१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारबाहीमा

फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारबाहीमा परेका छन्। चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ हजार ६३५ जीप र कार, छ हजार ५६० ट्रक, छ हजार ५४ ट्र्याक्टर, एक हजार २२६ बस र एक हजार १३३ अन्य सवारी साधन कारबाहीमा परेका छन्। छ महिनाको अवधिमा सबैभन्दा बढी मङ्सिर महिनामा आठ हजार ३४० र कम भदौमा तीन हजार ५५६ सवारी साधन कारबाहीमा परेका छन्। कारबाहीमा परेका सवारी साधनबाट रु दुई करोड २८ लाख ६७ हजार ५०० राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउँदले जानकारी दिए। “अघिल्लो आवको छ महिनामा ३५ हजार ९६१ सवारी साधन कारवाहीमा पर्दा रु दुई करोड ११ लाख ७१ हजार ५०० राजस्व सङ्कलन भएको थियो”, प्रहरी निरीक्षक साउँदले भने, “अघिल्लो आवको तुलनामा यस वर्षको छ महिनामा तीन हजार ४३२ सवारी साधन बढी कारबाहीमा परेका छन्। जसमा गत वर्षभन्दा रु १६ लाख ९६ हजार राजस्व बढी सङ्कलन भएको देखिन्छ।”

यस वर्ष ट्राफिक नियम बढी उल्लङ्घन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी साधन बढी कारवाहीमा परेका प्रवक्ता साउँदको भनाइ छ। सुदूरपश्चिममा यस वर्षको छ महिनामा ३३४ सवारी दुर्घटना भएका छन्। तीन सय ३४ दुर्घटना हुँदा ४२७ सवारी साधनमा क्षति भएको छ भने ९९ को ज्यान गएको छ। यो अवधिमा ३२० गम्भीर र २९० सामान्य घाइते भएका छन्।  

ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको छ महिनामा १३६ सवारी दुर्घटना भएका थिए। एक सय ३६ दुर्घटना हुँदा १९६ सवारी साधनमा क्षति भएको थियो भने ६९ को ज्यान गएको थियो। अघिल्लो आवको छ महिनाको तथ्याङ्क हेर्दा चालु आवमा सवारी दुर्घटनासमेत बढेको तथ्याङ्क छ। सडकको अवस्था र तीव्र गतिका कारण सवारी दुर्घटना बढिरहेको र दुर्घटनामा कमी ल्याउन सबै पक्ष सचेत हुन आवश्यक रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १० माघ २०७७ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App