अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाको विवाहबारे गरेको एउटा खुलासाले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
टेलिभिजन कार्यक्रम ‘कफी विथ करण ९’ मा सँगै देखिएका उनीहरूले विवाह गर्ने निर्णयसम्म कसरी पुगे भन्ने अनुभव सुनाएका थिए। सोही क्रममा विजयले रश्मिकाले आफूलाई करिब १०० पटक विवाहबारे सोधेको बताएपछि सामाजिक सञ्जालमा रोचक प्रतिक्रिया आएका छन्।
कार्यक्रमका प्रस्तोता करण जोहरले विजयलाई रश्मिकालाई विवाहको प्रस्ताव राखेका थिए कि थिएनन् भनेर सोधेका थिए। रश्मिकाले टाउको हल्लाएपछि विजयले उनीहरूबिच विवाहबारे कुराकानी कसरी सुरु भएको थियो भन्ने प्रसंग सुनाएका हुन्। ‘प्रस्ताव राख्ने बानी ममा छैन,’ विजयले भने। उनले आफूहरू विमानस्थलमा बसिरहेका बेला रश्मिकाले पहिलो पटक विवाहको कुरा उठाएको सम्झिए। ‘उनले हामी विवाह गरौँ भनिन्,’ विजयले भने, ‘तिमीले मलाई करिब १०० पटक सोध्यौ।’
करणले रश्मिकालाई साँच्चै विजयसँग १०० पटक विवाहबारे सोधेको हो भनेर प्रश्न गर्दा उनले स्पष्ट पारिन्, ‘मैले उनीसँग एक वर्षको समय मागेकी थिएँ।’ कार्यक्रमको उक्त संवादका क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूको सम्बन्धबारे चर्चा सुरु भएको हो।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले विजयको भनाइले रश्मिका नै विवाहका लागि बढी प्रयास गरिरहेको जस्तो देखाएको टिप्पणी गरेका छन्। उनीहरूले विवाहको निर्णयका लागि एक वर्षसम्म कुरा गर्नुपरेको प्रसंगलाई लिएर प्रश्न उठाएका छन्। केहीले रश्मिकालाई ‘आत्मसम्मानको ख्याल राख’ भन्ने आशयका टिप्पणीसमेत गरेका छन्।
अन्य प्रयोगकर्ताले विजयको भनाइले रश्मिकालाई अप्ठ्यारो अवस्थामा पारेको प्रतिक्रिया दिएका छन्। केहीले विजयको व्यवहारमाथि प्रश्न उठाएका छन् भने केहीले उनीहरूको संवादलाई फरक दृष्टिकोणबाट हेर्नुपर्ने बताए।
कार्यक्रममा विजयले रश्मिकासँग विवाह गर्ने निर्णय लिन आफूले किन समय लगाएको भन्ने विषयमा पनि बताएका थिए। उनले जीवनका फरक चरणमा आफ्नो सम्बन्ध कसरी अघि बढ्छ भन्ने बुझ्न चाहेको बताए। विशेषगरी, दुवैको करियर व्यस्त हुने समय र कठिन परिस्थितिमा पनि सम्बन्ध बलियो रहन्छ कि रहँदैन भन्ने विषयमा उनी निश्चित हुन चाहन्थे।
विजयले प्रेम र सम्बन्धप्रतिको आफ्नो पुरानो सोच तथा महत्वाकांक्षाले निर्णय प्रक्रियामा पारेको प्रभावबारे पनि चर्चा गरे। रश्मिकाले आफूलाई उनको परीक्षा लिइरहेको हो भनेर सोध्दा आफूलाई नराम्रो लागेको उनले सम्झिए। विजयका अनुसार उनले रश्मिकाको मात्र नभई आफ्नै भावना र सम्बन्धको पनि मूल्यांकन गरिरहेका थिए। रश्मिकाले भने विजयको हिचकिचाहटको कारण आफूले बुझेको बताइन्।
कार्यक्रममा विजयले रश्मिकालाई विवाहको प्रस्ताव राख्ने योजनाबारे पनि खुलाएका थिए। उनले इटालीमा प्रस्ताव राख्ने सोच बनाएका थिए, तर आफूले चाहेजस्तो औंठी भेट्न सकेनन्। त्यसपछि रश्मिकाले संगीत समारोहको अनुभव गुमाउन नपरोस् भनेर त्यही समारोहका क्रममा प्रस्ताव राखेको उनले बताए।
उनीहरूले सन् २०१८ मा चलचित्र ‘गीता गोविन्दम’ मा पहिलो पटक सँगै काम गरेका थिए। त्यसपछि सन् २०१९ मा ‘डियर कमरेड’ मा दुवै फेरि सँगै देखिए। उनीहरूले आफ्नो सम्बन्धका धेरै कुरा लामो समयसम्म सार्वजनिक गरेका थिएनन्। यो जोडीले सन् २०२६ को फेब्रुअरीमा विवाह गरेको थियो।
प्रकाशित: ६ कार्तिक २०८३ २०:४१ शुक्रबार





