२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुटवलमा जितगढी युद्ध संग्रहालय बनाइने

बुटवलको तिनाउ नदीकिनारस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको जितगढी किल्ला। तस्बिर: नागरिक

२०४ वर्षअघि नेपाली फौजले अंग्रेजलाई परास्त गरेको बुटवलको ऐतिहासिक जिगतढी किल्लाको इतिहास बचाइराख्न बुटवलमा युद्ध संग्रहालय बनाइने भएको छ। नेपाल–अंग्रेज युद्धको पुरानो झल्को दिनेगरी बुटवल उपमहानगरपालिका–१ स्थित जितगढी किल्लानजिकै जितगढी युद्ध संग्रहालय बनाउन लागिएको हो।  

ऐतिहासिक सहर बटौली र जितगढीको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटकीय विकासका लागि बुटवल उपनगरपालिकाले संग्रहालय निर्माण गर्न लागेको हो। करिब ३ कट्ठा जमिनमा बन्न लागेको संग्रहालय चारतले हुनेछ। माथिका तीनवटा तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकार पाइने गरी क्याफे राखिने छ। भुइँतलामा समग्र बुटवललाई चिनाउने विभिन्न सामग्री मायाको चिनोस्वरूप राखिएको ‘सोभिनियर सप’ पनि राखिनेछ।

संग्रहालयले नेपाल–अंग्रेज युद्धका बेला प्रयोग भएका हतियार, युद्धकला, पहिरनसँगै रेशम मार्ग, नुन र घिउको कारोबार हुने बटौलीको सांस्कृतिक झल्को दिने दाबी गरिएको छ। पुरानो र आधुनिक बुटवलको पहिचान झल्काउन, नयाँ पुस्ता र आगन्तुकहरूलाई त्यसबारे जानकारी गराउन र समग्र बुटवलको पहिचान झल्कने गरी संग्रहायलय निर्माण गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए। जितगढी बुटवलको मात्रै नभई सिंगो मुलुकको राष्ट्रिय स्वाभिमान, सान र गौरव भएको भन्दै उनले जितगढीको इतिहासलाई जीवन्त राख्न संग्रहालय निर्माण गर्न लागिएको बताए।  

६ करोड ८२ लाख ५० हजार रूपैयाँको लागतमा संग्रहालय निर्माण हुन लागेको नगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले बताइन्। दुई वर्षमा संग्रहालय निर्माण सम्पन्न गर्ने गरी उपमहानगरपालिका र शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिबीच गत माघमै ठेकका सम्झौता भएको हो। तोकिएकै समयमा निर्माण सक्नेगरी आायोजनाको समन्वय गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए। बुटवल–१ का वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदाय स्तरबाट पनि संग्रहालय निर्माणमा सहयोग र समन्वय गरिने प्रतिबद्धता जनाए।

जितगढीलाई बटौली पर्यटनको केन्द्रका रूपमा विकास गर्दै उपसहरहरूलाई पनि जोडेर पर्यटन सक्रिट बनाउने योजना नगरपालिकाले अगाडि सारेको छ। त्यसका लागि बुटवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकी पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताइएको छ। ५० वर्षपछिको जनघनत्वलाई ध्यानमा राखेर उपमहागरले एकीकृत सहरी विकास गुरुयोजना बनाउन लागेको नगरप्रमुख सुवेदीले बताए।  

इतिहासअनुसार १८७१ साल पुस २१ देखि नेपाल–अंग्रेज युद्ध सुरु भएको थियो। कुमाउ–गडवाल, मकवानपुरगढी, कोसी–टिस्टा, बुटवल जितगढीमा अंग्रेज फौजसँग नेपाली फौजले युद्ध लडेका थिए। त्यस क्रममा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ साल वैशाख ७ गते बुटवलको जितगढीबाट अंग्रेज फौजलाई परास्त गरी धपाएका थिए। ऐतिहासिक र पुरातात्त्विक महत्वको त्यही जितगढी किल्लाको संरक्षण गर्दै यसलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न बुटवल नगरपालिकाले ढिलै भए पनि अभियान चलाएको छ।

प्रकाशित: २२ चैत्र २०७७ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App