१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खानेपानी पाइप र विद्युत पोल नहटाइंदा हुलाकी बाटो निर्माण अवरुद्ध

सडक क्षेत्रभित्र पर्ने १५-१५ मिटरको संरचना समयमै नहटाइंदा १० महिना ढिलो सुरु भएको कपिलवस्तुको तौलिहवास्थित हुलाकी सडकको निर्माण कार्यमा फेरि अवरोध भएको छ। जमुहारको नहरदेखि नयाँटोल हुँदै छोटकी तौलिहवास्थित मस्जिदसम्मको २३ सय ५० मिटरको निर्माण कार्यमा विद्युतको पोल र खानेपानी पाईपले अवरोध सृजना गरेको हो। गत साउन यता सडक क्षेत्र भित्र पर्ने संरचना हटाईएपछि निर्माण कार्य तीव्र गतिमा बढेको थियो। तर अहिले मुख्यगरि खानेपानी पाईप र विद्यतुको पोल नहटाईदा कालो पत्रे गर्ने काम पनि रोकिएको छ।  

हुलाकी सडक आयोजना कार्यान्वयन इकाई गोरुसिंगेका ईन्जिनियर बिरेन्द्र गूप्ताले खानेपानी पाईप र विद्युतको पोल नहटाईदा कालो पत्रे गर्ने काममा अहिले बाधा भएको बताए। खानेपानी पाईप र विद्युतको पोलले गर्दा सो क्षेत्रमा अहिले निर्माण कार्य समेत सुस्त भएको छ। त्यहाँ अहिले मेडीयन र नाली निर्माणको सामान्य काम बाहेक अरु काम रोकिएको छ।  

यसबारे कपिलवस्तु नगरपालिका, विद्युत प्राधिकरण र खानेपानी संस्थानलाई जानकारी गराइ सकिएको ईन्जिनियर गुप्ताले बताए। विद्युत प्राधिकरणले केही दिन मै पोल हटाउने काम सुरु गर्ने जनाए पनि खानेपानी संस्थानले भने अहिले सम्म पाईप हटाउने बारे यकीन मिति दिएको छैन। ‘विद्युतको पोल भन्दा खानेपानीको पाईपले हामीलाई बाटो निर्माणको काममा अवरोध गरेको छ’ ईन्जिनियर गुप्ताले भने। खानेपानीको पाईप नहटाई सडकको बेस, सब बेस र पिचको काम अघि बढ्न नसक्ने गुप्ता बताउँछन्। खानेपानी संस्थानले अझै सम्म पाईप हटाउने बारे टेन्डर समेत निकालेको छैन। त्यस हिसाबले समेत बाटो निर्माणमा २ महिना बढी अवरोध आउन सक्ने देखिएको छ।  

बाटो निर्माणमा ढिलाई भए सर्वसाधारणले हिलो धुलोका कारण निकै सास्ती पाउने देखिएको छ। निर्माण ब्यवसायी महासंघ कपिलवस्तुका निवर्तमान अध्यक्ष दिनेश हमालले विद्युतको पोल र खानेपानी पाइप चाडै हाटई निर्माण कार्य सम्पन्न गरिनु पर्ने बताए। ‘अहिले त ठिकै छ बर्सातको मौसममा यही अवस्था रहे सर्वसाधारणले निकै सास्ती खेप्नु पर्नेछ’ उनले भने। कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले सडक क्षेत्रमा रहेका विद्युतको पोल र खोनपानी पाइप हटाउन आफूले सम्बन्धित निकायलाई आग्रह गरेको बताए।  

सडक निर्माणस्थलमा सूचना बोर्ड नहुँदा दुर्घटनाको जोखिम बढ्यो  

उता हुलाकी सडक निर्माणकाक्रममा सूचना बोर्ड नराखिँदा दुर्घटनाको क्रम समेत बढेको छ। सडकको नाली र साना पुल निर्माणकाक्रममा खाल्टो पारिएको क्षेत्रमा सामान्य सूचना बोर्ड समेत नराखिँदा दुर्घटनाको जोखिम बढेको हो। स्थानीय अगुवा प्रकाश घिमिरेले ठकेदारले सडक निर्माण गर्दा कहि कतै सूचना बोर्ड समेत नराख्दा दुर्घटनाको जोखिम बढेको बताए। खाल्टोमा मोटरसाईल, सवारी साधन, यात्रु, पशुचौपाया समेत खस्ने गरेको उनले बताए। उनले सडक निर्माणको सूचना बोर्ड ठाउँ ठाउँमा राख्नु पर्ने बताए।  

एक साताअघि नयाँटोलस्थित चोकमा सानो पुल निर्माणकाक्रममा बनाइएको खाल्टोमा भारतीय मालबाहक सवारी साधान फसेको थियो। सडक निर्माणको सूचना नहुँदा सो बाटोमा सो ट्रक फसेको थियो। ३ दिनपछि बल्ल ट्रकलाई निकालिएको थियो। हुलाकी राजमार्ग कार्यान्वयन इकाई गोरुसिंगेका ईन्जिनियर बिरेन्द्र गुप्ताले सडक निर्माणको क्रममा सूचना बोर्ड नराखेको स्वीकार गरे। उनले ठेकेदारलाई सूचना बोर्ड राख्न निर्देशन दिइने बताए।

प्रकाशित: १६ माघ २०७७ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App