१६ चैत्र २०८० शुक्रबार
समाज

भारतमा नेपाली किशोरी हत्या प्रकरणः उच्चस्तरीय जाँच सुरु, थाना प्रमुख निलम्बित

नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच सुरु भएको छ । गत माघ ८ भएको सो घटनामा पूर्वी चम्पारण जिल्लाको पुलिस कार्यालयद्वारा शिकरहना क्षेत्रका ‘डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस’ शिवेन्द्रकुमार अनुभवीको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीले बिहीबार घट्नास्थलको विशेष जाँचबुझ गरेको छ ।  

स्थानीय प्रहरी विवादमा मुचिएपछि भारतको बिहार प्रान्तको राजधानी पटनाबाट अपराध अनुसन्धान विभाग (सिआइडी) कि प्रहरी उपरीक्षक बिणा कुमारीको नेतृत्वको बेग्लै टोली गत मंगलबार स्थालगत जाँचबुझ गरेको थियो । प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार अहिलेसम्मको अनुसन्धानमा बालात्कारपछि हत्या गरिएर बालिकाको शवलाई घटना दबाउने उद्देश्यले स्थानीय थानाप्रमुख सञ्जीव रञ्जनकै संलग्नतामा जलाएर नष्ट गरिएको भन्ने आरोपलाई पुष्टि गर्ने साक्ष्य प्रमाण देखा परेका छन् । समाजिक सञ्जालमा भाइरल भएको एउटा अडियो क्लिपमा लास जलाएर नष्ट गर्र्ने विषय उजागर भएको थियो । त्यसपछि मोतिहारी पुलिस अधीक्षकको कार्यालयका ‘सुपरिटेन्डेन्ट अफ पुलिस’ (एसपी) नवीनचन्द्र झाले थानाध्यक्षलाई निलम्बन गर्दै जाँचको नियन्त्रण आफ्नो हातमा लिएका थिए ।

किशोरीको शव जलाउँदै गरिएको भिडियो सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उजागर भएपछि बिहारको राजधानीस्थित सरोकावाला निकायहरूको ध्यानाकर्षण भएको थियो । बालिकाका पिता नेपालको बर्दिवास नगरपालिका घर भएका खड्का थरका उनी सीमावर्ती कुँडवा चैनपुर बजारमा रोजगारीको लागि विगत ७ वर्षदेखि डेरागरी बस्ने गरेका थिए । उनी दिउँसो बजारमा घुमाएर चिया बेच्ने गर्थे भने राति बजारमा चौकीदारी गर्थे । 

गत माघ ८ गते उनकी श्रीमती काम विशेषले आफ्नो गाउँ गएको बेला एक छोरा र एक छोरीलाई डेरामा छोडेर उनी बाहिर निस्केको बेला घटना भएको थियो । ‘मेरो छोरी र छोरा हरिश मात्र घरमा थियो, हरिश काम परेर बजारतिर निस्केको थियो, काम सकिएर फर्किने क्रममा घरसाहु सियाराम साहले तिमी अहिले डेरातिर नजाऊ भनेर रोक्न खोजेका थिए, छोराले मानेन डेरा पुग्यो, उसले देख्यो उसको बहिनी मृत अवस्थामा भुइँमा ढलेकी छिन्,’ खड्काले दिएको लिखित जाहेरीमा छ, ‘त्यो दृष्य हेरेपछि रुँदै कराउँदै हरिश मलाई खोज्न निस्यिो, माछा बेच्ने ठाउँमा आएर उसले घटना सुनाउँदा म स्तब्ध भएँ ।’

घटनामा सोही ठाउँ बस्ने चारजना युवाहरूको प्रत्यक्ष संलग्नता रहेको बताइएको छ ।  

‘म दौडँदै डेरा पुग्दा छोरी मृत अवस्थामा भूइँमा ढलेकी थिइन्, रगतमा लतपत उनको घाँटीमा रातो डोरीजस्तो निशान थियो, उसको ज्यान जोगिन्छ कि भनेर बोकेर स्थानीय डाक्टरहरू कहाँ लगे पनि कसैले छुन मानेन,’ उनले जाहेरीमा भनेका छन् । उनले लेखेका छन्, ‘स्थानीय जयप्रकाश साहले आएर मलाई अर्को ठाउँमा नलग, कहीँ लैजान्छौं भने पाँच लाख रुपैयाँ लाग्छ, यो नेपाल होइन भारत हो, यहाँ कुनै कारबाही पनि हुनेवाला छैन ।’ मृतक बालिकाका पिता खड्काले आशा छोड्नुअघि छोरीको लासमा ज्यान बाँकी छ कि जान्न चिकित्सक भेट्न खोजिरहेका बेला केही स्थानीयले त्यसमा अवरोध गरेका थिए । स्थानीय ५३ वर्षीय हरिकिशोर साहले मोबाइल खोसेर आफन्तहरूलाई फोन गर्न नदिएको र छिटो शव जलाउन दबाब दिएको उनले बताएका छन् । 

उनका अनुसार दिपककुमार, मिलन साह, विनय साह, अजय साह, रमेश साह, उमेश साह, सुनिल साह, देवेन्द्र कुमारलगायतको संलग्नतामा शव जलाइएको थियो । चाँडै शव नजलाएर तिमीले नै छोरीको हत्या गरेको भन्ने मुद्दा लाग्ने भन्दै उनीहरूले धम्क्याएको र जलाएपछि जाडोले मरेकी भनेर आफूहरूले सबैलाई बताइदिने उनीहरूले प्रस्ताव राखेको र । लास नजलाए छोरासहित हत्या गरिदिनेसम्म खड्गालाई धम्क्याए । आफूलाई थानाको ब्यक्ति बताउनेले लास जलाउनमा बाधा अवरोध गरेमा जीवनभरीको लागि जेलमा पुर्याइदिने धम्क्याए । सादा कागजमा धम्क्याएर उनीहरूले औँठा छाप लगाउन लगाए । ‘उनीहरूले हामीलाई भयभित बनाएर राति १२ बजे लास डेराबाट निकालेर लगे,’ जाहेरीमा छ ।

चैनपुरदेखि परसा जाने सडक छेउमा पोखरी नजिक लास लगेर आरोपीहरूले जलाएको पाइएको छ । मृतकको पोसटमार्टम हुन पाएन । लासको अवशेषसमेत नष्ट गर्ने उदेश्यले मट्टितेल र चिनि हालेर लास जलाइएको अनुसन्धानमा खुलेको छ । घट्नाको १३ दिनपछि मोतिहारीका एसपी झाको आदेशमा आरोपी १२ जना बिरुद्ध स्थानीय थानामा मुद्दा दर्ता भएको छ । घट्ना हुने बखतका थानाप्रम्ख सञ्जीव रञ्जन निलम्बित भएका छन् । निलम्बित थानाप्रमुखको ठाउँमा नयाँ थानाप्रमुख मिथलेश कुमार खटाइएका छन् । जिल्लास्थित प्रहरी अधीक्षकको कार्यालयको प्रत्यक्ष निगरानीमा जाहेरी उपर उनले अनुसन्धान बढाएका छन् । तत्कालीन थानाप्रमुखविरुद्ध सर्वस्वसहितको जैन्मकैद सजाय हुने मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान बढाएको छ । मिडिया फोर बोर्डर हार्मेनीका अध्यक्ष अमरेन्द्र तिवारीले बताएअनुसार एसपी झाले घट्नाको गम्भिरतापूर्वक जाँच गर्ने आदेश जारी गरेका छन् ।

‘नेपाली नागरिक भारतमा असुरक्षित हुने वा भारतीय नागरिक नेपालमा असुरक्षित हुने खालको दुई देशबीचको सम्बन्ध होइन,’ तिवारीले, ‘जघन्य किसिमको अपराधिक घटना हो, यसमा बाहिरबाट आएको व्यक्ति भएकै कारण पीडितले न्याय नपाउने अवस्था आउनु हुँदैन, र घटनामा संलग्न भएको आरोपमा प्रहरी अधिकृतसमेतलाई मुद्दा चलाएर बिहार पुलिसले निष्पक्ष व्यवहार देखाएको छ ।’ यसबीचमा बिहार प्रान्तको राजधानी पटनाबाट अपराध अनुसन्धान विभाग (सिआइडी) कि प्रहरी उपरीक्षक बिणा कुमारीको नेतृत्वको जाँच टोली गत मंगलबार गरेको स्थालगत जाँचबुझमा पनि तत्कालीन थानाप्रमुख रञ्जन दोषी देखिएको बताइएको छ । आरोपी फरार छन् । जिल्लास्थित प्रहरी अधीक्षकको कार्यालयमार्फत भइरहेको जाँच र अनुसन्धानलाई नै बढाइने बिहार पुलिसले सञ्चार माध्यमलाई बताको छ ।

प्रकाशित: ३० माघ २०७७ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App