१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीमा जताततै बाघ !

गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुग्यो। अण्डैया–मट्कौना–तालबन्द–सालघारी क्षेत्रमा पुगेको बाघ अहिले सोही क्षेत्रलाई आफ्नो पेरिफेरि बनाउँदै घुमिरहेको छ। त्यस्तै कैलालीकै लम्कीचुहा नगरपालिकाको  वन क्षेत्रमा पनि दुई महिनादेखि बाघ घुमिरहेको छ। लम्कीचुहा नगरपालिकाको जनकल्याण सामुदायिक वनमा दुई महिनादेखि बाघ रहेको सामुदायिक वनका अध्यक्ष गोविन्द रावतले बताए। उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जबाट क्यामेरा ट्रयापिङ गर्दा बाघ देखिएको हो। यस्तै कैलालीको गोदावरी नगरपालिकाको चैतन्यपुर–भगतपुर क्षेत्रमा पनि दुई दिनदेखि बाघ घुमिरहेको छ। पछिल्लो दुई महिनायता कैलालीका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा बाघ देखिन थालेका छन्।  

कैलाली पुस्तौदेखि बाघको बासस्थान रहेको र पछिल्ला वर्षहरुमा वन अतिक्रमणसँग जनघनत्व बढ्न थालेपछि असुरक्षित बनेका बाघ सुरक्षित बासस्थानको खोजीमा बाहिर गएको बताउँदै विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्टले भने,‘बाघको बासस्थान नासिँदा बाहिर गएका बाघ पुनः कैलालीमा वनको अवस्था सुध्रिन थालेपछि फर्केका हुन सक्छन्।’ सन् २०१८ को तुलनामा बाघको संख्या बढेको हुन सक्ने बताउँदै उनले भने,‘नेपालमा बाघको संख्यामा सुधार भएको छ, बाघको संख्या बढ्दा उसले आफ्नो बासस्थान बनाउन बर्दिया राष्ट्रिय निकुञ्ज, दुधुवा नेसनल पार्क तथा कैलालीकै राष्ट्रिय वनबाट आएको हुनसक्छ।’ एउटा एरियामा एउटा मात्रै बाघ बस्ने भएकाले बाघको संख्या बढ्दा अर्को बयस्क बाघ आफ्नो बासस्थानको खोजीमा बाहिर आएको हुनसक्ने आँकलन गरिएको वन्यजन्तुका क्षेत्रमा काम गर्नेहरु बताउँछन्। ‘अहिले चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघको संख्या दोब्बर र तेब्बर भएको छ,’ भट्टले भने,‘त्यसैले बाघ आफ्नो बासस्थानको खोजी गर्दै पुस्तौनी ठाउँतिर गएको हुनसक्छ।’  

पछिल्लो समयमा बाघ बस्ती नजिकमा देखिन थालेपछि भारतको दुधुवा नेसनल पार्कबाटै आएको हुनसक्ने आँकलन गरिए पनि पुस्तौदेखि कैलालीकै जंगलमा रहेको राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत अर्का संरक्षणकर्मी विजय श्रेष्ठ बताउँछन्। ‘यो बाघ बाहिरबाट आएको नभई कैलालीकै बसन्ता क्षेत्रको बाघ हो,’ उनले भने,‘कैलालीमा बाघको संख्या बढेको छ, त्यसैले सिकार र  सुरक्षित बासस्थानको खोजीमा बाघ कैलालीका विभिन्न ठाउँमा देखिन थालेका छन्।’  राष्ट्रिय निकुञ्ज र भारतको दुधुवा नेसनल पार्कमा मात्रै पाटेबाघ छन् भन्ने प्रमाण फेल भएको बताउँदै उनले भने,‘हामीले त वर्षौदेखि कैलालीमा बाघ छ भन्दै आएका थियौँ, तर कसैले पनि पत्याएका थिएनन्, अहिले प्रष्ट भएको छ।’  राष्ट्रिय निकुञ्जबाहेक कैलाली जिल्लाको राष्ट्रिय तथा सामुदायिक वनमा वर्षौदेखि बाघ बस्दै आएको उनले दावी गरे। पछिल्लो समयमा चोरी सिकारी नियन्त्रण, वनको अवस्थामा सुधार आएसँगै पछिल्ला वर्षहरुमा बाघको संख्या पनि वृद्धि भएको उनी बताउँछन्। ‘चोरी सिकारी नियन्त्रण हुनु र वनमा आहारा प्रजातिका लागि प्रसस्त वन्यजन्तु बढ्नु नै बाघको संख्यामा वृद्धि हुनु हो,’ उनले भने,‘तसर्थ पनि बाघ आफ्नो एरिया बनाउन अर्को ठाउँमा बसाइँ सरेको हुनसक्छ।’  नयाँ वयस्क बाघहरु स्थानको खोजी गर्दै कैलालीकै एक वनबाट अर्को वनमा स्तान्तरण गरिरहेको हुनसक्ने उनी बताउँछन्।

 बाघको संख्यामा वृद्धि भई आफ्नो बासस्थानको खोजीमा कैलालीमा भौतारिरहेको बताउँदै डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले भने,‘सुरक्षित र आहारा भएको बासस्थानको खोजी गर्दै बाघ डुलिरहेको छ।’ अत्तरिया क्षेत्रमा दुई दिनदेखि बाघ देखिएको भन्ने खबर आएकाले क्यामेरा ट्रयापिङका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोषसँग समन्वय भइरहेको उनले बताए। ‘अत्तरिया क्षेत्रमा बाघ देखिएको भन्नेछ, हामी त्यहाँ तुरुतै क्यामेरा ट्रयापिङ गर्दैछौँ,’ उनले भने,‘यस्तो अवस्थामा वरपरका आमनागरिकलाई वन क्षेत्रमा नजान सुझाइएको छ।’  

 

 

प्रकाशित: २४ फाल्गुन २०७७ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App