८ वैशाख २०८१ शनिबार
समाज

बन्दकर्ताको शैलीः कतै अनुरोध, कतै आक्रोश

बिहीबारको बन्दमा पोखरामा स्कुटर चलाएकी महिलालाई हात जोडेर सवारी नचलाउन अनुरोध गर्दै बन्द समर्थक । तस्बिर : उमेश पुन/नागरिक

नेकपाको दाहाल–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्दा धेरैतिर तोडफोड, कुटपिट, अवरोध, आगजनीका घटना घटे । तर, पर्यटकीय सहर पोखरामा भने बन्दकर्ताको शैली अन्यत्रको भन्दा केही फरक देखिन्थ्यो । बन्द भन्दाभन्दै पनि सवारी चलाएका चालकलाई बन्दकर्ताले सम्मानपूर्वक सवारी नचलाउन अनुरोध गरिरहेका थिए । सीमित समर्थकले मात्र सवारीचालकमाथि बढी आक्रोश पोखेको देखिन्थ्यो ।

बन्द, हडताल भन्नासाथ आम नागरिक सकेसम्म सवारी चलाउन चाहँदैनन् । केहीले बाध्यताका लागि मात्र सवारी चलाएका हुन्छन् । बाध्यतावस सवारी चलाउनेको पीडा सबै बन्दकर्ताले बुझ्दैनन् । बन्दकर्तामध्ये पनि केही सीमित समर्थक हुन्छन्, जसले नागरिकको बाध्यतालाई पनि बुझिदिन्छन् र उनीहरूको सवारीलाई सहजै पार गराइदिन्छन् । त्यस्तै दृष्य देखिन्थ्यो, बिहीबार पोखरामा ।

मोटरसाइकल चलाउनेलाई कतिपय बन्दकर्ताले सभ्य तरिकाले अनुरोध गर्दै सवारी थन्क्याउन अनुरोध गरेका थिए । बन्द आयोजक दाहाल–नेपाल समूहका नेता तथा गण्डकीका प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने भन्छन्, ‘हामीले शान्तिपूर्वक बन्द आह्वान गरेका हौ । त्यही भएर कतै पनि केही भएन ।’ संवैधानिक कु हुँदा आन्दोलनमा उत्रन बाध्य भए पनि जनताको बाध्यतालाई आफूहरूले बुझेको उनले बताए । ‘सधैं तोडफोड हुनुपर्छ भन्ने छैन । हो बन्दका कारण अप्ठेरो भएको होला, तर, आन्दोलन संयमतापूवक गरेका हौ,’ लामिछानेले भने, ‘हामीले अत्यावश्यक काममा हिडेकालाई कतै अप्ठेरो पारेनौ ।’

अस्पताल हिँडेका बिरामी, दूध, पानी बोकेका गाडी, परीक्षाका विद्यार्थी, पर्यटकका गाडी छाडेको उनले बताए । दिउँसै हिडेका रात्रिबसलाई पनि छाडेको लामिछानेले बताए । ‘कसैमाथि पनि पनि बल प्रयोग गरिएको छैन, हात जोडेर अनुरोध गरिएको हो । पहिलाको भन्दा केही फरक शैली अपनाएका हौ,’ लामिछानेले भने, ‘सधैं अप्ठेरो मात्र पार्नु हुँदैन, सभ्य भएर पनि आन्दोलन गर्न सकिन्छ ।’

मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का गण्डकी संयोजक शिव खकुरेल पनि अन्यत्रको तुलनामा पोखराको बन्द शान्तिपूर्वक रहेको बताए । ‘यो पटक बन्दकर्ता उतिसारो आक्रोशित देखिएनन् । अप्ठेरो परेर सवारीमा हिँडेका व्यक्तिलाई पनि सोधपुछ पछि सहजै छाडेको पाइयो,’ खकुरेलले भने, ‘बन्दकर्तामध्ये पनि कतिपयले अरुको बाध्यता बुझेको पाइयो ।’

पोखरामै रहेर पटकपटकका आम हड्तालको अनुगमन गरेका खकुरेलले यो पटक बन्दकर्ता केही संयम भएको पाएका थिए । ‘सबै बन्दकर्ताले सर्वसाधारणको बाध्यता बुझ्दैनन । यो बेलामा सर्वसाधारण नागरिक बाध्यता नपरी सडकमा निस्कदैनन,’ उनले भने, ‘तर, यो पटकका बन्दकर्तामा केही संयमता थियो । जो बाध्यतामा परेर सवारी चढेका थिए, उनीहरूलाई सोधपुछ पछि छाडेका थिए । व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने बन्दकर्ता यही सडकमा थिए ।’ बन्द भन्नासाथ सधैं तोडफोड, कुटपिट र अवरोध नै हुनुपर्छ भन्ने नभएकोले अब नागरिकको बाध्यतालाई पनि बुझिदिनुपर्ने उनले बताए ।

बन्दकर्ताको यही संयमताको कारण पोखरामा कतै पति भीडन्त, तोडफोड नभएको उनले बताए । पृथ्वीचोकमा बन्दकर्ता चोकमा बसेर नाराबाजी गरेका थिए, तर, गाडी रोक्ने, चाबी खोस्ने काम नगरेको खकुरेलले बताए । यसअघिका बन्द हड्तालमा सवारी चलाएको भनेर बन्दकर्ताले सवारीको चाबी खोसेर राख्ने र बेलुकी पाँचबजे पछि मात्र लिन आउनु भनेर भन्ने गरेकोमा योपटक त्यो अवस्था नआएको उनले बताए । कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमाल पनि यो पटक बन्दकर्ताले सर्वसाधारणको बाध्यतालाई पनि बुझेको बताउँछन् । 

‘उतिसारो उग्रपन यसपटक बन्दकर्तामा देखिएन । सवारीको चाबी खोस्ने, बीचमै रोकिदिने, धम्क्याउने काम पनि गरेको पनि देखिएन,’ उनले भने, ‘यो पटकका बन्दकर्ता अलि सचेत र संयमित भएको देखिन्थ्यो । त्यही कारणले गर्दा कतै केही घटना पनि भएन ।’ अहिलेको बन्दलाई शान्तिपूर्वक नै मान्नुपर्ने उनले बताए ।

प्रकाशित: २३ माघ २०७७ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App