२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

बन्दीपुरः गाउँ–सहरको पर्यटन सम्बन्ध जोडिँदै

‘गाउँ पर्यटन मेला’ दुइदिन चल्नेछ

तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुर यतिबेला चिटिक्क सजिएको छ । ‘पहाडकी रानी’ को समेत पहिचान कमाएको बन्दीपुर आफैमा सुन्दर त छँदैछ, त्यसैमा सुन्दरता थप्नेगरि ध्वजापताका र फूलले सजाइएको छ । बजार क्षेत्र सजाउने मात्र नभई विभिन्न जातीय पोशाकमा सजिएका युवायुवतीको भीड पनि यतिबेला बन्दीपुरमा छ । त्यही भीडमा रमाउनेगरि आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुरले नै जुटाएको छ । सजाउने काम बाहेक मुल बाटैमा स्टल राखेपछि चहलपहल पनि उत्तिकै बढेको छ ।

ग्रामीण पर्यटन प्रवद्र्धन गर्नका लागि तनहुँको पर्यटकीय नगर बन्दीपुरमा शुक्रबारदेखि ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । दुईदिनसम्म चल्ने यो मेलाले बन्दीपुरमा बढी भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । बन्दीपुरमा बढि भन्दा बढि संख्यामा पाहुना भित्र्याउने र ती पाहुनालाई बन्दीपुर आसपासका ग्रामीण क्षेत्र समेत घुमाउने उद्देश्य सहित यो मेला आयोजना गरिएको हो । मेलाको अवसरमा विभिन्न जातीय पोशाकमा सजिएका बन्दीपुर आसपासका गाउँका युवायुवतीको जमघटले बन्दीपुर झनै झकिझकाउ देखिएको छ ।  

मेलामार्फत बन्दीपुर र आसपासका ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने योजना स्थानीयको रहेको छ । पर्यटन बोर्ड गण्डकी र बन्दीपुर गाउँपालिकाको आयोजना तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) गण्डकीको सह आयोजनामा हुन थालेको मेलामा ३० वटा होमस्टेले सहभागिता जनाउने पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।  

‘यसअघि तीनवटा मार्ट पोखरामा आयोजना गरिएको थियो । यो पटक बन्दीपुरमा मार्ट सुरु भएको छ । बन्दीपुरमा मार्टले सकारात्मक प्रभाव पारेको अवस्थामा प्रदेशका अरु जिल्लामा पनि पालैपालो मार्ट गर्ने योजना हो,’ उनले भने, ‘हरेक जिल्लामा कार्यक्रम गर्न सकेमा ती जिल्लाको पर्यटन प्रवद्र्धन पनि हुन्छ । पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न पनि यस्ता मार्ट जरुरी छ ।’ गाउँ पर्यटन मेलाको यो चौंथो संस्करण हो । यसअघिका संस्करण पोखरामा भएका थिए ।  

मार्टको प्रदेशकी पर्यटनमन्त्री यशोदा रिमालले उद्घाटन गरिन् । गाउँ पर्यटन मार्ट मार्फत बन्दीपुर र आसपासका गाउँको पर्यटन प्रवद्र्धन हुने उनले बताईन । बन्दीपुरमा आएका पर्यटकलाई गाउँसम्म लैजाने गरि गाउँका होमस्टेको प्रचारप्रसार गर्न यो मार्ट उपयोगी हुने उनले बताईन ।  

बन्दीपुरलाई बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष समेत घोषणा गरेको सन्दर्भमा मार्ट आयोजना गरिएको हो । गाउँका साना पर्यटन व्यावसायी र सामुदायिक होमस्टेलाई सिधै सहरी बजार तथा ठूला एजेन्सीसम्म जोड्ने काम यो मार्टले गर्ने बोर्डका वरिष्ठ निर्देशक लामिछानेले बताए । सामुदायिक होमस्टे र सेवाको बजारीकरण तथा बजारसँग जोड्न र गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्न पनि यसले सघाउने उनले बताए । ‘गाउँमा संचालित होमस्टेले आफ्नो प्याकेज यो मार्टमार्फत पाहुनालाई बेच्न पाउनेछन् । सिधै पाहुनासम्म होमस्टेको सम्बन्ध जोडिनेछ,’ उनले भने ।

‘मेलामा बिटूबी (बिजनेस टू बिजनेस) र बिटूसी (बिजनेस टू कन्जुमर) सम्म सञ्जाल बिस्तार गर्न पनि यसले सघाउनेछ,’ उनले भने, ‘आएका पाहुनालाई ग्रामीण भेगका पर्यटकीय गन्तव्यसम्म पुर्‍याउन सकियो भने त्यसले स्थानीयलाई लाभ दिनेछ ।’ मार्टमा होमस्टेहरुले स्टल राखेका छन् । मार्टको यही अवसरमा बन्दीपुर र आसपासका गाउँका विभिन्न जातजातीको सांस्कृतिक प्रस्तुती पनि त्यहाँ संचालन गरिने उनले बताए । उनका अनुसार आन्तरिक पर्यटकका लागि पछिल्लो समय प्याकेज संचालन गरिरहेका टुर अपरेटर्स पनि सहभागि हुनेछन, जसले आन्तरिक पाहुनाका लागि घुमघामको प्याकेज बन्दीपुरमा सार्वजनिक गर्नेछन् ।  

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका बन्दीपुर आफैमा पुरानो सहर भएको र पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य बनेकोले बन्दीपुर आसपासका ग्रामीण क्षेत्रको प्रवद्र्धन गर्नका लागि यो मार्ट आयोजना गरिएको हो । ‘बन्दीपुर आसपासमा होमस्टे संचालन गरिरहेका आठवटा गाउँलाई जोडेर सर्किट बनाईरहँदा पर्यटकलाई ती गाउँसम्म पुर्‍याउने लक्ष्य यो मार्टले लिएको छ,’ थापाले भने, ‘बन्दीपुर आफैमा सुन्दर छ । त्यहाँको हावापानी पनि पर्यटनका हिसाबले अति उत्तम रहेको छ । प्रकृति र साहसिक गतिविधिका हिसाबले पनि बन्दीपुर गतिलो गन्तव्य हो ।’  

बन्दीपुर आसपासका गाउँका होमस्टेमा पाहुना पुर्‍याउन सकेको खण्डमा त्यहाँका बासिन्दाको आयआर्जन बढ्ने र त्यसले बसाई सराईलाई पनि रोक्ने अध्यक्ष थापाको भनाई छ । उनका अनुसार बन्दीपुरले यो वर्ष कम्तिमा आठलाख पाहुना गाउँ भित्र्याउने योजना बनाएको छ । अघिल्लो वर्ष बन्दीपुरले ६ लाख २५ हजार पाहुना भित्र्याएको थियो ।  

भिटोफ गण्डकी अध्यक्ष शोभाकुमारी सापकोटाले पनि ग्रामीण क्षेत्रका लागि होमस्टे आयआर्जन गर्ने माध्यम बनेको बताईन । ‘गाउँमा पुगेका पाहुनालाई आतिथ्यता दिएर आम्दानी गर्ने भएकोले होमस्टेमा धेरै गाउँ आकर्षित भएका छन,’ उनले भनिन, ‘गाउँमा पाहुना पुर्‍याउँदा पर्यटनमार्फत लाभ त हुन्छ नै स्थानीय उत्पादनले पनि बजार पाउने अवस्था रहन्छ । त्यसले समग्र गाउँलेको आम्दानी बढाउँछ ।’

प्रकाशित: १८ वैशाख २०८३ १९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App