१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाको त्रासबीच होलीको तयारी गर्दै सर्वसाधारण

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापक बढिरहँदा रौतहटसँगै तराई मधेसमा पनि संक्रमणको त्रास बढेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरी भौतिक दूरी अपनाएर मास्क र सेनिटाइजरको उपयोग बढाउनुपर्ने भनेपछि जिल्लामा पनि कोरोनाको सकर्तकता बढेको छ। कोरोनाको त्रासले सतर्कता बढाएसँगै होलीको तयारी सर्वसाधारण गर्न थालेका छन्।  

फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा रहेको छ। होलीको लागि रङ, अबिर तथा कुर्ता र गन्जी सर्वसाधारणले किन्न थालेका छन्। रौतहटका मुख्य बजारहरु सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, बंकुल, कटहरिया, शिवनगर, मौलापुर, माधोपुर, मलाही, सुकदेव चौकलगायत अन्य ग्रामीण बजारहरुमा होलीको सामान किन्नेहरुको भीड लागेको छ। होलीको लागि आवश्यक सामग्री किन्न गढीमाई नगरपालिकाको समनपुरमा सयौँ वर्षदेखि मेला नै लाग्ने गरेको छ।  

गत वर्ष लकडाउनले बजारदेखि सर्वसाधारणको जीवन प्रभावित बनेपछि होलीको समयमा व्यापारमा केही तीव्रता आएको छ तर पनि व्यावसायीहरुमा उत्साह देखिएको छैन। थोक विक्रेताहरुले गत वर्षभन्दा पनि कम व्यापार भएको बताइरहेका छन्।  

रौतहट उद्योग वाणिज्य संघले पनि व्यवसायमा खासै वृद्धि हुन नसकेको तर कोरोनाको पनि डर हट्न नसकेको अवस्थामा भारतमा कोरोनाको संक्रमण बढ्न थालेकोले फेरि व्यापारमा असर पर्ने जनाएको छ। छिमेकी देश भारतमा कोरोनाको संक्रमण बढ्न थालेसँगै व्यापार व्यवसायको क्षेत्रमा पनि चिन्ता बढ्न थालेको व्यापारीहरुको भनाइ छ।  

होलीको समयमा कोरोनाको त्रासबिच सर्वसाधारणले बजारबाट होलीको लागि मसाला, पेय पदार्थ, पिचकारी आदि किनिरहेका छन्। होलीको दिन पेय पदार्थको अत्यधिक खपत हुने भएकोले बजारमा अहिले पेय पदार्थको भरमार देखिएको छ।

होलीपछि फेरि लकडाउन हुने हो कि भन्ने आशंकाले सर्वसाधारणले होलीको लागि सामान किन्न खुलेर खर्च गर्न नसकेको पाइएको छ। लकडाउन भएपछि फेरि आर्थिक अवस्था धर्मराउने डरले होलीको लागि सामान किन्न खर्च गर्न सक्दा होलीको बेपार व्यवसायमा अपेक्षित वृद्धि हुन नसकेको कटहरियाका व्यावसायी नसरुदिन अन्सारीको भनाइ छ।

सर्वसाधारणले होलीको बजारमा कुनै किसिमको सावधानी अपनाउन नसकेको देख्दा कतै कोरोना संक्रमण फेरि विस्तार हुने त होइन ? भन्ने आशंका सबैतिर बढेको पाइएको छ।

प्रकाशित: १४ चैत्र २०७७ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App