१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फागुन अन्तिम सातादेखि ताप्लेजुङमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

अहिले सम्म सदरमुकाम केन्द्रित रहेको राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य यहिँ फागुन अन्तिमबाट ताप्लेजुङका सबै स्थानीय तहमा पर्‍याइने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार यहाँका सबै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतहरुसँग सामूहिक छलफल गर्दै विवरण संकलन कार्यमा सहयोग मागेको हो। 

विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि सरकारले अर्को कार्यक्रम र बजेट खर्च नगर्ने स्पष्ट पार्दै यहिँ एउटै मौकामा आफ्नो विवरण भर्न सबैलाई आग्रह गरेका छन्। ‘राष्ट्रिय परिचयपत्र नागरिकता, मतदाता नामावली र अन्य राष्ट्रिय महत्वका तथ्याङ्क तथा जानकारी समेत भएको एउटा पूर्ण पत्र भएकोले परिचयपत्रको विवरण संकलन कार्यमा कसैले पनि छुट्नु हुन्न’उनले दोहार्‍याए। सरकारले राष्ट्रिय परिचयपत्रलाई नेपाली नागरिकको पूर्ण जानकारीसहितको विवरणको रुपमा हेरी सोहि अनुसारको तथ्याङ्क संकलन गरिरहेकोले स्थानीय तहका जनप्रतिनिधिले आम नागरिकलाई यसको महत्व बुझाउँदै परिचयपत्रको विवरण भर्न उत्साहित गर्नुपर्ने बस्नेतले बताए।  

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक बिष्णुहरि उपाध्यायले संकलन गरिएका नागरिकका विवरण निर्वाचन प्रयोजनका लागि र मतदाता नामावली र परिचयपत्रलाई मतदाता परिचयपत्रको रुपमा प्रयोग गर्न सकिने गरीको बनाउने तयारी भरहेको बताए। उनले सरकारी तथा निजी क्षेत्रबाट प्रदान गरिने सबै प्रकारका सेवामा राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न लागिएकोले पनि राष्ट्रिय परिचयपत्र अब प्रत्येक नेपाली नागरिकका लागि अनिवार्य हुने उनको भनाइ छ। उनले यो आर्थिक वर्षमा करिव १ करोड मानिसको विवरण राष्ट्रिय परिचयपत्र कार्यका लागि संकलन गर्ने योजना रहेको कोरोना संक्रमण लगायतका कारणबाट करिव ७० देखि ८० लाख नागरिकको विवरण मात्र भर्न सकिने विभागको मध्यावधि समिक्षाको नतिजा रहेको जानकारी दिए।  

ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य भइरहेको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइका अनुसार अहिले सम्म १ हजार ३५२ पुरुष र १ हजार १० महिला गरी २ हजार ३६२ जनाले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन्। फागुन मसान्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य सुरु गर्ने कार्ययोजना तयार भएको विभागका निर्देशक उपाध्यायले बताए। विवरण संकलन कार्य प्रत्येक वडामा गरिने छ।  

विभागका अनुसार वडाभित्रको जनसंख्याको आकार अनुसार एउटा वडामा १ देखि बढीमा ६ वटासम्म विवरण संकलन स्टेशन तोकिने भएको छ। एउटा स्टेशनबाट दैनिक न्यूनतम् ४० जनासम्मको विवरण संकलन गर्ने विभागको तयारी रहेको छ। विभागले स्थानको उपलब्धता र नागरिकको सुबिधालाई ध्यानमा राखी विवरण संकलन स्टेशनहरु एकै स्थान वा फरक–फरक स्थानमा राख्ने भन्ने निर्णय स्थानीय स्तरमा गर्ने जनाएको छ। वडास्तरमा दर्ता अभियान सञ्चालन, रुजु र राष्ट्रिय परिचय नम्बर जारी र केन्द्रीय प्रणालीमा डाटा अपलोड अबका कार्य हुने समेत विभागले जनाएको छ।  

कार्यक्रममा सबै स्थानीय तहका प्रमुखहरुले राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यमा स्थानीय तहबाट सक्दो सहयोग पुग्ने बिश्वास दिलाए। जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले राष्ट्रिय महत्वको महान पर्व झैं भएकोले यो अभियान सफल बनाउनु स्थानीय तहको प्रमुख उपलब्धी हुने बताए।

प्रकाशित: ६ फाल्गुन २०७७ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App