पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा लागि सुरक्षा व्यवस्थान पूरा गरेको छ। महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिरमा मंगलबार बेलुकासम्म तीन हजार भन्दा बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
महाशिवरात्रिमा देशभर तथा भारतबाट हजारौंको संख्यामा श्रद्वालु भक्तजन तथा साधुहरु भगवान शिवको दर्शन गर्नका लागि पशुपतिनाथ आउने गर्दछन्।
यस वर्ष पशुपतिनाथमा महाशिवरात्रिमा करिब १० लाख श्रद्वालु भक्तजन तथा साधुहरु दर्शन गर्न आउने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनाश्याम खतिवडाले बताए। गत वर्षको तुलना यो वर्ष दर्शन गर्नका लागि श्रद्धालुहरुको संख्या घटेको उनले बताए।
दर्शनका लागि आउने श्रद्वालु भक्तजनहरुले स्वास्थ्य सरक्षाको मापदण्ड अपनाउनु पर्ने उनको भनाई छ ।
‘कोरोना महामारी अझै गईसकेको छैन्। श्रद्धालुहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य अपनाउनु पर्ने हुन्छ’, उनले भने, ‘हामीले मास्क नलगाएकालाई लाईन बस्न निषेध गरेका छौं। आचनक लाईनमा बस्दै गर्दा कसैलाई ज्वरो आएमा तुरुन्त घर फर्काउने व्यवस्था पनि गरिएको छ।’
पशुपति क्षेत्र विकास कोषले जेष्ठ नागरिक र शारिरीक अशक्त भएकाहरुलाई दर्शनका लागि छुट्टै व्यवस्था गरेको छ । भगवान शिवको दर्शन गर्नका लागि पशुपतिनाथमा चार ठाउँमा लाईनको व्यवस्था गरिएको छ ।
भोलिको लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने भक्तजनहरुको लाइन, जुत्ता–चप्पल राख्ने ठाउँ, तत्कालै आइपर्ने स्वास्थ्य समस्या समाधानमा अस्थायी स्वास्थ केन्द्र लगायतकाको तयारी पूरा भइसकेको छ।
प्रकाशित: २६ फाल्गुन २०७७ १४:१३ बुधबार