१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

वायु प्रदूषणले ढाकियो पोखरा (तस्बिरसहित)

आठ ठाउँमा ढडेलो, भिजिविलिटी एक किलोमिटर, २० वटा उडान रद्द

शनिबार बिहान पोखराको भिजिविलिटी । तस्बिरः उमेश पुन/नागरिक

केहीदिन देखि पोखरामा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । धुँवा र धुलोका कणले भिजिविलिटी त घटाएको छ नै चारैतिर अस्तव्यस्त पनि बनाएको छ । एकाएक वायु प्रदूषण बढेपछि पोखरेली पनि चिन्तित बनेका छन् । सफा र स्वच्छ सहरको पहिचान बनाएको पोखराले पछिल्लो दिनमा वायु प्रदूषणको मार खेप्न थालेको छ ।  

धुवा र धुलोका कारण आँखा पोल्ने समस्या बढेको पोखरेलीको गुनासो छ । बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा पुरै छेकिएका छन् । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार शनिबार पोखराको वायु गुणस्तर सुचंकाक (आक्वा) स्वास्थ्यका दृष्टिले हानीकारक थियो । उनका अनुसार अहिले पोखरालाई बाक्लो तुवालोले ढाकेको छ । तुवालोमा धुलो र धुँवाको मिश्रण हुन्छ । यसले भिजिविलिटी घटाउने उनले बताए ।  

जल तथा मौसम विज्ञान कार्यालयले पोखराको वायु प्रदुषण मापन गर्नका लागि तीन ठाउँमा उपकरण राखेको छ । लेखनाथस्थित पोखरा विश्वविद्यालय, लामाचौरको गण्डकी बोर्डिङ स्कुल र रत्नचोकस्थित जल तथा मौसम विज्ञान कार्यालय परिसरमा उपकरण राखिएको छ । लेखनाथस्थित विश्वविद्यालयको मापन अनुसार शनिबार बिहानको वायु गुणस्तर सुचकांक (आक्वा) १९६, रत्नचोकको जल तथा मौसम विज्ञान कार्यालयको १३५ र लामाचौरको गण्डकी बोर्डिङको मापनमा २३१ देखिएको छ । 

 ‘वायु गुणस्तर सुचकांक जति कम भयो उत्ति राम्रो हो । नम्बर जति धेरै भयो, उत्ति वायु प्रदूषण बढि भएको बुझिन्छ,’ ढकालले भने । उनका अनुसार पोखराभित्रै पनि वायुको गुणस्तर सबैभन्दा खराब लामाचौर क्षेत्रमा देखिएको छ । लामाचौर मुख्य बजारमाथि माथिल्लो भेगमा पर्छ । ‘शुन्यदेखि ५० सम्मले सुचकांकले स्वास्थ्यमा खासै असर पर्दैन । त्यो भन्दा माथि जानु पोखराका लागि राम्रो मानिँदैन,’ ढकालले भने, ‘५० भन्दा माथि स्वास्थ्यलाई हानी पुर्‍याउँछ । ३ सय भन्दा माथि अधिक खराब हो ।’ पोखराको वायु गुणस्तर कमजोर हुँदा त्यसले फोक्सो, मुटुका बिरामी, वृद्धवृद्धा र बच्चालाई अप्ठेरो पार्ने उनले बताए ।  

‘अहिले मौसम बिग्रेको छ । यस्तो हुनुमा डढेलो मुख्य कारण हो । नेपालकै विभिन्न ठाउँ र भारतदेखि पनि यो प्रदुषण भित्रिएको छ । पश्चिमी र स्थानीय वायु थोरै चलिरहेपनि जति चल्नुपर्ने त्यो नचल्दा प्रदूषण हट्न सकेको छैन,’ ढकालले भने, ‘यो बेला हावाहुरी चल्ने समय हो । त्यो अनुसार हावाहुरी पनि चलेको छैन । पानी परेर हावा हुरी चलेमा प्रदूषण घट्दै जान्छ, तर पानी पनि उत्तिसारो परेको छैन ।’ लामो समयको खडेरीको प्रभाव पनि योपटकको प्रदूषण रहेको उनले बताए ।  

स्थानीय र पश्चिमी वायु चलिरहेकोले थोरै भएपनि पानी पर्नुपर्नेमा पर्न नसकेको उनले बताए । ‘भीषण वर्षा हुने सम्भावना छैन । भिजिविलिटी त पुरै घटाएको छ । यसमा विषालु ग्यास पनि हुन्छ,’ उनले भने, ‘त्यही विषालु ग्यासले आँखा पोल्न थाल्छ ।’ ढकालका अनुसार पोखरामा पछिल्लो समय सडक खन्ने काम भएको छ । त्यस्तै आसपासका क्षेत्रमा डढेले पनि उत्तिकै लागेको छ । ‘मानवीय गतिविधिले नै पोखरालाई पनि जोखिमयुक्त सहर बनाउँदै लगेको छ । यो प्रदुषणबाट पोखरा मात्र अछुतो रहन सक्ने अवस्था छैन,’ उनले भने ।  

गण्डकी प्रदेशको वन मन्त्रालयका सचिव डा. महेश्वर ढकालका अनुसार गण्डकीका विभिन्न तीनवटा जिल्लाका ८ ठाउँमा शनिबार बिहान डढेलो लागिरहेको थियो । कास्की, नवलपुर, तनहुँमा ढडेलो लागेको उनले बताए । ‘वायु प्रदुषणको हिसाबले पोखरा सुरक्षित सहर थियो । तर, अब पोखराले सोच्ने बेला भएको छ,’ ढकालले भने, ‘अहिलेसम्म हामी सुरक्षित छौ, तर, ढुक्क भएर बस्ने बेला भएको छैन । वन जंगलको संरक्षण र हाम्रा गतिविधि प्रकृतिमा आधारित हुनुपर्छ । जथाभावि गरिएका विकास निर्माणले असर पारेको छ ।’ सडक बिस्तारका क्रममा यहीबेला यहाँ सडकको धुलो उडाउने काम हुँदा पनि असर परेको उनले बताए ।  

भिजिविलिटी नपुग्दा उडान रद्द

पोखरा विमानस्थलका अनुसार यहाँको भिजिविलिटी शनिबार निकै नै कम भएको थियो । भिजिविलिटी नपुग्दा शनिबार धेरै हवाई उडान रद्द भएको विमानस्थलले बताएको छ । विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीका अनुसार शनिबार मध्यान्हसम्म २० वटा उडान रद्द भएका थिए । पोखराबाट तारा र समिट एयरले जोमसोमका लागि तय गरेका ५–५ वटा गरि १० उडान रद्द भएका छन् । त्यस्तै पोखराबाट काठमाडौं, भैरहवाका उडान पनि रद्द भएको सुवेदीले बताए । मध्यान्हसम्म पोखरा–काठमाडौं रुटमा तय गरिएका बुद्धका ५ र यति एयरलाइन्सका चारवटा उडान तथा बुद्धको भैरहवासम्मको उडान रद्द भएको सुवेदीले बताए ।  

‘शनिबार मध्यान्हसम्म २० वटा रद्द भएका छन्,’ उनले भने, ‘जहाज उडानका लागि भिजिविलिटी अपुग भएकोले उडान हुने सम्भावना कम भएको छ ।’ पोखरामा उडान हुन विमानस्थलको भिजिविलिटी ५ किलोमिटर हुनुपर्छ । तर शनिबार बिहान पोखराको भिजिविलिटी २५ सय मिटर रहेकोमा मध्यान्हमा झनै कम भएर एक किलोमिटरमा झरेको थियो । ‘शनिबार दिनभर पोखराबाट उडान र अवतरण हुने अवस्था छैन । शुक्रबार पनि चारवटा उडान भिजिविलिटी नपुगेकै कारण रद्द भएका थिए,’ सुवेदीले भने ।

प्रकाशित: १४ चैत्र २०७७ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App