८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

पशुपतिनाथ मन्दिरमा विशेष पूजा फागुन २५ देखि

पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ। कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए। 

हाललाई एक हजार १ सयदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ। पशुपतिनाथ मन्दिरमा एक हजार १सय रुपैयाँदेखि २५ लाख रुपैयाँ सम्मको विशेष पूजा हुने गरेको छ। कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो।

फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने पाँच हजार १ सय रुपैयाँ र ११ हजार रुपैयाँका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि उनले दिए। महाशिवरात्रिका दिन पाँच हजार १ सय रुपैयाँको रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ। विशेष पूजाबाट कोषलाई वार्षिक नौ करोड देखि १० करोडसम्म आम्दानी हुने गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट नौ करोड ४० लाख ९३ हजार १ सय४५ आम्दानी भएको थियो।

गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो। कोरोनाका कारण करीब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि छ करोड एक लाख ८९ हजार ४ सय ७५ रुपैयाँ आय भएको कोषाध्यक्ष थापाले बताए। रासस 

प्रकाशित: १९ फाल्गुन २०७७ ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App