१५ चैत्र २०८० बिहीबार
समाज

विदेशीको जिज्ञासा–खोप लगाएपनि क्वारेन्टिन बस्नैपर्ने हो र ?

सरकारी पदाधिकारी भन्छन्–नीति बदल्ने बेला भयो

नेपाल भित्रिएका जो कोही विदेशी (भारतीय बाहेक) पाहुनाले एकसातासम्म अनिवार्य क्वारेन्टिन बस्नुपर्ने अहिलेसम्मको सरकारी नियम छ । त्यसबाहेक नेपालसम्मको यात्रा थाल्दा ७२ घण्टा अगाडि कोरोनाको पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट पनि ती पाहुनाले पेश गर्नुपर्छ । कोरोनाको नेगेटिभ रिपोर्ट देखाउन नसके नेपाल प्रवेश पाइदैन ।  

तर, कतिपय मुलुकले पछिल्लो समय आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन थालिसकेका छन् । कोरोना विरुद्धको खोप लगाएका ती मुलुकका नागरिकले आफुलाई सुरक्षित ठान्दै ढुक्कसँग हिडडुलको योजना पनि बनाईसकेका छन् । खोप लगाइसकेका पाहुनाले हिडडुलको योजना त बनाएका छन, तर, क्वारेन्टिन बस्नुपर्ने र अनिवार्य पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम रहिरहँदा ती पाहुना भने अन्योलमा छन् । उनीहरुले भन्न थालेका छन–कोरोना विरुद्धको खोप लगाइसकेपछि पनि पिसिआरको नेगेटिभ रिपोर्ट र क्वारेन्टिन अनिवार्य बस्नुपर्ने हो र ?  

केहीदिन अघि पर्यटन व्यवसायी सुशीलराज पौडेललाई जर्मनकी दुईजना नागरिकले यस्तै जिज्ञासा राखे । तर, ती जर्मनी नागरिकको जिज्ञासाको सहज उत्तर पौडेलसँग थिएन । आफुले सोच्दै नसोचेको जिज्ञासा ती विदेशीले राखेपछि पौडेल नै रनभुल्लमा परे । पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का गण्डकीका अध्यक्ष समेत रहेका पौडेलले भने, ‘म नै जवाफविहीन भए । के जवाफ दिउँ भन्ने नै मसँग थिएन ।’

पौडेलको बुझाइमा खोप नै कोरोना विरुद्धको सबैभन्दा ठुलो सुरक्षा कवच हो । खोप लगाइसकेका ती पाहुनालाई निर्धक्क नेपाल घुम्न बोलाउन मिल्ने वा नमिल्ने भन्नेमा सरकारले स्पष्ट पारिसकेको छैन । पौडेल भन्छन, ‘खोप लगाईसकेका व्यक्तिलाई एकसाता अवधिको क्वारेन्टिन र पिसिआरको नेगेटिभ रिपोर्ट चाहिने हो वा नचाहिने हो भनेर सरकारले स्पष्ट भनिदिनुपर्छ ।’ कोरोना विरुद्धको खोप नै सबैभन्दा ठुलो सुरक्षण कवच भएकोले पिसिआरको नेगेटिभ रिपोर्ट र एकसाता क्वारेन्टिन अनिवार्य गर्नु उपयुक्त नहुने उनले बताए । ‘खोप नै लगाएपछि नेगेटिभ रिपोर्ट र क्वारेन्टिन अनिवार्य गर्दा राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘त्यसैले सरकारले यो बारेमा जतिसक्दो छिटो स्पष्ट पार्नुपर्छ ।’

पौडेलका अनुसार मार्च महिनामा नेपाल आउन चाहेका दुईजना जर्मनी चिकित्सक हुन् । उनीहरु चारसाताका लागि नेपाल आउने योजनामा छन् । नेपालका अस्पतालमा इन्र्टनसिपका लागि ती जर्मनी आउने तयारीमा छन् । ‘उनीहरु आफै अग्रपंक्तिका चिकित्सक हुन् । उनीहरुले कोरोना विरुद्धको दुई–दुई डोज खोप पनि लगाइसकेका छन्,’ पौडेल भन्छन, ‘तर, नेपाल आउँदा पिसिआरको नेगेटिभ रिपोर्ट र क्वारेन्टिनको प्रावधान रहिरहँदा उनीहरु अन्योलमा परेका छन् ।’

पौडेलका अनुसार नेपालले अनिवार्य गरेको क्वारेन्टिन र नगेटिभ रिपोर्टको प्रावधानले ती जर्मनी दोधारमा छन् । ‘हामीसँग अब पिसिआरको नेगेटिभ रिपोर्ट हुँदैन, तर, कोरोना विरुद्धको खोप लगाएको प्रमाण भने हुन्छ,’ ती विदेशीको भनाई उदृत गर्दै पौडेलले भने, ‘कोरोनाविरुद्धको खोपको आधारमा नेपाल प्रवेशको अनुमति पाइने की नपाइने भनेर उनीहरु दोधारमा छन् । ती विदेशीलाई जस्तै दोधार हामीलाइ पनि छ ।’  

विभिन्न मुलुकले आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन थालिसकेको ती मुलुकका नागरिक अब घुमफिरमा निस्कन सक्ने सम्भावना पनि छ । तर, नेपालजस्ता मुलुकले क्वारेन्टिन र पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गर्दा विदेशी नै अन्योलमा पर्ने अवस्था आएको उनले बताए । ‘सरकारले अब जतिसक्दो छिटो पुरानो प्रावधान सच्चाउनुपर्छ । कोरोना विरुद्ध खोप लगाएका व्यक्तिका लागि भिन्दै प्रावधान अनिवार्य गर्नुपर्छ,’ उनले भने, ‘एकसाता क्वारेन्टिन र पिसिआरको नेगेटिभ रिपोर्ट खोप लगाएका व्यक्तिका लागि अनिवार्य गर्नु हुँदैन । किनकी खोप नै सबैभन्दा बलियो सुरक्षा विधि भएकोले हामीले पनि मापदण्ड बदल्नुपर्छ ।’

सरकारी पदाधिकारीसँग पनि ती जर्मनीको जस्तो जिज्ञासाको चित्तबुझ्दो जवाफ छैन । सरकारी पदाधिकारी भन्छन्, ‘अब यो बारेमा पनि सोच्ने बेला भएको छ । अहिलेसम्मको सरकार नीति फेरबदल भईसकेको छैन । तर, अब पुरानो नीतिलाई अपडेट गर्न जरुरी छ ।’ 

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार अहिलेसम्म क्वारेन्टिन र पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य रहिरहेकोले खोप लगाएर आएका व्यक्तिका लागि के गर्ने भनेर सोच्ने बेला भएको बताए । शर्माले भने, ‘सरकारले पुरानो नीति परिवर्तन गर्न जरुरी छ । अहिलेसम्म क्वारेन्टिन र नेगेटिभ रिपोर्टको नीति रहेको छ, अब त्यसलाई अपडेट गर्नुपर्छ ।’

उनका अनुसार खोप लगाएको प्रमाण पेश गरेपछि समस्या नहुनुपर्ने हो । खोप लगाएको प्रमाणले नै मान्छे निरोगी छ भन्ने देखाउने उनले बताए । ‘खोप लगाएपछि सुरक्षित भइन्छ भन्ने मान्यता पनि हो । त्यसैले अब पुरानो नीति बदल्ने बेला भएको छ,’ उनले भने । ‘केन्द्रीय रुपमा केही नीति बनेको रहेछ भने भिन्दै कुरा हो । नत्र हामीलाई अहिलेसम्म यसबारेमा के गर्ने भनेर लिखित रुपमा जानकारी आएको छैन,’ शर्माले भने ।  

कामकाजले बाहेक विदेशीहरु घुम्नका लागि नेपाल आउँछन् । नेपालको सुन्दरतासँग लोभिएका विदेशी कोरोनाका कारणले नेपाल आउन नपाउँदा घरमै रोकिएका छन । तर, खोप लगाएर सुरक्षित मानिएका ती विदेशीका लागि कस्तो प्रावधान बनाउने भन्नेबारेमा सोच्न बेला भएको पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछाने बताउँछन् । ‘अब खोप लगाएका विदेशी पनि नेपाल आउने बेला भएको छ । खोप लगाएका ती पाहुनालाई कस्तो प्रावधान अनिवार्य गर्ने भनेर सोच्ने बेला भएको छ,’ लामिछानेले भने, ‘पुरानो नीतिलाई अब पुनरावलोकन गर्नुपर्छ ।’ खोप लगाएका व्यक्तिलाई क्वारेन्टिन आवश्यक हो वा होइन भनेर सम्बन्धित सरोकारवालाबीच अब छलफल चल्न थालेको उनले बताए । ‘पर्यटन क्षेत्रलाई उकास्ने हो भनेपनि क्वारेन्टिन र नेगेटिभ रिपोर्टको प्रावधान बदल्ने बेला भएको छ,’ उनले भने । 

प्रकाशित: २७ पुस २०७७ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App