६ वैशाख २०८१ बिहीबार
समाज

लागुऔषधविरुद्ध सचेतना फैलाउन सिडिओ विद्यालयमा

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लागुऔषध दुर्व्यसनविरुद्धको अभियान लिएर यहाँका माध्यमिक विद्यालयमा आफै पुग्ने गरेका छन्। लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलाप संलग्न नहुन सचेत गराउन थालेका हुन्।  

प्रमुख जिल्ला अधिकारी थापा नै विद्यालयमा गएर सचेतना फैलाउन थालेपछि लागुऔषध दुर्व्यसनीविरुद्धको अभियानमा विद्यार्थी जागेका छन्। उनीहरु लागुऔषधविरुद्धका सचेतना फैलाउने, अभिभावक र छरछिमेकलाई दुर्व्यसनीविरुद्ध सजग गराउन थालेका हुन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले माध्यमिक विद्यालय स्तरमा लागुऔषधविरुद्धको सचेतना अभियान गरेपछि विद्यार्थी निकै सक्रिय भएका हुन्।  

नेपालको जेठो कर्णाली प्राविधक शिक्षालय र सदरमुकाम खलंगाको चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थी लागुऔषधविरुद्धको अभियानमा सक्रिय भएर लागेका हुन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले यहाँका सबै माध्यमिक तहका विद्यालयमा लागुऔषधविरुद्धको सचेतना फैलाउने अभियान थालेको छ। विद्यालय ज्ञान आर्जन गरेर समाजलाई सचेत बनाउँदै लग्ने थलो भएकोले शुरुवात विद्यालयबाटै गरिएको हो। प्रमुख जिल्ला अधिकारी थापाले भने,'अहिलेको विद्यार्थी असल सेवक बन्न सकोस, कुसल राष्ट्सेवक र नेतृत्वकर्ता बन्न सकोस भन्ने ध्यायले विद्यालयलाई पहिलो प्राथमिकता दिइएको हो।' यो अभियान विद्यालय, गाउँ, टोल बस्ती सबै ठाउँ पुर्‍याउने उनले बताए।  

जिल्ला प्रहरी कार्यालय जुम्लाले पनि समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई लागुऔषधविरुद्धको अभियानमा रुपान्तरण गरेको छ। पछिल्लो समयमा लागुऔषध दुर्व्यसनीका क्रियाकलाप बढ्न थाले। प्रमुख जिल्ला अधिकारी थापाले भने,'नियन्त्रणमा लिएर सजाय दिने मात्र होइन। समाजमा जनचेतना प्रदान गरेर लागुऔषधविरुद्धको क्रियाकलाप ठप्प पार्नु अहिलेको आवश्यकता हो। जिल्ला प्रशासन कार्यालयको यो अभियानमा सबैको साथ र सहयोग पाउने अपेक्षा गरेका छौँ।'

सबै मिलेर लागुऔषध दुर्व्यसनीका क्रियाकलाप पूर्ण रुपमा बन्देज गर्नुपर्छ। उनले भने,'लागुऔषधमा फसेकालाई सुधारगृहमा लैजाने र कानुनी सजाय दिएर सुधार हुन प्रेरित गर्ने कार्य भइरहेको छ। सुधारगृहबाट सुध्रिएर आएको खण्डमा जीविकोपार्जनका क्रियाकलापमा संलग्न गर्न पहल हुनेछ।'

कर्णाली राजमार्ग सञ्चालनमा आएसंगै लागुऔषध ओसारपसार र सेवन गर्नेको संख्या बढिरहेको छ। जुम्ला लागुऔषधको प्रभावित जिल्ला बन्दैछ। ग्रामिण क्षेत्र भन्दा सहरीक्षेत्रमा बढी लागुऔषध सेवन तथा ओसारपसार भइरहेको छ। प्रमुख जिल्ला अधिकारी थापाले भने,'स्थानीय प्रहरी प्रशासनले कडा रुपमा अध्ययन अनुसन्धान र नियन्त्रण गरिरहेको छ। विद्यालय स्तरमै पुगेर लागुऔषधको कानुनी ज्ञान प्रदान पनि गरिरहेको छ। अब विद्यार्थीले गाउँबस्ती र छरछिमेकमा लागुऔषधविरुद्धको सन्देश फैलाउनु पर्छ।'

लागुऔषध निषेध गर्न प्रशासन कार्यालय जुम्लाले लागुऔषधविरुद्धको कार्ययोजना २०७७ बनाएको छ। अब यो कार्ययोजना अनुसार काम हुनेछ। लागुऔषध मुक्त जिल्ला निर्माणमा जोड दिइनेछ, उनले भने,'लागुऔषध मुक्त जिल्ला बनाउने अभियानमा जुम्लावासीको साथ चाहिन्छ।' जिल्लामा दवाव समिति गठन गर्ने, लागुऔषध ओसारपसार र सेवन गर्ने क्षेत्रको पहिचान गर्ने र गाउँबस्तीदेखि विद्यालयस्तरसम्म सचेतनाका क्रियाकलाप अघि बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।  

उनले लागुऔषधविरुद्धको अभियानमा साथ दिन आग्रह गरे। लागुऔषध ओसारपसार र सेवन गर्ने क्षेत्रका बारेमा गोप्य रुपमा सूचना दिँदै सभ्य र सम्मुनत समान निर्माणका लागि सहयोग गर्न अपिल गरे। तपाई सुचना दिनुहोस, हामी कार्बाही गर्छौँ, लागुऔषधमा फसेको जो सुकैलाई उन्मुक्ति दिनेछैनौँ। प्रमुख जिल्ला अधिकारी थापाले थपे,'लागुऔषध दुर्व्यसनी रोक्न समाजका सचेत सबै वर्ग लाग्नुपर्ने देखिन्छ।'  

विद्यार्थीले लागुऔषधमा फसेकालाई कसरी सुधार्न सकिन्छ? लागुऔषधमा लागेका व्यक्तिलाई कार्बाही गर्नुको सट्टा घुस लिएर किन छाडिन्छ? भन्ने बारेको जिज्ञासा राखेका थिए।  

प्रमुख जिल्ला अधिकारी थापाले लागुऔषध दुर्व्यसनमा लागेकालाई धरौटीमा छुटाउँछन् भन्ने हल्ला मात्र भएको बताए। यो केस अदालतले हेर्ने भएकोले स्थानीय प्रशासनले हेर्न नमिल्ने बताए। उनले भने, 'अहिलेसम्म लागुऔषध ओसारपसार र सेवन गर्नेलाई सजाय भएको छ। धरौटीमा छुटेको भन्ने छैन।'

यो देशभित्रका नागरिक असल, बफादार, अनुशासित, मर्यादित र स्वस्थकर हुन भन्ने चाहना हो, प्रमुख जिल्ला अधिकारी थापाले भने,'देशलाई सभ्य, सुसंस्कृत बनाउने जिम्मेवारी वोकेका भविष्यका कर्णधार विद्यार्थी लागुऔषधमा फस्न दिनुहुँदैन। कानुनी कार्बाही भनेको पनि सुधार गर्न खोजिएको हो।'

'स्वर्णिम भविष्य बनाउने बेला लागुऔषधमा दुर्व्यसनमा फस्नु हुँदैन। गलत बाटोमा लाग्नु हुँदैन। आधुनिक र सभ्य समाज रूपान्तरण गर्न एकाकार भएर लाग्नुपर्छ। मान्छे जन्मन्छ। लक्ष्य राख्दछ। सन्ततिप्रति भरोसा राख्दछ। अभिभावकले छोराछोरी असल बनोस् भन्ने भावना राख्दछन्। त्यही भावना पूरा गर्ने दायित्व हामी विद्यार्थीको हो,' उनले भने,'हरेक आमाबाबुले आफ्नो छोराछोरी असल बनोस् भन्ने बाटोमा अघि बढ्नुहोला।'

उनले गलत संगतमा नलाग्न र लागुऔषधका क्रियाकलापविरुद्धमा जानेबुझेको सन्देश गाउँ टोल, बस्ती र छिमेकीसम्म पुर्‍याउन र सबै मिलेर सामाजिक विकृति रोक्न आग्रह गरे।  

'लागुऔषधको सेवनले एक व्यत्तिलाई मात्रै नभई व्यक्ति, समाज, विद्यालय सबैमा असर पार्ने प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। यसको सेवनले पारिवारिक जीवन र सामाजिक जीवनबाट टाढा बनाउँछ,' उनले भने,'समाजमा खराब बानीबेहोरा भएका संग घुलमिल गराउँछ। लागुऔषधको जोहो गर्नकै लागि सामाजिक रुपमा विकृति फैल्नछ। रक्त सञ्चारमा समस्या आउँछ। फोक्सो र मुटु काम गर्न छोड्छ।' उनले लागुऔषधको अवस्था, समाजमा पर्ने असरका बारेमा प्रस्तुतिकरण गरेका थिए।  

कार्यक्रममा चन्दननाथ माध्यमिक विद्यालयमा कक्षा ६ देखि उच्च मावि तहसम्मका विद्यार्थी सहभागी थिए। उनीहरुले लागुऔषधमा नलाग्न र लागुऔषध दुर्व्यसनीका कारण समाजमा पार्ने असरका बारेमा अभिभावकलाई बताउने प्रतिबद्धता जाहेर गरेका थिए।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले स्थानीय प्रशासनले विद्यालय स्तरमा गरेको यो कार्यक्रम निकै उपलब्धिपूर्ण भएको बताए। उनले भने,'लागुऔषध दुर्व्यसनविरुद्धको अभियानमा प्रशासनले गरेको काम प्रशंसनीय छ। यो अभियानमा सबैले साथ दिन जरुरी छ।'

प्रकाशित: १० चैत्र २०७७ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App