१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

आठ लेन सडकमा चार लेन पुल

काठमाडौं - तीनकुने–माइतीघर सडक विस्तार गरी आठ लेन बनाउने काम धमाधम भइरहे पनि यो सडकखण्डमा पर्ने बागमती र धोबीखोलामा पुल निर्माणको काम अघि बढेको छैन। यी दुई पुलको काम नहुँदा सडक विस्तारपछि सडक आठ लेन तर पुल चार लेनको मात्रै हुने भएको छ।
मंसिरसम्म निर्माण सकाउने लक्ष्य लिइएको दुई किलोमिटर ६ सय मिटर लामो यो सडक खण्डमा पुल भने अझै दुई वर्ष नबन्ने भएको छ। सडक भने मंसिरभित्रै तयार भइसक्ने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
विस्तारित सडकमा ती दुई खोलामा हाल भएको पुलभन्दा माथि एक–एक र तल पनि एक–एक गरी चार पुल निर्माण गर्ने योजना छ। आयोजनाले पुलको डिजाइन बनाउन दुई ठेकेदारलाई पोहार जिम्मा दिएको थियो। तर मे कन्सल्ट्यान्टले बिजुलीबजारमा धोबीखोलामाथि बनाइने पुलको डिजाइन बनाएर दिए पनि अर्को ठेकेदार सिल्ट कन्सल्ट्यान्टले तीनकुने, मीनभवनमा बागमती नदीमाथि बन्ने पुलको डिजाइन अझै तयार पारेको छैन।
आयोजनाप्रमुख श्याम खरेलका अनुसार समयमै डिजाइन नआएको र पुल निर्माणको काम अझै पनि सुरु गर्न नसकेकाले यो सडक खण्ड दुईवटै खोलाको पुलमा आएर केही समय 'बोतल नेक'का रूपमा रहने पक्का छ। पुल निर्माणको काम ढिलोमा मंसिरबाट सुरु हुने उनले दाबी गरे। 'अहिलेको अवस्था हेर्दा सडक विस्तार सकिएपछि मात्र पुलको काम सुरु हुनेजस्तो देखिएको छ,' उनले भने, 'सडक विस्तार भए पनि केही समय पुलका कारणले साँघुरो हुने भएको छ।' बागमती पुलको डिजाइन बुझाउन कम्पनीलाई पटकपटक ताकेता गरिरहेको उनले जनाए।
आयोजना प्रमुख रेग्मीका अनुसार मंसिरमा पुलको काम सुरु भए, दुई नदीका चारवटा पुल बढीमा दुई वर्षमा पूरा हुनेछ। 'बीचमा अरु कुनै समस्या आएन भने दुई वर्षभित्र काम सकेर पुललाई उपयोगमा ल्याउनेछौं,' उनले भने।
आयोजनाले यो सडक खण्डको सम्पूर्ण निर्माणमा ७० करोड रुपियाँ खर्च हुनेजनाएको छ। पुलबाहेक सडकको कामलाई ४५ करोड र पुलका लागिा २० देखि २५ करोड खर्च हुने अनुमान छ। आयोजनाका अनुसार धोबीखोला र बागमतीमा बन्ने दुवै पुलको लम्बाइ २७ मिटर स्पानको हुनेछ। चारवटै पुल दुई–दुई लेनको हुने र पुलको चौडाई २२.८६ मिटरको हुनेछ। रेग्मीका अनुसार चारवटै पुलमा सवारी गुड्ने दुई लेनसहित फुटपाथ र साइकल लेन पनि हुनेछ।
यो सडक खण्डमा अहिले ग्राभेल गर्ने, फुटपाथ निर्माण गर्नेलगायत काम भइरहेको छ। लगातार वर्षा भइरहेकाले अझैसम्म सडकको एक मिटर क्षेत्रमा पनि कालोपत्रे गरिएको छैन।
कालोपत्रेबाहेक अन्य निर्माणका काम अन्तिम अवस्थामा पुगेकाले सबै काम मंसिरभित्रै सकिने आयोजना प्रमुख रेग्मीको दाबी छ। उपत्यकाको सडक विस्तार अभियानअन्तर्गत सरकारले पहिलोचरणमा उपत्यकाका एक सय ४० किलोमिटर सडक विस्तार गर्ने लक्ष्य लिएको थियो। जसअनुसार भत्काइएका सडकमा सडक विभागले पहिलोचरणमा ९० किलोमिटर सडक भत्काउँदै निर्माणको काम अगाडि बढाएको छ। विस्तारित ती सडकमध्ये ३० किलोमिटरको कामका लागि अझै ठेक्का भएको छैन। ठेक्का दिइएको सडकमा पनि २० किलोमिटर मात्र कालोपत्रे भएको छ।

प्रकाशित: २२ श्रावण २०७० २०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App