जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका मध्ये अझै ५० जना बालबिज्याइँकर्ता सम्पर्कमाआएका छैनन्। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति ७८ जना बालबिज्याइँकर्ताहरू बाल सुधार गृहबाट भागेका थिए।
बाल सुधार गृहबाट भाग्ने क्रममा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्ती मगर, बाँकेका २० वर्षीय समिर थापा, दैलेखका २१ वर्षीय भुपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।
घाइते भएका दुवै जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले भागेका मध्ये ५० जना बालबिज्याइँकर्ता अहिलेसम्म सम्पर्कमा नआएको बताए। ‘भागेका मध्ये २८ जना बाल सुधार गृहमा आइसकेका छन्, अझै ५० जना आउन बाँकी छन्,’ प्रमुख रानाले नागरिकसँग भने, ‘उनीहरूलाई बाल सुधार गृहमा फर्किनका लागि यही असोज २० गतेसम्मको समयसीमा दिइएको छ।’
जेनजी आन्दोलनको दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नख्खु कारागारबाट भागेको समाचार बाहिरिएपछि नौवस्ता बाल सुधार गृहमा पनि दिउँसोदेखि नै होहल्ला सुरु भएको थियो। ‘रवि लामिछाने नख्खु जेलबाट निस्केपछि हामीलाई पनि छाड्नुपर्यो भन्दै बालबिज्याइँकर्ताले आन्दोलन सुरु गरे, त्यसपछि सोही दिन राति उनीहरू केही भागे, केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिए,’ रानाले भने, ‘भाग्ने क्रममा पाँच जनाको मृत्यु भयो र दुई जना घाइते भए।’
यही असोज २० गतेभित्र बाल सुधार गृहको सम्पर्कमा नआए उनीहरूलाई कारागार ऐन अनुसार कारबाही हुने उनले बताए। उक्त बाल सुधार गृहमा शनिबारसम्म १ सय २१ जना बालबिज्याइँकर्ता रहेका छन्। बाल सुधार गृहमा १६ वर्षदेखि २५/२६ वर्ष उमेर सम्मका बालबिज्याइँकर्ता रहेको प्रमुख रानाले बताए। विभिन्न अभियोग लागेका र कसूर सजाय पाएका बालबिज्याइँकर्तालाई विभिन्न जिल्लाबाट ल्याएर राखिएको छ।
सरकारको स्पष्ट नीति नहुँदा १८ वर्ष उमेरभन्दा माथिका व्यक्तिलाई पनि बाल सुधार गृहमा राख्नु परिरहेको कर्मचारी बताउँछन्। ‘बाल सुधार गृहमा तनाव सिर्जना गर्ने, आपसमा लड्ने भनेका नै १८ वर्षभन्दा माथिका हुन्, उनीहरूकै कारण बाल सुधार गृहभित्र समय–समयमा तनाव सिर्जना हुन्छ,’ एक कर्मचारीले भने।
प्रकाशित: ११ आश्विन २०८२ १६:०५ शनिबार





