१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिक–सैनिक सम्बन्धबारे विद्यार्थीलाई सचेतना

लस्करै हातहतियारसहित नेपाली सेनाको टोली विद्यालय आसपासमा आइपुग्दा जुम्ला हिमशिखर माध्यमिक विद्यालय तातोपानीमा कक्षा १० मा अध्ययनरत पुस्तिका उपाध्याय झस्किइन्। सेनाको लावालस्कर के गर्न आएको होला भन्दै मन डुलाउन थालिन्। द्वन्द्वकालमा त्यो क्षेत्रमा सेनाको गस्ती पनि ठीक यही तरिकाले हुन्थ्यो। उनले सोचिन्, ‘देश शान्ति प्रक्रियामा छ। लडाइँझगडा भन्ने छैन। नयाँ संविधान बनेर नेपाल नयाँ व्यवस्थामा छ। यो अवस्थामा नेपाली सेनाको टोली त्रास फैलाउन आएको होइन। बरु विद्यालयमा कुनै सचेतनाको कार्यक्रम लिएर आएको होला। त्यो नभए आफ्नो नियमित अभ्यास गर्न आइपुगेको होला।’

नभन्दै पुस्तिकाको अड्कल मिल्यो। जुम्लास्थित नन्द बक्स गणको सेनाको टोली विद्यालयमा नागरिक–सैनिक सम्बन्धबारे सचेत बनाउन आएको रहेछ। उनले भनिन, ‘अब सेना देख्दा त्रास होइन, भरोसा लाग्नुपर्छ। राष्ट्यि एकताको भाव पलाउनुपर्छ। विद्यालयमा पनि सेनाको अनुशासन कायम गरेर गुणस्तरीय शिक्षा हासिल गर्न सक्नु अहिलेको अपरिहार्यता हो।’ नेपाली सेनाले अहिले जिल्लाको सबैजसो क्षेत्रका विद्यालयमा सेनासँग विद्यार्थी कार्यक्रम चलाइरहेकोछ। बाटोमा भेटिने विस्फोटक पदार्थबाट कसरी बच्ने, विपत् आइपरेको बेला व्यवस्थापन र उद्धारका काम कसरी अघि बढाउने र भयरहित वातावरणमा विद्यार्थी–सेना सम्बन्ध कसरी स्थापित गर्ने भन्ने विषयमा छलफल हुने गरेको नन्द बक्स गणका मेजर दिनेश न्यौपानेले जानकारी दिए। यो कार्यक्रमले सेनामा भर्ना हुन युवा शक्तिलाई आकर्षण गर्नेछ।

उनी एक हप्तादेखि तातोपानी गाउँपालिकाका विभिन्न वडा र तथा विद्यालयमा नागरिक–सैनिक सम्बन्धबारे छलफल चलाइरहेका छन। मेजर न्यौपानेले भने, ‘कर्णाली क्षेत्रबाट सैन्य जनशक्तिमा न्यून सहभागिता देखिन्छ। नागरिक–सेना सम्बन्ध स्थापित गरेर सेनामा भर्ना हुन आकर्षित गर्न चाहन्छौँ। सडकमा बेवारिसे अवस्थामा विस्फोटक पदार्थ भेटिँदा के गर्ने भन्ने विषयमा जानकारी दिइरहेका छौं। विपत् व्यवस्थापनमा समग्र नागरिक विद्यार्थी र सेनाको भूमिकाबारे चर्चा भइरहेको छ। यो कार्यले गाउँमा सेना देख्नेबित्तिकै त्रास मान्नुपर्ने अवस्थाको अन्त्य भएको छ।’

उनका अनुुसार नेपाली सेनाले प्रत्येक महिना विद्यालय र समुदायसँग भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ। तातोपानीका पाँच विद्यालयमा विद्यार्थीसँग सेनाको कार्यक्रम भइसकेको छ। सेना गाउँमै बस्छ। समुदायसँगै घुलमिल गर्छ। जनताका कुरा सुन्छ। विकासका क्रियाकलापमा साझेदार बन्छ। पछिल्लो समयमा विकास निर्माणका क्रियाकलापमा समुदायले सेनाको सहयोग माग्न थालेको छ।  

जुम्लाका आधा दर्जन विद्यालयमा सेनाको पूर्वाधार विकासमा लगानी छ। हिमशिखर माध्यमिक विद्यालय तातोपानीका प्रधानाध्यापक धनबहादुर रोकाया यो कार्यक्रमले नेपाली सेना प्रति विद्यार्थीको सकरात्मक सोच स्थापना भएको बताए। उनले भने, ‘सेना विद्यालयमा आएर छलफल चलाउँदा विद्यार्थीमा देशभक्ति भावनाको र राष्ट्यि एकताको धारणाको विकास भएको छ। सेना देख्नेबित्तिकै डराउने र सेनाले फौजी क्रियाकलाप मात्रै गर्छ भन्ने भ्रमबाट मुक्ति मिलेको छ।’

यो कार्यक्रमबाट सेना देख्नेबित्तिकै विद्यार्थी जिज्ञासु बन्नेछन्। सेनाप्रतिको सबैखाले त्रास हटेको छ। सैन्य पेसाप्रतिको सकारात्मक दृष्टिकोण निर्माण भएको छ। प्रधानाध्यापक रोकायाले भने, ‘सेना हाम्रै दाजु भाइ हो। नेपाली र नेपालको सुरक्षा गर्न खटिएको दस्ता हो। हरेक नेपालीको भरोसा हो भन्ने सन्देश दियो। यो निकै राम्रो पक्ष हो। आगामी दिनमा सेना र विद्यालयबीचको सम्बन्ध सुमधुर भएर विद्यार्थीलाई आपत्विपत् पर्दा अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा शिक्षा प्रदान गर्ने माहोल बनिरहनेछ। विद्यालयमा कार्यक्रम गनुअघि सेनाको एक टोली विद्यालयमा समय र समन्वयका लागि पुगेको थियो। विद्यालयले सहजै रूपमा लिएको थियो।

२४ नम्बर बाहिनी अड्डा जुम्लाका बाहिनीपति यमबहादुर सापकोटा सेना कुनै पनि अवस्थामा जनताभन्दा टाढा रहन नसक्ने बताउँछन्। उनले भने, ‘नेपाली सेना यही समाज र संस्कारबाट हुर्किएको संस्था हो। देशको रक्षा र जनताको सुरक्षा गर्न सदैव खटिरहने निकाय हो।’

उनले नागरिक–सैनिक सम्बन्ध कार्यक्रमबाटै जनता र सेनाबीचको सम्बन्ध बलियो बनाउने बताए। सेना जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामै पुगेर जनतासँग हरेक प्रकारले सम्बन्ध बनाउनेछ। उनले भने, ‘सेना गाउँमा पुग्नेबित्तिकै भरोसा लाग्ने होस्। जनताले माया, ममता र हौसला देओस्। यही नै सच्चा सम्बन्ध बन्नेछ।’

सेनाले ‘राराको मोती’ नामक वृत्तचित्र पनि देखाइरहेको छ। एक विद्यार्थीले सेनाको हरेक क्रियाकलापबाट सिकेर एक अब्बल नागरिक बन्ने प्रेरणा पाउन सक्छ। सेना ब्यारेकबाहिर निस्कँदैन। आपत्विपत्को समयमा मात्र बाहिर निस्कन्छ। नागरिकसँग सम्बन्ध राख्दैन। यो समाजको छुट्टै अंग हो जस्ता भ्रम छन्। यी सबै भ्रम चिरेर नागरिकको रक्षक र सेवा नेपाली सेना हो भन्ने देखाउन नागरिक–सैनिक सम्बन्ध कार्यक्रम चलाउन थालेको सेनाले जनाएको छ। जुम्लामा सेनाको नम्बर २४ बाहिनी अड्डा र नन्द बक्स गण छन्। गाउँमा स्वास्थ्य शिविर चलाएर नागरिकको निःशुल्क स्वास्थ्यजाँच गर्नेदेखि विद्यालय संरचना निर्माण गरेर सैनिक गतिविधि समेत प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ९ चैत्र २०७७ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App