५ वैशाख २०८१ बुधबार
समाज

‘जापान–नेपाल सम्बन्धलाई थप उचाइ दिन प्रयत्नशील रहनेछु’

युताका किकुता, जापानी राजदूत

नेपाल र जापानबीच जनस्तरमा र सरकारीस्तरमा लामो समयदेखि सुमधुर सम्बन्ध रहिआएको छ। यो सम्बन्धलाई थप प्रगाढ बनाउन यहाँले आफ्नो कार्यकालमा के–कस्तो भूमिका रहन्छ ? 

‘समृद्ध नेपाल सुखी नेपाली’ का लागि म नेपाल सरकार र नेपाली नागरिकसँग आगामी दिनमा सहकार्य गरेर अघि बढ्न चाहन्छु। नेपाल र जापान निकै लामो समयदेखि सुमधुर सम्बन्ध र असल मित्रका रूपमा अघि बढिरहेका छन्। यस्तो सम्बन्धको जगमा रहेर यसलाई थप प्रगाढ बनाउन म पनि मेरो कार्यकालभर प्रयत्नशील रहनेछु।  

नेपाल जापान सम्बन्धलाई थप उचाइमा पुर्‍याउन जापानसँग धेरै साधन एवं प्रक्रिया पनि छन्। यहाँका नागरिकका धारणा एवं आवाज सुनेर तथा नेपालका अनेकन् अवसर अर्थात् सम्भावना र चुनौती सुनेर पनि दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिन सजिलो पर्नेछ। धेरै सम्भावनाको खोजी गरेर तथा आवश्यक र सम्भव विधिहरूको प्रयोग गरेर दुई देशबीचको सम्बन्धलाई थप विस्तारित र बलियो बनाउने पक्षमा काम गर्नेछु।  

जापान र नेपालका सम्बन्धको सुरुआत जापानी भिक्षु एकाइ कावागुचीको सन् १८९९ मा भएको नेपाल भ्रमणबाट सुरु भएको हो। त्यस्तै जापान र नेपालले औपचारिक कूटनीतिक सम्बन्ध भने सन् १९५६ मा स्थापित गरेका हुन्। यी दुई देशका बीचको उच्चस्तरीय भ्रमणको आदानप्रदान पनि भइरहेको छ। आगामी वर्ष अर्थात् सन् २०२२ मा पहिलोपटक आठजना नेपाली विद्यार्थी जापान अध्ययन गर्न गएको १२०औं वार्षिकोत्सव पनि हुनेछ।  

मेरो गृहनगर फुकुसिमामा सन् २०११ मा जापानमा आएको महाभूकम्प र सुनामीले गर्दा त्यहाँको तोहोकु क्षेत्रलाई निकै क्षति पुगेको थियो। त्यस समयमा हाम्रो दुःखमा हामीप्रति सहानुभूति राखेर हाम्रा लागि नेपाली नागरिकले प्रार्थना गर्नुभएको थियो। विगतमा चिसोले आपत् खेलाएको अवस्थामा नेपालले पाँच हजार ब्ल्याङ्केट सहयोग गरेको थियो। त्यहाँ अप्ठेरो बेलामा नेपालीले पकाएर दिएको दालभात तथा तातो कफीले उनीहरूलाई बाँच्न ठूलो सहायता पुगेको थियो।

यता नेपालमा सन् २०१५ मा गएको गोरखा भूकम्पका समयमा नेपाललाई पनि जापानले सक्दो सहयोग गरेको थियो। त्यस्तै भूकम्पले भत्किएका विद्यालय भवन, आवासीय भवनहरूको पुनर्निर्माणका साथै अन्य सहायता पनि जापानले उपलब्ध गराएको थियो। त्यसपछि सन् २०१६ को अप्रिलमा जापानको कुमामोतोमा गएको भूकम्पबाट प्रभावितलाई नेपालीहले दालभात पकाएर खुवाएका थिए।

विकसित विश्व परिवेशमा नेपालका उद्यमीहरूले जापानी लगानी, प्रविधि र प्राविधिक सहयोग नेपालमा कसरी आकर्षित गर्न सक्लान् ? नेपाली उद्यमीहरूको यो लक्ष्य प्राप्तिका लागि जापानी दूतावासले के–कस्तो सहयोग गर्न सक्छ?

नेपालमा वैदेशिक लगानी आकर्षण गर्न पनि यस्तै वातावरण निर्माण गर्नु आवश्यक छ। जापानी लगानीकर्तालाई आकर्षित गर्न नीतिगत व्यवस्थाले ठूलो अर्थ राख्छ। सन् २०२५ मा जापानको ओसाकास्थित कानसाईमा हुने एक्स्पो, जसमा नेपाललाई आफ्नो समृद्धि र खुशी विश्वसामु प्रस्तुत गर्ने एउटा उपयुक्त अवसर हुन सक्छ।  

जापानले नेपाललाई कृषि, स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार विकास, सुशासन, शान्ति निर्माण तथा भूकम्पपछिको पुनर्निर्माणका क्षेत्रमा सहयोग गर्दै आएको छ। यसका साथै नेपालका सामाजिक तथा आर्थिक क्षेत्रका अन्य कार्यक्रममा पनि जापानले नेपाललाई सहयोग गर्दै आएको छ। यहाँ पैसाको कुरा मात्र होइन कि जापानले नेपाललाई प्राविधिक सहायता पनि उपलब्ध गराउँदै आएको छ, किनभने राष्ट्र निर्माणको काम वास्तवमा मानवीय स्रोतको विकासबाट नै सुरु हुन्छ भन्ने विश्वास जापानले राख्छ। यस हिसाबबाट पनि नेपालको एक असल मित्रराष्ट्रका हैसियतबाट जापानले विगत लामो समयदेखि नेपाललाई सहयोग पुर्‍याउँदै आएको छ।  

भविष्यमा नेपाल र जापानबीच के–कस्ता क्षेत्रमा सहयोग हुनेछन् ? दुवै देशले दिगो साझेदारी कसरी विकास गर्न सक्लान्?

सहयोगको एउटा प्रमुख क्षेत्र समाजको पुनर्निर्माण नै हुनुपर्छ जुन प्राकृतिक विपद्बाट जतिसक्दो चाँडो पुनप्र्राप्ति हुनेछ र यो ‘बिल्ड ब्याक बेटर’ (बलियो निर्माण) को अवधारणामा आधारित हुनेछ। उदाहरणका लागि, घर र विद्यालयको बलियो संरचना बनाउन सकिए यो प्रभावित समुदायका लागि निकै प्रभावकारी हुनेछ। यसबाहेक जापानले सामाजिक तथा आर्थिक पूर्वाधार, जलविद्युत् र पानी, स्वास्थ्य प्रणाली र शिक्षामार्फत नेपालको आर्थिक विकासमा मद्दत गरिरहेको छ। उदाहरणका लागि, सिन्धुली राजमार्ग (बिपी राजमार्ग) को निर्माणले मानिसको दैनिक जीवनका साथै सामानको ढुवानीमा निकै सहजता ल्याएको छ।  

खानेपानीका सन्दर्भमा, मेलम्चीको पानी अन्ततः यही मार्च २८ तारिख आइतबारका दिन काठमाडौँ आइपुगेकामा मलाई धेरै खुसी लागेको छ। जापान सरकारको लगानीमा सुन्दरीजलमा पानी प्रशोधन प्लान्ट निर्माण सम्पन्न हुनु मेलम्ची आयोजनाकै एक सफलता हो। यस आयोजनालाई सफल बनाउन एसियाली विकास बैंक र अन्यले पनि लगानी गरेका छन्। जापानले प्लान्ट निर्माणमा करिब ५ अर्ब ८० करोड ६० लाख उपलब्ध गराएको छ, जसले प्रतिदिन ८ करोड ५० लाख लिटर पानी प्रशोधन गर्न सक्नेछ।  

लोकतन्त्रको सुदृढीकरणमा नेपाल प्रयत्नशील रहेको छ र जापानले पनि सुशासनका लागि नेपालसँग मिलेर कार्य गरिरहेको छ। सन् २०२२ मा अतिकम विकसित मुलुक (एलएलडिसी) बाट माथि जाने नेपालको लक्ष्यलाई जापानले प्रोत्साहित र मद्दत गर्न चाहेको छ, र नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको देशमा रूपान्तरण हुनेछ। यो कार्य नेपाल सरकारको गरिबी न्यूनीकरण कार्यक्रम मार्फत हासिल गर्न सकिनेछ।

जापान र नेपाल दुवै मुलुकका लागि जनता–जनताबीचको ओहोरदोहोर पनि एउटा निकै महत्वपूर्ण पक्ष हो, जसबाट एकअर्कालाई अरू बढी बुझ्न सकिन्छ र हाम्रो दीर्घकालीन साझेदारीलाई थप अभिवृद्धि गर्न मद्दत पुग्नेछ। जापानको शिक्षा, संस्कृति, खेलकूद, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम पनि जारी छ जसबाट धेरै नेपाली प्राज्ञिक वर्गले जापानमा पढ्ने अवसर पाएका छन् भने नेपाली निजामती सेवाका युवा कर्मचारीका लागि जापानी ग्राजुएट स्कुलमा जाइका मार्फत जेडिएस (मानव संशाधन विकास छात्रवृत्ति परियोजना) पनि सञ्चालनमा छ।

विद्यार्थी आदानप्रदानका अलावा सन् २०१९ मा अर्को नयाँ अवसर सिर्जना भएको छ। नेपालीका लागि जापान सरकारले ‘विशिष्टीकृत दक्ष कामदार’ कार्यक्रममा समेटेको छ। जसबाट नेपाली दक्ष व्यक्तिले जापानमा गएर काम गर्न पाउनेछन्। दुःखलाग्दो कुरा के भने नेपाल भ्रमण वर्ष सन् २०२० अभियानलाई कोभिड–१९ ले असर पुर्‍यायो। तैपनि, नेपाल एयरलाइन्सबाट हुने जापान र नेपालबीचको सोझो हवाई उडान यात्रुका लागि निकै महत्वपूर्ण हुनेछ। रासस

प्रकाशित: २२ चैत्र २०७७ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App