१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माघे संक्रान्तिमा धादिङको धुवाँकोटमा १८ हल गोरु जुधाइने

गोरु जुधाई कार्यक्रमको बारेमा धादिङबेसीमा आयोजित पत्रकार सम्मेलन ।

माघे संक्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाँकोटस्थित भंगेरीमा गोरु जुधाइने भएको छ। संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र र भंगेरी युवा क्लबले गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो। परम्परादेखिनै गोरु जुधाउँदै आएको धुवाँकोटको भंगेरीमा यस वर्ष १८ हल गोरु जुधाइने संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए। धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराइएको हो।

कृषि कर्मको लागि पालिएका गोरुलाई माघे संक्रान्तिको दिन जुधाएर मनोरञ्जन लिने धादिङ, नुवाकोट र रसुवा जिल्लाको यो सदियौं पुरानो परम्परा हो। धुवाँकोटमा पनि परम्परादेखिनै गोरु जुधाइन्थ्यो। केही समय रोकिएपनि विगत ८ वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाउन थलिएको श्रेष्ठले बताए। ‘गोरु जुधाई कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आइरहेका छौँ,’ श्रेष्ठले भने, ‘यस वर्ष धादिङ, नुवाकोट र गोरखाबाट गोरु जुधाईका लागि दर्ता भएको छ।’  

धादिङको धुवाकोट ऐतिहासिक महत्वका ९ ओटा कोटमध्ये एउटा महत्वपूर्ण कोट हो। विशेष गरि धुवाकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरि गोरु जुधाई कार्यक्रम आयोजना गरिदै आइरहेको छ। बझाङे राजा जयपृथ्वी बहादुर सिंहको मावली गाउँ तारुका आउँदा भान्जालाई देखाउनको लागि शुरु गरिएको गोरु जुधाउने परम्परा धादिङ र नुवाकोटमा अहिले पनि सञ्चालनमा छन्।  

गोरु जुधाउनको लागि पहिलो, दोस्रो र तेस्रो समूहमा विभाजन गरिएको छ। गोरुको उमेर, साइज र क्षमता हेरेर विभाजन गरिएको पहिलो समूहमा ४ हल गोरु, दोस्रो समूहमा ७ हल र तेस्रो समूहलमा ७ हल गोरु रहेका छन्। पहिलो समूहको विजेताले १२ हजार, उपविजेताले १० हजार नगद र प्रमाणपत्र पाउनेछन्। त्यसैगरी दोस्रो समूहको विजेताले १० हजार, उपविजेताले ८ हजार नगद र प्रमाणपत्र पाउनेछन् भने तेस्रो समूहको विजेताले ७ हजार, उपविजेताले ५ हजार नगद र प्रमाणपत्र पाउने बताइएको छ।  

गोरु जुधाइने स्थान नीलकण्ठ नगरपालिका वडा नं.१४ धुँवाकोट भंगेरी धादिङबेसीबाट १२ किलोमिटरको दूरीमा रहेको छ।

प्रकाशित: २९ पुस २०७७ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App