coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषध दुर्व्यसनीविरुद्ध शिक्षा दिँदै जुम्ला प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषधविरुद्ध सचेतना अभियान थालेको छ। लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत् सचेतना अभियान थालेको हो।

प्रहरीको यो अभियानमा जिल्ला प्रशासन कार्यालय, उच्च सरकारी वकिल कार्यालय जिल्ला सरकारी वकिल कार्यालयको दह्रो साथ छ। वकिल कार्यालयहले समुदायका सरकारी वकिल कार्यक्रम लिएर लागुऔषधविरुद्धको अभियानसंगै कानुनी ज्ञान प्रदान गरिरहेका छन्।  

प्रहरीले विद्यालय, ट्युसन सेन्टर, समुदाय, टोल र बस्तीसम्मै पुगेर सचेतना गर्न थालेपछि स्थानीय उत्साहित छन्। यसैबीच बुधबार कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत शिक्षक, शिक्षिका र विद्यार्थीहरुलाई सचेतना दिइएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक युवनकुमार चौधरीले सरकारी वकिल कार्यालयले कानुनी ज्ञान समेत दिएको बताए।  

उनले भने,'प्रहरी कार्यालय लागुऔषध दुर्व्यसनी, यसले स्वास्थ्य र समाजमा पार्ने नकरात्मक असरका बारेमा सचेत गर्छ। सरकारी वकिल कार्यालयले कानुनी ज्ञान दिन्छ। कानुनी ज्ञान र सचेतना संगसंगै अघि बढाउँदा यो अभियान प्रभावकारी बनेको छ।' 

सरकारी वकिलहरुले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएका नयाँ कानुनी प्रावधानहरु र जबरजस्ती करणी कसुरका विषयमा प्रस्तुतिकरण गर्छन्। एक आपसमा सवाल जवाफका माध्यमबाट प्रष्ट पार्ने गरेका छन्।  

जुम्ला प्रहरी प्रमुख दानबहादुर थापा लागुऔषध दुर्व्यसनीविरुद्ध लाग्न जुम्लावासीलाई आग्रह गर्छन्। पछिल्लो समयमा यहाँ लागुऔषध दुर्व्यसनीका क्रियाकलाप बढिरहेका छन्, उनले भने,'सबै मिलेर लागुऔषधविरुद्धको अभियानमा जुटौँ। सभ्य र सुसंस्कृत समाज निर्माणमा सहभागी बनौँ।'

जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका निमित्त जिल्ला न्यायधिवक्ता श्यामहरी अधिकारीले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको नयाँ कानुनी प्रावधानहरु तथा जबरजस्ती करणी कसुर बारेमा स्पष्ट पारेका छन्। स्पष्ट कानुनी ज्ञान नहुँदा अहिले अपराधिक क्रियाकलाप बढिरहेका छन्। उनले भने,'समुदायमा सरकारी वकिल कार्यक्रमबाटै कानुनी ज्ञान छर्ने कार्य भइरहेको छ। यो निकै महत्वपूर्ण र उपलब्धिमुलक बन्नेछ।'

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले विद्यार्थी, शिक्षक बीचमा सवालजवाफ गरेर स्पष्ट पार्ने प्रयास गरेका थिए। उनले भने,'विद्यार्थी भविष्यका कर्णधार हुन्। देश निर्माण गर्ने कुशल जनशक्ति पनि। त्यसैले लागुऔषध दुर्व्यसनीमा लाग्नु हुँदैन। गाउँ बस्ती टोलमा लागुऔषधविरुद्धको अभियानलाई साथ दिनुपर्छ।'

उनले कर्णाली प्राविधिक शिक्षालयमा कुनै पनि विकृति जन्य क्रियाकलाप नहुने विश्वास व्यक्त गरे। सहभागीको सवालमा प्रमुख जिल्ला अधिकारी थापा, सह न्यायधिवक्ता गौतम र प्रहरी नायव उपरिक्षक थापाले सहजीकरण गरेका थिए।  

सचेतनामुलक कार्यक्रममा शिक्षालयका प्रिन्सीपल, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी र चन्दनाथ नगपालिका ३ का जनप्रतिनिधिसहितको सहभागिता थियो। प्राविधिक शिक्षालयका प्रिन्सीपल टेकेन्द्र थापाले लागुऔषधविरुद्धको सचेतना र कानुनी ज्ञानका विषयमा सचेतना फैलाउने कार्य निकै उदाहरणीय रहेको प्रतिक्रिया दिए।  

उनले भने,'यो काम निकै प्रशंसनीय छ। आगामी दिनमा पनि सचेतनाका क्रियाकलापका लागि प्राविधिक शिक्षालय समन्वय गर्नेछ। यो कार्यले प्राविधिक शिक्षालयमा भइरहने विकृति जन्य क्रियाकलाप न्यूनिकरण हुने अपेक्षा छ।'

यसअघि उच्च मावि, निमावि र पालिका स्तरमा सचेतनाका क्रियाकलाप भइसकेका थिए।

प्रकाशित: ५ चैत्र २०७७ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App