१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अब राउटेका लागि छुट्टै समिति

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठको भाँडा उपहार दिँदै राउटे समुदायका मुखियाहरु । नगेन्द्र उपाध्याय/नागरिक

जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले समिति गठनको तयारी थालेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायको खाना, नाना, छाना र सुरक्षाको प्रत्याभूति गर्न प्रदेश सरकारले समिति गठन गर्न लागेको बताए ।  

‘नेपालको एक मात्रै घुमन्ते लोपोन्मुख राउटे समुदायको संरक्षणको दायित्व राज्यको हो,’ सोमबार राउटे मुखियाहरुसँगको छलफलमा उनले भने, ‘छिट्टै समिति गठन गरेर त्यसैमार्फत काम सुरु गछौं ।’ प्रदेश सरकारले राउटे समुदायलाई संघले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा प्रतिव्यक्ति दुई हजार रुपैयाँ थप्ने निर्णय गरिसकेको छ ।

मुख्यमन्त्री शाहीले राउटे समुदायको सुरक्षाका लागि तत्काल प्रहरी परिचालन गरिने पनि बताए । उनले कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बशन्तकुमार पन्तलाई फोन गरेर राउटे समुदाय रहेको स्थानको सुरक्षाका लागि प्रहरी खटाउन आग्रह गरे । अत्याधिक मदिराका कारण राउटे समुदायको जनसंख्या घट्दै गएकाले प्रहरी परिचालन गरेर मदिरा नियन्त्रण र बस्तीको सुरक्षा गर्न लागिएको मुख्यमन्त्री शाहीको भनाई छ ।  

‘राउटे समुदाय जहाँजहाँ जान्छ, नजिकको सुरक्षा युनिटले बस्तीको सुरक्षासँगै मदिरा नियन्त्रणको काम पनि गर्छ,’ उनले भने, ‘अव राउटे समुदायलाई मदिरा विक्री गर्नेलाई कारवाही गछौं ।’ उनले मदिरा नियन्त्रण गर्न सकेको खण्डमा राउटे समुदायका अहिले देखिएका धेरै समस्याहरु समाधान हुने बताए ।  

राउटे समुदायमा मदिराको लत अत्याधिक छ । महिला तथा बालबालिकाले पनि मदिरा सेवन गर्ने भएकाले कारण उनीहरुको जनसंख्या घट्दो क्रममा छ । पछिल्लो एक महिनाको अवधिमा राउटे समुदायका १० जनाको मृत्यु भएको छ । ति मध्ये अधिकांस बालबालिका छन् । अघिल्लो महिना मुख्यमन्त्री शाही बस्ती पुग्दा राउटे समुदायको जनसंख्या एक सय ५६ थियो । अहिले त्यो संख्या घटेर एक सय ४६ पुगेको छ ।  

‘प्रदेश सरकारले संरक्षणको जिम्मा नलिएर केही वर्षमै घुमन्ते राउटे समुदाय नरहने अवस्था आउँछ,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसैले समिति गठन गरेर उनीहरुको संरक्षण र संवद्र्धनमा लाग्ने निर्णयमा पुगेका हौं ।’ प्रदेश सरकारले राउटे समुदायलाई स्थायी घर निर्माणको सट्टा आधुनिक टेन्टको व्यवस्था गर्ने जनाएको छ । पौष्टिक आहारको कमिले राउटे बालबालिकामा कुपोषण छ ।  

राउटे मुखिया वीरबहादुर शाहीले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा आफुहरु भोकभोकै रहेको बताए । ‘काठका भाँडावर्तन विक्री हुँदैनन्, सरकारले भत्ता नदिएको चार महिना भैसक्यो,’ मुखिया शाहीले भने, ‘तत्काल खाद्यान्न र भत्ताको व्यवस्था गरिदिए सहज हुन्थ्यो ।’ उनले प्रदेश सरकारले थपिदिएको मासिक दुई हजार सामाजिक सुरक्षा भत्ता पनि नपाएको गुनासो पोखे । ‘मुख्यमन्त्रीज्यू बस्तीमा पुगेर मासिक दुई हजार रुपैयाँ भत्ता थपिदिन्छु भन्नु भएको थियो,’ उनले भने, ‘अहिलेसम्म त्यो पनि पाएका छैनौं ।’

प्रकाशित: १७ फाल्गुन २०७७ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App