२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

पानी पार्न देउताको भाकल

झण्डै आठ महिनादेखि पानी नपरेर बालीनाली सुक्न थालेपछि जुम्लाका किसान देउताको भाकल गर्न थालेका छन्। उनीहरुले देउताको मन्दिरमा पूजा गर्ने, मुढा चढाउने, घण्टा चढाउनेदेखि थानमा बलि चढाउने गर्न थालेका हुन्। हिउँदमा हिउँ परेन। तर किसान फागुन चैत महिनामा पानी पर्ने आशामा थिए।  

देउताको पूजा आराधाना गरे पानी पर्ने विश्वासले भाकल गर्न थालिएको स्थानीय जैसरी बुढा बताँउछिन्। खडेरीले बालीनाली सुकायो। विभिन्न प्रकारका रोग व्याधि भित्रन सक्ने खतरा बढ्यो, उनले भनिन्,‘अन्तिम दैवी शक्तिका रुपमा रहेका देउताको भाकल गरिरहेका छौँ।’

खडेरीले भित्र्याउन लागेको बाली सोत्तर भइसक्यो। गहुँ पनि भित्र्याउन सकिने अवस्था छैन। हिउँदेबाली नै सखाप भएपछि किसान चिन्तित छन्। उनले भनिन्,‘हिउँदमा हिउँ परेन। हिउँदेबाली सखाप भइसक्यो। आगामी लगाउन लागेको बाली समेत सप्रियोस भनेर भाकल गरिराखेका छौँ।  

उनको गाउँका झण्डै दर्जन बढी देउताको मन्दिरमा मुढा ल्याएर चढाइएको छ। रातभर देउताको नाममा जाग्राम बसेर पूजा गर्ने तयारी भइराखेको छ। अन्तिम शक्ति भनेको देवता नै हुन्। देवताको भाकल गरे अवश्य नै बर्षा हुनेछ, स्थानीय हरिश्चन्द्र बुढाले भने,‘बर्षा भए किसानको खायो हुनेछ। नत्र न किसान रहने छन् नत कृषि कर्म नै रहनेछ।’

जुम्ली किसानका लागि पुस, माघ, फागुन र चैत महिनामा एक एक पटक पानी पर्नुपर्छ। देउताले पानी पारेको खण्डमा अझै ठूलो पूजा आराधाना गर्न सकिने स्थानीय बताउँछन्। देउताका नाममा रातभर जाग्राम बस्ने, देउता खुसी बनाउन अनेकन विकल्प अपनाउने गरिरहेका छन्।  

खडेरीले पानीका मुहान समेत सुकेका छन्। नदीनाला सुक्न थालेपछि किसान निकै दुःखी छन्। तीव्र वनजंगलको बिनास, वनजंगलमा आगजनीदेखि परम्परागत रितिथिती भत्किएकोले समयमै पानी नपरेको बुढापाका बताउँछन्।  

जमिन निकै सुख्खा छ। वर्षेबाली लगाउने समय भएकोले खनजोत गर्न सकिने अवस्था छैन। जनिममा चिस्यान नहुँदा बारीमा छरेको बीउ उम्रिने देखिदैन। अधिकांस किसान देउता रिसाएका कारण पानी पर्न नसकेको भन्दै देउतालाई खुसी बनाउने तिर लाग्नुपर्ने बताउँछन्। अहिले देउताका नाममा भाकल गरेका छौँ, स्थानीय किसान हरीबहादुर खत्रीले भने,‘समयमै पानी पारिदिएको खण्डमा देउतालाई ज्यान दिन तयारी हुने छौँ। देउताले किसान खुसी बनाइदिनु पर्यो, देउता खुसी बनाउन किसान तयारी अवस्थामा छौँ।’

जुम्लाका किसान आफ्नो अनुकुल पर्ने देउताको भाकल गर्दै पानी मागिरहेका छौँ। अहिले हिमालमा हिउँ छैन। हिँउ पग्लेर जमिन भिज्ने संभावना पनि छैन। हिमाल सुख्खा छन्। हिउँ पग्लेर बग्ने नदी सुक्ने अवस्थामा छन्। आकाशे भरमा खेती गर्नुपर्ने किसान पानी नपर्दा दुःखी छन्।  

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिर, बाबिरा मष्टदेखि गाउँ बस्तीका निकै चर्चित मन्दिरमा पूजाआजा गरेर पानी पारिदिन देउतालाई आग्रह गरिरहेका छन्।

प्रकाशित: २ वैशाख २०७८ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App