२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनका क्रममा भागेका पाँच हजार ५ सय कैदीबन्दी अझै सम्पर्कविहीन

गत भदौको जेनजी प्रदर्शनका क्रममा भागेका पन्ध्र हजार कैदीबन्दी मध्ये पाँच हजार ५ सय ३७ जना अझै फिर्ता नआएको केन्द्रीय कारागार व्यवस्थापन विभागले जनाएको छ । मंगलबारसम्मको विवरण अनुसार फरार चौध हजार ५ सय ५३ कैदीबन्दी मध्ये नौ हजार ११ जना फिर्ता भएका छन् ।  

भदौ २३ गतेसम्म देशभरका कारागारमा कुल तीस हजार ६ सय ४६ जना कैदीबन्दी रहेकोमा अहिले २४ हजार ३ सय ९२ कैदीबन्दीमा रहेको कारागार विभागले जनाएको छ । ती मध्ये १० जनाको मृत्यु भएको हो ।  

देशका बिभिन्न कारागारबाट वन्दीहरु भागे लगत्तै विभागले असोज २० गतेभित्र फिर्ता आउन अपिल गरेको थियो । तर अहिलेसम्म सबै बन्दी फिर्ता नआउनुले समस्या उत्पन्न भएको केन्द्रीय कारागार विभागका निर्देशक चोमेन्दू्र न्यौपनाले बताए ।  

उनका अनुसार दशैंपछि आउने क्रम जारी रहेपनि बाढी पहिरोको कारण पनि समयमै आउन नसकेको हुन सक्ने न्यौपानेले बताए । तर दशैंलगत्तै आउने क्रम बढेकोले अवको केही दिनमा थप कैदीबन्दी आउने सम्भावना देखिएको उनको भनाइ छ ।  

सूचना पाएर पनि फरार बन्दीको हकमा ७७ वटै जिल्लामा कार्यदल गठन गरी फरार कैदीबन्दीको खोजी अभियान जारी छ। यो अभियान अनुसार प्रमुख जिल्ला अधिकारी, सरकारी वकिल, कारागार प्रमुख सहितको कार्यदल बनेको छ । कार्यदलले स्थानीय तहसँग समन्वय गरेर उनीहरुको खोजी जारी राखेको छ ।  

सूचना पाएर कारागार फिर्ता नआउने बन्दीको हकमा कारागार ऐन २०७८ अनुसार कारबाही हुने निर्देशक न्यौपानेले बताए । उनका अनुसार कारगारमा गरेको अपराधको तह अनुसार कारागार प्रमुखले प्रतिवेदन तयार गर्ने, प्रतिवेदन माथि अनुसन्धान गरी त्यो अनुसार थप कारबाहीको व्यवस्था छ । कारगारको नियम उल्लंगन गरेका कारण अनुसार पूर्व सजाय बाहेक थप तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना, पाँच वर्ष जेल सजाय र ५० हजार जरिवाना र पाँच वर्ष जेल सजाय तथा ५ लाख रुपैंया जरिवानाको व्यवस्था छ । कारागारको ऐन तथा सूचना उल्लंगन गर्ने बन्दीको हकमा यो सजाय लागू हुने न्यौपानेले जानकारी दिए ।

प्रकाशित: २१ आश्विन २०८२ १६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App