लगातारको वर्षासँगै बागलुङका विभिन्न स्थानमा खसेको पहिरोले घर तथा गोठ पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार पहिरोमा परी तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् भने निसीखोला गाउँपालिकामा एक जनाको ज्यान गएको छ।
पहिरोले तमानखोला गाउँपालिका-३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो।
यस्तै, तमानखोला गाउँपालिका-४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको घटनास्थलमै मृत्यु भएको छ।
सोही घटनामा हस्तविर श्रीपालीकी श्रीमती पहिरोमा परेर बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, निसीखोला गाउँपालिका-६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए। वर्षा नरोकिएकाले प्रभावित क्षेत्रमा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित: ११ आश्विन २०८३ २१:१५ आइतबार





