१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जेष्ठ नागरिकलाई जकेट र छाता

१०५ वर्षका जेष्ठ नागरिक मनबहादुर गुरुङलाई जकेट र छाता हस्तान्तरण गर्दै उपमेयर मैना विक ।

दोस्रो विश्वयुद्ध लडेका गुर्भाकोट नगरपालिका–१४ का १०५ वर्षका मनबहादुर गुरुङलाई नपुग्दो केही छैन् । नाति–पनातिहरु जागिरे छन् । इच्छाएको सबै परिवारले पूरा गरिदिएको छ । उनै गुरुङ स्थानीय सरकारमार्फत जकेट र छाता पाउँदा खुशीले गद्गद् थिए । ‘जकेट र छाता पाएको भन्दा पनि सरकारले जेष्ठ नागरिकहरुलाई सम्झेकोमा खुशी लागेको छ,’ गुरुङले भने, ‘यस्ता कार्यक्रमले गाउँको सरकारको प्रत्यक्ष अनुभूति गर्न पाइदो रहेछ ।’ 


वडामा ७० वर्षमाथिका दुई सय १० जना जेष्ठ नागरिक छन् । वडा कार्यालयले समय–समयमा जेष्ठ नागरिकहरुको भेला गर्छ । भेलामा नियमित स्वास्थ्य चेकजाँच हुन्छ । उमेर मिल्ने जेष्ठ नागरिकहरु भेट हुँदा एक अर्कासँग सुख दुःख साट्छन् । ‘समय–समयमा हुने यस्ता भेला जेष्ठ नागरिकहरुलाई लागि सुख, दुःख साँट्ने चौतारी बनेको छ,’ वडाले गठन गरेको जेष्ठ नागरिक सम्मान समितिका संयोजक बुद्धिमान चपाईले भने, ‘यस्ता भेला हप्तामा एक दिन भइदिएको भए अझ राम्रो हुन्थ्यो ।’


पछिल्लो पटक भएको भेलामा वडा कार्यालयले सबैलाई चिसोमा लगाउने जकेट र पानी पर्दा ओत लाग्ने छाता उपहार दियो । ‘जेष्ठ नागरिकहरुको सम्मानका लागि चिनो स्वरुप जकेट र छाता दिएका हौं,’ वडाध्यक्ष मधु गुरुङले भने, ‘वडाको सानो सहयोगले बृद्धबृद्धाको मुहारमा देखिको खुशीले सन्तुष्ट बनाएको छ ।’ उनले नजिकको सरकारको अनुभूति हुने गरेर जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल र विपन्न महिला तथा समुदायका लागि भेटघाट, स्वास्थ्य चेकजाँचलगायतका कार्यक्रमहरु वडा कार्यालयले नियमित गर्दै आएको बताए ।


कार्यक्रममा गुर्भाकोट नगरपालिकाका उपमेयर मैना विकले आगामी आर्थिक वर्षदेखि हरेक वडामा बृद्धबृद्धाका लागि दिवा सेवा कार्यक्रम सञ्चालन गरिने बताइन् । ‘विहान १० बजेदेखि बेलुका चार बजेसम्म बृद्धबृद्धाहरुका लागि दिवा सेवा कार्यक्रम सञ्चालन गर्ने योजना नगरपालिकाले बनाएको छ,’ उनले भने, ‘यसबाट आफ्नो उमेर मिल्नेहरुसँग भेटघाट हुनुका साथै उहाँहरुका गुनासा सुन्ने र त्यसलाई समाधान गर्ने साझा चौतारी बन्ने अपेक्षा लिएका छौं ।’


उनले पछिल्लो समय आफुले जन्म दिएका बुवा आमालाई बृद्धाश्रम पु¥याउने अवस्था सृजना हुँदै गएकाले त्यसलाई रोक्नु स्थानीय सरकारको दायित्व भएको बताइन् । उपमेयर विकले भगवान खोज्न मन्दिर होइन्, घरभित्रैका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताइन् ।  

प्रकाशित: ५ माघ २०७७ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App