१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चरम गरिबीले उच्च शिक्षाबाट वञ्चित

पढाइ छाडेर सिकर्मी पेसामा लागेका मालिका गाउँपालिका–१ निस्कोटका केशव विक। तस्बिर : नागरिक

मालिका गाउँपालिका–२ रुम लुक्सिरका १६ वर्षीय केशव विक दैनिक ज्यालामजदुरीमा व्यस्त छन्। छिमेकी गाउँ निस्कोटमा आमा समूहको निर्माणाधीन भवनमा बुबा रनबहादुरसँगै काम गरिरहेका विक हातमा पुस्तक समातेर कक्षा ११ मा पढ्न जानुपर्ने समयमा सिकर्मीको परिचय बोकेर दैनिकजसो घर बनाउने काममा लागेका छन्। गत वर्षको एसइईमा विद्यालयबाट सबैभन्दा उत्कृष्ट नतिजा ‘बिप्लस’ ल्याएका विकले उच्च शिक्षा पढ्ने रहर भए पनि चरम गरिबीका कारण आफू पढ्नबाट वञ्चित भएको बताए।

‘घरबाट पढ्न जाने पैसा छैन। बुबाको कमाइले घरखर्च चल्छ। काम नपाउँदा आर्थिक संकट पर्दा भोकभोकै बस्नुपर्छ,’ विकले भने। उनले गाउँमा रहेको विद्यालयबाट एसइई दिए पनि उच्च शिक्षाका लागि दरबाङ र सदरमुकाम बेनी जाने खर्च जुटाउनसमेत दैनिक मजदुरीमा खटिएको बताए। ‘उच्च शिक्षा त मेरा लागि सपनाजस्तै हो। घरबाट पढ्न जाने अवस्था नै छैन, कमाएर पढ्नुपर्ने बाध्यता छ,’ विकले भने। उनले पोसाकमा चिटिक्क सजिएर पढ्न जाने समयमा हातमा हतौंडा लिएर हिँड्नुपरेको बताउँदै आफ्नो जस्तै समस्या बहिनीलाई हुन नदिन मजदुरी गरिहरेको बताए। विककी बहिनी गाउँमै कक्षा ९ मा अध्ययनरत छिन्। विपन्न रनबहादुरका ३ छोरा र ४ छोरी छन्।

रनबहादुरले छोरालाई सहर पठाउने पैसा नहुँदा ज्यालामजदुरीका लागि सँगै लैजाने गरेको बताए। उनी छोराको बाँकी पढाइ गाउँमै अन्त्य गर्नुपरेकोे भन्दै भक्कानिए। आर्थिक अवस्था कमजोर भएकाले गाउँकै विद्यालयमा पढ्ने छोराछोरीलाई समेत आवश्यक शैक्षिक सामग्री खरिद गर्न नसक्ने अवस्थामा रहेको राष्ट्रिय माविका प्रअ प्रेमबहादुर घर्तीले बताए। ‘गरिबीले उच्च शिक्षाको बाटोमा छेकबार लगाएको छ। सहयोग जुटाउन सके राम्रो पढ्न सक्छन्,’ प्रअ घर्तीले भने। उनले विद्यालयमा विक लगनशील, मिहनेती तथा अनुशासित छात्रका रूपमा रहेको बताए। विक गत वर्षको एसइईमा ‘बि प्लस’ ग्रेड ल्याउने एक मात्रै विद्यार्थी हुन्।

उनले गएको एसइईमा विद्यालयबाट सबैभन्दा राम्रो नतिजा ल्याएर उत्तीर्ण भएको अवस्थामा पोसाक, कापीकमल, खाने र बस्ने खर्च जुटाउन नसक्दा पढाइ छाड्न बाध्य भएको बताए। उनले विकलाई आर्थिक सहयोग गरे उच्च शिक्षामा राम्रो अंक ल्याउन सक्ने बताए। गाउँमा कक्षा १२ सम्म अध्ययन/अध्यापन नहुँदा आर्थिक अभावका कारण एसइई उत्तीर्णपछि माथिल्लो कक्षा पढ्नबाट वञ्चित विद्यार्थीलाई समेत लक्षित गरी गाउँमै कक्षा ११ सञ्चालनको विकल्प नभएको बताए।

यता म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले केही दिनमै भर्नासहितको प्रक्रियामा सहभागी भए वार्षिक परीक्षामा सहभागी बनाउन सकिने बताए। उनले क्याम्पसको आन्तरिक परीक्षामा सहभागी भएकालाई छात्रवृत्ति कोटामा समेत सहभागी बनाउन सकिने भए पनि हाल आन्तरिक परीक्षा सञ्चालन भएकाले पोसाक, आवासीयसहित मासिक पाँच हजारको अनुमानमा खर्च हुने बताए।

प्रकाशित: ५ चैत्र २०७७ ०१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App