डुबानबाट घरभित्र पानी पसेपछि यी परिवार प्रभावित भएका हुन्। नगर क्षेत्रको खोला आसपासका पाँच/छ घर बाढीले भत्काएको छ।
जिल्लाको मालाखेती, गेटा, रामशिखरझाला, चौमाला, पहलमानपुर, फूलबारी, हसुलिया, लालबोझी, धनसिंपुर, भजनीलगायतका गाविस डुबान र बाढीबाट बढी प्रभावित भएका छन्।
यी क्षेत्रका प्रभावित परिवारलाई प्रहरीले उद्धार गरी तत्काल सुरक्षित स्थानमा सारेको छ। केही परिवार आज बिहानसम्म पानीको सतह घटेपछि आ–आफ्नो घरतर्फ लागेका प्रहरीले जनाएको छ।
जिल्लाको सबैभन्दा होचो क्षेत्रमा रहेको लालबोझी गाविसमा डुबानबाट बिचल्लीमा परेका घर परिवारले आ–आफ्नो घरको छाना र छतमा बसेर रात काटेका छन्। लालबोझी गाविस पूरै जलमग्न भएकाले त्यहाँ आजसम्म पनि प्रहरी उद्धार टोली पुग्न सकेको छैन्।
मालाखेती गाविसकी १३ वर्षीया चन्द्रा भट्टराईको घर नजिकैको खोलामा आएको बाढीमा डुबेर मृत्यु भएको छ भने फूलबारी नदीमा डुबेर बेपत्ता भएका स्थानीय २५ वर्षीय भुवन चौधरी सुकशल फेला परेका छन्। नदीमा डुबेर बेपत्ता भएका चौधरीलाई झण्डै तीन किलोमिटर तल सोही नदी किनारको रुखमा चढेर बसेको अवस्थामा फेला पारिएको हो।
वर्षासँगै कान्द्रा नदीको बाढीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको पहलमानपुर सडक खण्डको कालोपत्रे सडक कटान गरी क्षति पुर्या एको छ। बाढीका कारण कान्द्रा नदीमाथिको पुल पनि खतरामा परेको स्थानीयवासीले बताएका छन्।
बाढी र डुबानबाट प्रभावित परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीको संयुक्त पहलमा शुक्रबारदेखि नै तयारी तथा सुख्खा खानेकुरा वितरण सुरु गरिएको छ। बाढी र डुबानबाट परेको क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ।
अबिरल वर्षापछि यहाँ बिहीबार रातिदेखि शुक्रबार मध्याह्नसम्म २०९.९ मिलिमिटर वर्षा भएको स्थानीय जल तथा मौसम विज्ञान विभागको कार्यालयले जनाएको छ।
प्रकाशित: ५ श्रावण २०७० ०१:१७ शनिबार





