दुई समुदायबीचको विवादपछि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा लगाइएको अनिश्चितकालीन निषेधाज्ञाकै बीच प्रहरीले गोली चलाएको छ।
शनिबार दिउँसो २ बजेबाट निषेधाज्ञा लागू भए पनि प्रदर्शनकारीले विरोध जारी राखेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा ५ जना घाइते भएका छन्।
महाराजगञ्ज नगरपालिका–६ स्थित जिगनाहा चौराहमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा गोली चलेको हो।
प्रदर्शनकारीहरूले प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएको दाबी गरेका छन्। घाइते हुनेहरूमा महाराजगञ्ज–६ का २२ वर्षीय अरुण भनिने जितेन्द्र यादव, प्रदीप पासी र मोनु पासी रहेका छन्।
उनीहरू तीनै जनालाई बहादुरगञ्ज अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज पठाइएको छ। यस्तै, गोली लागेर घाइते भएका जिगनाहाका महेन्द्र यादव र अजिगराका कासी रैदासको बहादुरगञ्ज अस्पतालमा उपचार भइरहेको छ।
यता, निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको हवाई फायरबाट ३ जनालाई मात्र गोली लागेको बताएका छन्। उनका अनुसार झडपका क्रममा शनिबार साँझसम्म सुरक्षाकर्मी र प्रदर्शनकारी गरी कुल २१ जना घाइते भएका छन्।
यसरी सुरु भएको थियो विवाद
शनिबार बिहान महाराजगञ्ज नगरपालिकाको बर्गदामा दुई समुदायबीच धार्मिक विषयलाई लिएर विवाद हुँदा स्थिति उग्र बनेको थियो।
मस्जिदमा नमाज पढिरहेको समयमा नजिकै रहेको काली मन्दिरमा चर्को स्वरमा भजन बजाएको भन्दै दुई पक्षबीच झडप भएको थियो। स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले दिउँसो २ बजेदेखि सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।
तर, प्रशासनको आदेशलाई तोड्दै प्रदर्शनकारीहरूले राति अबेरसम्म बहादुरगञ्ज चोक, डुमरा चोक लगायतका स्थानमा प्रदर्शन जारी राखेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले घटनापछि कपिलवस्तुमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्।
उनले स्थितिलाई थप उत्तेजक नबनाउन र संयमता अपनाउन सबै पक्षलाई अपिलसमेत गरेका छन्।
प्रकाशित: ७ चैत्र २०८२ २०:४९ शनिबार





