विशेष पूजा गरी पठाइएका मूर्तिसहितको रथयात्रा साँझ देवघाट पुगेको थियो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा बेलुकी देवघाट पुगेकोर गण्डकीमा स्नानसहित पूजा आराधना गरी देवघाट क्षेत्र विकास समितिले स्वस्ति वाचनसहित बुधबार टोलीलाई माडीका लागि बिदाइ गरेको थियो।

बुधबार दिउँसो तामझामसहित मूर्ति प्रतिस्थापन गरिएको हो। गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीलेरामको जन्म माडीको अयोध्यापुरीमा भएको भनेपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया सुरु भएको थियो। उनले भारतको अयोध्यामाराम जन्मिएका भन्ने कुरा भारतले नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए। भारतले नक्कली अयोध्या खडा गरेको भन्दैरामको जन्म माडी नगरपालिकाको ठोरीमा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका थिए। प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मणर हमानको मूर्ति स्थापना गरिएको थियो।

कार्यक्रममा संस्कृति ढकाल, प्रदेश–२ प्रमुखराजेश अहिराज, वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल, चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलसहितको उपस्थितिमा मूर्ति राखिएको हो। कार्यक्रममा बोल्दै मन्त्री ढकालले माडीको अध्योयापुरीमा भगवान रामकाे जन्म भएको यथेष्ट प्रमाण भएको बताउँदै रामपुरीको गुरुयोजना बनाएर थप भौतिक पूर्वाधार निर्माण गरिने बताए ।

वाग्मती प्रदेश मुख्यमन्त्री पौडेलले अयोध्यापुरीको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए। कार्यक्रममा माडी नगर क्षेत्रका विभिन्न स्थानका बासिन्दाले घरअगाडि घडा राखी ताली बजाएर स्वागत गरेका थिए। कार्यक्रममा विभिन्न थारु संस्कृतिका झाँकीको प्रदर्शन गरिएको थियो।

प्रकाशित: ९ वैशाख २०७८ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App