२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

फेवाताल क्षेत्रफल विवादः भकुण्डे खोला तालमा पर्छ कि पर्दैन ?

भकुण्डे खोला भन्दा माथिको क्षेत्रलाई ताल नमान्दा फेवातालको १६०९ रोपनी घट्यो

पोखरा फेवाताल । फाइल तस्बिर ः नागरिक

तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा गठित ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ले २०६९ मा प्रतिवेदन बुझाउँदा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गरेको थियो । आयोगको नेतृत्व गरेका थिए विश्वप्रकाश लामिछानेले ।  

तर पूण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले हालै प्रतिवेदन बुझाउँदा फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी कायम ग¥यो । अहिलेको क्षेत्रफल लामिछाने प्रतिवेदनले कायम गरेभन्दा १ हजार ६ सय ९ रोपनी कम हो ।

फेवातालको अघिल्लो प्रतिवेदनमा बढी देखिएको १ हजार ६ सय ९ रोपनी जमिन अहिले कहाँ गयो ? अहिले यसको खोजी भइरहेको छ । नागरिक समाजका अगुवादेखि अधिकांश पोखरेलीले यसको जवाफ मागिरहेका छन् ।

जवाफमा फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले लामिछाने प्रतिवेदनको सिमाङ्कन र अहिलेको सिमाङ्कनको तरिका एकै भएको दाबी गर्छन् । तत्कालिन संयोजक लामिछाने पनि स्वीकार्छन् । त्यसो भए किन फरक प¥यो त दुई प्रतिवेदनले निकालेको क्षेत्रफल ?  

यसको कारण हो–फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले तालको पूर्वमा ड्यामसाईड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवनलाई चारकिल्ला कायम ग¥यो । तल्लो तटीय क्षेत्र ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतारा, सेदी, खपौंदी, लामीडाँडा, अनदुसमेतको क्षेत्रमा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सिमाना मानिएको छ । त्यस्तै, फेवातालको मुहानपट्टी मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पनखोला पार गरी भकुन्डेखोलाको अन्तिम घुम्ती नजिकहुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोएर पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेट्दै पामे घाँटीछिना मोटरबाटोसम्म सिमांकन गरिएको छ । तालको सीमा रेखाको परिधी १८ किलोमिटर कायम गरिएको छ ।

दुई प्रतिवेदनबीच फरक भनेको भकुण्डे खोला तालमा पर्छ कि पर्दैन भन्ने मात्रै देखिएको छ । लामिछाने प्रतिवेदनलाई भकुण्डे खोलालाई तालको श्रोतको रुपमा मानेर त्यसलाई तालमै राखेर सिमांकन गरेको छ । तर पौडेल नेतृत्वको समितिले भकुण्डे खोलालाई ताल क्षेत्र नभएकाले त्यसलाई तालको क्षेत्रफलमा समेटेको छैन ।

लामिछाने भकुण्डे खोला र त्यस आसपासको क्षेत्र तालकै भएको बताउँछन् । उनी भन्छन्,‘यो पहिले ताल नै थियो, तर कालान्तरमा ढापमा परिणत भयो ।’ भकुण्डे खोलामात्र नभई त्यसभन्दा माथिको क्षेत्रपनि तालकै भएको उनको दाबी छ । २०३१ साल भन्दा अगाडि ताल भएको सो क्षेत्र पछि २०३१ सालमा फेवातालको बाँध फुटेर ताल सुक्दा स्थानियले तालको जग्गा अतिक्रमण गर्दै २०३२÷३३ सालमा नापी हुँदा सो जग्गा दुषित रुपमा आफ्नो नाममा दर्ता उनको भनाई छ ।  

आफ्नो प्रतिवेदनले स्पष्ट किटान गरी त्यस क्षेत्रमा कुल २ हजार १ सय ५ रोपनी जमिन रहेको र त्यसमध्ये ५ सय ४० रोपनीमा स्थानीयले १९९० सालदेखि नै तिरो तिर्दै आउनुका साथै भोगचलनसमेत गर्दै आएको पाइएकाले सो जग्गालाई व्यक्तिकै नाममा राख्दा त्यसबाहेकको १ हजार ५ सय ६५ रोपनी जमिन तालमा राखिएको उनले प्रष्ट्याए ।  

त्यसबाहेक सोहि क्षेत्र नजिक रहेको १२७ रोपनी जमिन समेत त्यसरी नै अन्य व्यक्तिले दुषित रुपमा दर्ता गरेकाले सो जमिनलाई पनि तालमा समेटिएको उनको भनाई छ । उनले दुषित रुपमा दर्ता भएको जग्गाको लालपुर्जा नै खारेज गर्नुपर्ने बताए ।

पछिल्लो प्रतिवेदन तयार पारेका संयोजक पौडेल भने सो जग्गा तालको हुनै नसक्ने ठोकुवा गर्छन् । भकुण्डे खोला २०१० सालदेखि आफ्नो स्वरुप परिवर्तन नगरी निरन्तर एउटै धारमा हिंडेको र तालले सो खोलालाई कहिल्यै छोएको नदेखिएकाले त्यस क्षेत्रलाई तालको क्षेत्रफलमा नसमेटिएको उनको भनाई छ । यहि समितिका सदस्यसचिव तथा नापी विभागका ईञ्जिनियर खिमलाल गौतम पनि भकुण्डे खोलालाई ताल मान्न नसकिने बताउँछन् ।  

‘सबै खोला ताल हुन सक्दैन,’ उनले भने, ‘खोलाले लामो समयसम्म स्वरुप वा धार परिवर्तन नगरेकाले त्यहाँ ताल मिसिएको मान्न सकिदैन, त्यो ताल क्षेत्र होइन ।’ यो समितिले फेवातालको सिमांकन सकिएकाले अब दुषित जग्गा छानविन गरिरहेको भन्दै अहिल्यै फेवातालको जमिन हरायो भन्दै नकुर्लिन आग्रह गरेको छ । समितिका सदस्य सचिव गौतमले भने, ‘हामीले पहिलो चरणमा सिमांकन मात्रै गरेका हौं, दुषित जग्गा छन् भने हामी खोज्दैछौं त्योपनि पत्ता लगाएरै छोड्छौं ।’

२०३२ सालमा पहिलो कित्ता नापी हुँदा कित्ता नम्बर २९७ मा रहेको फेवातालको क्षेत्रफल ४.४३ वर्गकिमि देखिएको छ भने २०३८ मा नेपाल सरकार र यूएनडीपीको अध्ययन प्रतिवेदनले तालको क्षेत्रफल ५.८ वर्गकिमि भनेको छ । २०५२ मा सार्वजनिक भएको आईयूसीएनको प्रतिवेदनमा तालको क्षेत्रफल ४.४९ वर्गकिमि तोकेको छ । २०५८ मा कास्कीको तत्कालीन जिल्ला विकास समितिले ताल नापजाँच ४.२५ वर्गकिमि छ । २०६४ मा पोखरा उपत्यका नगर विकास समितिले गरेको सर्भेबाट तालको क्षेत्रफल ५.०६ वर्गकिमि देखिन्छ । २०६८ सालमा गठित विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले फेवातालको बाँध फुट्नुअघि २०३१ साललाई आधार बनाएर तालको क्षेत्रफल ६.५ वर्ग किलोमिटर तोकेको छ ।

प्रकाशित: २४ फाल्गुन २०७७ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App