२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेवातालको क्षेत्रफल ५.७२ वर्ग किलोमिटर

नयाँ क्षेत्रफल सहितको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

फेवातालको नयाँ क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी (५.७२ वर्ग किलोमिटर) रहेको भन्दै सिमांकन समितिले प्रतिवेदन तयार पारेको छ । तत्कालिन जिल्ला विकास समिति कास्कीका सभापति पुण्य पौडेलको संयोजकत्वमा गठित फेवाताल सिमांकन तथा नक्सांकन समितिले नयाँ क्षेत्रफल सहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

समितिका संयोजक पौडेलले ११ हजार २ सय ५५ रोपनी क्षेत्रफल कायम गरेको प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको बताए । ‘हामीले सिमांकन गरेको क्षेत्रफल तोकेर प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएका छौ,’ पौडेलले भने, ‘अब ताल संरक्षणमा झनै सहज हुनेछ । मन्त्रिपरिषद्ले नयाँ क्षेत्रफलबारे निर्णय सार्वजनिक गर्नेछ ।’

यसअघि पोखरा उपत्यका नगरविकास समितिका पुर्व अध्यक्ष विश्वप्रकाश लामिछाने संयोकत्वमा गठित आयोगले गरेको अध्ययन अनुसार फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्ग किलोमिटर)  तोकिएको थियो । २०६९ जेठमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई भट्टराईलाई त्यो प्रतिवेदन बुझाइएको थियो । लामिछानेका अनुसार १२ हजार ८ सय ७४ रोपनीमध्ये ९ हजार ९ सय ५५ रोपनी भने पानीले ढाकेको क्षेत्रफल थियो । २०३८ सालमा यूएनडिपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ११ हजार ४०० रोपनी (५.८ वर्गकिलोमिटर) तोकेको थियो । अहिले मापन गरेको क्षेत्रफल २०३८ को भन्दा पनि थोरै छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, सिमांकन समितिका संयोजक पौडेल, सदस्य सचिव खिमलाल गौतम सहितका पदाधिकारीले प्रधानमन्त्री ओली समक्ष प्रतिवेदन पेश गरेका थिए । सदस्य सचिव गौतमले प्रधानमन्त्री सामु फेवातालबारे प्रस्तुती राखेका थिए । ‘हामीले वैज्ञानिक मापदण्ड अनुसार नयाँ क्षेत्रफल तोकेका हौ,’ समितिका एकजना सदस्यले भने, ‘हुन त फेवातालका क्षेत्रफल ११ वटा छन् । तर, हामीले गरेको मापन गरेको विधि निकै नै वैज्ञानिक छ ।’

ती सदस्यका अनुसार वर्षाको पानी र दलदले जमिन पनि तालको नयाँ क्षेत्रफल सम्बन्धि प्रतिवेदनमा उल्लेख गरएको छ । ‘फेवातालको क्षेत्रफलमा दलदले जमिन पनि कायम हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘११ हजार रोपनी भन्दा बढी क्षेत्रफल अहिले देखिएको छ ।’ ती सदस्यका अनुसार वर्षायाममा भरिएको तालको पानीको किनार, ड्यामको उचाईको तह, स्याटेलाइट इमेज, स्थानीयको अनुभव, भू–भौतिक विधि (तालको गहिराईमा भेटिएको नयाँ र पुरानो माटोको मापन) सहित अघिल्ला प्रतिवेदनलाई आधार मानिएको छ,’ ती सदस्यले भने, ‘तालको नयाँ क्षेत्रफल निकालिएको हो । यसअघिका भन्दा निकै नै वैज्ञानिक विधि अपनाएर हामीले प्रतिवेदन तयार पारेका छौ ।’ यतिबेला तालको ड्याम मर्मतका लाथि तालको पानी घटाइएको छ । तालको पानी घटाएको बेला पारेर यो बेला माटो निकाल्ने हो भने ताल संरक्षण हुने ती सदस्यको भनाई छ । ‘फेवाताल संरक्षण गर्ने गतिलो अवसर अहिले आएको छ,’ उनले भने ।  

नेपालमा २०३२ देखि मात्र नापी सुरु भएको हो । त्यसअघि २०१४ मा भारतीय सेनाले नेपालको सर्भे गरेर दुईवर्षपछि सरकारलाई विवरण बुझाएको थियो । भारतीय सेनाको सर्भेमा समेत फेवाताल देखिएको थियो । तर, त्यसले क्षेत्रफल यकिन गरेको थिएन । मालपोत कार्यालयको फिल्डबुकमा समेत फेवातालको नाममा यति नै जग्गा छ भनेर उल्लेख छैन । फेवातालको नाममा जग्गा रहेको भनिएपनि क्षेत्रफल, चारकिल्ला सिमाना तोकिएको छैन । २०३१ जेठ २० गते तयार पारिएको फिल्डबुकमा फेवातालको नाममा जग्गा रहेपनि क्षेत्रफल कति भनेर उल्लेख गरिएको छैन । विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल तोक्दै आइएको थियो । तालको क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल २०३१ सालमा ६, २०३८ मा ५.८ र २०६९ सालमा ५.०६ वर्गकिलोमिटर (पानीको मात्रा) उल्लेख थियो ।  

२०१७ सालमा फेवातालमा बाँध बाध्न थालियो । बाँध २०१९ मा पुरा भयो । त्यसपछि तालले स्वरुप लिईरहेकोमा २०३१ मा बाँध भत्कियो । बाँध भत्केर तालको पानी घटेको मौका पारेर केहीले कमाई गर्न थाले । त्यो बेला कमाई गरेको आधारमा जग्गा दर्ता हुने चलन थियो । ताल सुकेको मौका पारेर २०३३ सम्म केहीले तालको जग्गा व्यक्तिको नाममा दर्ता गरेको भएपनि धेरैले २०३२ मा गरेका थिए । २०३५ सालमा पुन बाँध बनेपछि तालले पुरानै रुप लिएको हो । 

प्रकाशित: ३ फाल्गुन २०७७ ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App