coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महाकाली नदीमा चार लेनको पुल

सीमा नदी मानिएको महाकाली नदीपारि कञ्चनपुरको दोधारा–चाँदनी पर्छ । महाकालीमा पुल नहुँदा २०६० सालअघिसम्म दोधारा–चाँदनीका हजारौं बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम ओहोरदोहोर गर्न भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । आफ्नै देशसँग यहाँका बासिन्दा जोडिन पाएका थिएनन् ।

२०६१ सालमा महाकाली नदीमा झोलुंगे पुल बनेपछि मोटरसाइकल, साइकल र पैदल हिँडेर सदरमुकाम ओहोरदोहोर गर्न सहज बन्यो । तर अझै पनि मोटरेबल सडकले दोधारा–चाँदनी देशसँग जोडिन सकेको छैन । अहिले पनि जिप, कार, बस, ट्रकलगायत सवारीसाधन भारतकै बाटो भएर ओहोरदोहोर गर्नुपर्ने अवस्था छ । तर अहिले गौरवको आयोजनाको रुपमा महाकाली नदीमा चार लेनको पुल निर्माण भइरहेको छ । पुल निर्माण करिब आधाभन्दा बढी सकिएको छ । 

यो पुलले दोधारा चाँदनीका हजारौं बासिन्दालाई आफ्नै भूमिको मोटरेवल सडकबाट सदमुकाम र देशसँग जोड्ने मात्र छैन, सुदूरपश्चिम प्रदेशकै भारतसँगको महत्पूर्ण नाका जाडिने छ । महत्वपूर्ण नाका जोडिएर औद्योगिक, व्यावसायिक र पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने स्थानीयको विश्वास छ । ‘देशभरिमै सायद यति ठुलो चार लेनको पुल महाकालीमा बनिरहेको छ । यो पुल निर्माणपछि हामी दोधारा–चाँदनीका लागी नयाँ युग सुरु हुनेछ,’ दोधारा–चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले भने, ‘टापु जस्तोबाट जोडिएर आफ्नो देशसँग सम्बन्ध गाँसिनेछ ।’ 

झोलुंगे पुलअघिसम्म महाकालीपारि टापु जस्तै रहेको दोधारा–चाँदनीका बासिन्दाको भारतसँग सम्बन्ध रहेको तर आफ्नो देशसँग सम्बन्ध जोडिन नसकेको उनले सुनाए । ‘बिरामी पर्दा पनि सदरमुकाम लैजान सकिने अवस्था थिएन, भारतको बाटो सामान ल्याउन पाइँदैनथ्यो,’ उनले भने, ‘पुरै भारतसँग सम्बन्ध जोडिएर भाषा पनि हिन्दी बोल्ने गरिन्थ्यो, झोलुंगे पुलले सहज भएको थियो, चार लेनको पुलले पूरै देशसँग सम्बन्ध जोडिने कुराले दोधारा–चाँदनीका बासिन्दा खुसी भएका छन् ।’ साविकको दोधारा–चाँदनी दुई गाविस अहिले नगरपालिका बनाइएको छ । सुरुमा महाकाली नगरपालिका नामकरण गरिएको अहिले नाम परिवर्तन गरेर दोधारा–चाँदनी नगरपालिका राखिएको छ । यहाँ ५० हजारभन्दा बढी बासिन्दा बसोबास गर्छन् । विकासमा पछाडि रहेको सुदूरपश्चिम प्रदेशमा ठुलो आयोजनामध्ये एक महाकाली पुल हो ।  

आधाभन्दा बढी काम सम्पन्न

२०७४ भदौ ७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको यो आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भइसकेको महाकाली पुल निर्माण आयोजनाका प्रमुख सन्तोष कर्णले बताए । ‘वित्तीय रूपमा ५१ प्रतिशत र भौतिक रुपमा ५५ प्रतिशत प्रगति भइसकेको छ,’ उनले भने । कुमार सिएफसी निर्माण कम्पनीले यो आयोजनाको काम गरिरहेको छ । तीन वर्षमा सिध्याउने गरी सम्झौता भए पनि निर्धारित समयावधिमा करिब आधा मात्र काम भएको हो ।

६ लेन पहुँच मार्ग निर्माण हुने

चाँदनीदेखि पूर्वपश्चिम राजमार्गको गड्डाचौकीसम्म ७.८ किलोमिटर वरपर एक÷एक सर्भिस लेन र चार लाइन मुख्य सडक गरेर ६ लेनको पहुँच मार्ग बन्ने उनले बताए । यो काम पनि भरहेको छ । महाकाली पुलभन्दा ८ सय मिटरपारि देखि पूर्वपश्चिम राजमार्गको गड्डाचौकीसम्म ७.८ किलोमिटर सडक ६ लेन निर्माण हुनेछ । ३ अर्ब २७ करोड रुपैयाँ लागतमा यो आयोजना निर्माण भइरहेको छ । २०७७ फागुनमा सम्पन्न गरिसक्नुपर्ने यो आयोजनाको म्याद २०७८ फागुनसम्म थप गरिएको छ ।

ढुंगाको अभावले समस्या

नदीलाई नियन्त्रण गरेर ८ सय मिटर चौडाइ पुलभित्र नदीको पानी हाल्ने गरी आयोजना सम्पन्न गर्न ठूलो ढुंगाको प्रयोग गरिने डिजाइन छ । ‘२ सय ५७ केजी भारी भएको ढुंगा प्रयोग गरिनेछ । भने आयतनको हिसाबले सबैतिर ५६ सेन्टिमिटर भएको ढुंगा चहिन्छ,’ आयोजनाप्रमुख कर्णले भने, ‘यो ढुंगाको अभाव आयोजना निर्माणमा मुख्य चुनौती देखिएको छ ।’ ढुंगाको प्रयोगले नदी नियन्त्रणको काम सम्पन्न नहुन्जेल पुल निर्माण भए पनि अर्थ नहुने उनको भनाइ छ । ‘नदी नियन्त्रण गरेर पानीलाई पुलभित्र हाल्ने काम सम्पन्न नगरुन्जेल नदीबीच पुल हुनेछ, यसैले ढुंगा खोजेर नदी नियन्त्रणको कामलाई पनि सक्दो छिटो गर्नुपर्ने हुन्छ ।’ ढुंगा पाइने खोलाका स्थानीय जनताको अभावले ढुंगा ल्याउन नसकेको उनको भनाइ छ ।

भीमदत्त नगरपालिका–१२ र दोधारा–चाँदनी नगरपालिका–१ चाँदनीलाई यो पुलले जोड्नेछ ।

यो पुलबाट करिब ३ किलोमिटर पश्चिम सीमा छ । त्यहाँबाट करिब डेढ किलोमिटरको दूरीले बनबासा खटीमा सडकको चक्रपुरमा यो नाका जोडिन्छ । भारतीय पक्षले डेढ किलोमिटर सडक निर्माण गर्न भने बाँकी छ । भारतले पनि सडक निर्माण गर्ने तयारी गरेको बुझिएको छ । पुलबाट साढे ८ सय मिटर पश्चिम गौरीशंकर सामुदायिक वनमा सुक्खा बन्दरगाह बनाउने घोषणा सरकारले गरेको छ । यो महाकाली पुल बनेमा अहिलेसम्म मुख्य नाकाको समस्या रहेको सुदूरपश्चिमको विकासमा कायापलट पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए ।

‘महाकाली पुल निर्माणले एउटा त दोधारा–चाँदनीलाई मोटरेबल बाटोले नेपालसँग सिधै जोड्नेछ,’ उनले भने । अंग्रेजको पालामा महाकाली नदीमा बनेको पुल जीर्ण भइसकेकाले बढी भारीको सामान ल्याउन नदिने र दिनभर पटकपटक बन्द हुने गर्छ । त्यस्तै धनगढीको त्रिनगर नाका जोड्ने नाका पनि भारतको दुदुवा नेसनल पार्क भएकाले भारतले स्तरोन्नति नगरेकाले समस्या छ । ‘नेपालको सबैभन्दा नजिक रहेको भारतको औद्योगिक र पर्यटकीय क्षेत्रलाई यो पुल बनेपछि जोड्ने छ,’ पर्यटन व्यवसायी भण्डारी भन्छन्, ‘औद्योगिक र पर्यटकीय हिसाबले यो पुल निर्माणपछि सुदूरपश्चिमको कायापलट हुनेछ ।’

रुद्रपुर, सीतारगन्ज, नैनितालको चोरगलियामा ५ सयभन्दा बढी उद्योग निर्माण भएका छन् । ‘मल्टी नेसनल उद्योग पनि छन्,’ उनले भने, ‘यो पुल निर्माणपछि छोटो दूरीमा औद्योगिक क्षेत्रसँग यो प्रदेश मात्र नभएर नेपाल नै जोडिनेछ ।’ मुख्य नाका नहुँदा यस प्रदेशमा आर्थिक गतिविधि अवरोध रहेको धनगढीका पर्यटन व्यवसायी प्रकाश भट्टले बताए । पुल निर्माणसँगै भारतको राजधानी नयाँ दिल्लीलगायत आधा दर्जन ठुला सहरसँग नजिक रहेको सदूरपश्चिम प्रदेशमा पर्यटन विकास हुने उनी बताउँछन् । ‘महाकाली पुल निर्माणले आर्थिक र पर्यटकीय विकास भएर यस प्रदेशको विकासमा कोसेढुंगा हुनसक्छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशबाट ६, ८ घण्टाको सडक दूरीमा भारतको राजधानी नयाँ दिल्लीलगायत आधाभन्दा बढी ठूला सहर रहेका छन् । पुल निर्माणसँगै मुख्य नाका जोडिँदा १०औं लाख पर्यटक भित्र्याउन सकिने भट्ट बताउँछन् ।

प्रकाशित: ७ माघ २०७७ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App