१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

डिफेन्स आर्मीका मैनाली प्रहरी फन्दामा

काठमाडौं‌, भदौ २१ (नागरिक)- नेपाल डिफेन्स आर्मीका संयोजक रामप्रसाद मैनालीलाई झापाको शरणामतीबाट प्रहरीले गिरफ्तार गरेको छ। प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका मैनाली तीन जनाको ज्यान लिनेगरी ललितपुरको एजम्सन चर्चमा बम विस्फोट काण्डका मुख्य अभियुक्त हुन्। झापामा पक्राउ परेका मैनालीलाई आइतबार बिहान बिराटनगर ल्याइएको छ। डीआइजी भीष्म प्रसाइअनुसार प्रहरीले आजै पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्दैछ।

कांग्रेस केन्द्रीय कार्यालयमा २७ साउनमा बम विस्फोट गराउने  मैनालीले आफूलाई आर्मीको  कमान्डरको रुपमा समेत चिनाउँदै आएका थिए । गोविन्दपुर, मोरङ स्थायी घर भएका मैनाली नेतृत्वको समूहले यसअघि मोरङ, बारा, पर्सा र काठमाडौं‌मा दर्जनौं अपराधका घटना गराइसकेको छ। आर्मीले गराएका अपराधिक घटनामध्ये ९ जेठ ०६६ धोविघाट चर्चको विस्फोट मुख्य हो। त्यसमा ३ जनाको मृत्यु भएको थियो। आर्मीले नेपाललाई धर्म निरपेक्षबाट पहिलाको जस्तै हिन्दू राज्य बनाउनु माग उठाउँदै आएको छ।

यसअघि मैनालीको समूहले काँग्रेस केन्द्रीय कार्यालय सानेपा, माओवादीको बुद्धनगरस्थित तत्कालीन केन्द्रीय कार्यालय, संविधानसभास्थल बाहिर नयाँ वानेश्वर, खुलामञ्च, जिल्ला वन कार्यालय मोरङ, कांग्रेस नेता अशोक कोइरालाको निवास, बिराटनगरस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यलय, टंकी शिनिवारीस्थित नेपाल लिकर्सको फ्याक्ट्री, एमाले पर्सा कार्यालय, शिक्षा र औषधि व्यवस्था कार्यालयमा समेत विस्फोट गराइसकेको प्रहरी रेकर्डमा उल्लेख छ। काठमाडौंबाट प्रकाशित हुने सन्ध्याकालीन पत्रिकाका वितरणकर्ता समेतको संलग्नतामा १५ जना जतिको समूह मैनालीसँग रहेको अनुमान प्रहरीको छ।

मैनालीले नेतृत्व गरेको डिफेन्स आर्मीको सम्बन्ध भारतका हिन्दू अतिवादी समूहसँग रहेको अनुमान प्रहरीको छ। ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणाले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि त्यसको विरोधमा आर्मीले हिंसात्मक अपराधिक कार्यलाई बढावा दिएको छ। भारतको विश्व हिन्दू परिषदका व्यक्तिहरुको अग्रसरतामा डिफेन्स आर्मी गठन भएको मैनालीले प्रहरीलाई ०६३ मा दिएको बयानमा उल्लेख गरेका छन्।

०६३ जेठमा एक साप्ताहिकलाई अन्तरवार्ता दिँदा मैनालीले धर्मयुद्ध लड्न १५ हजार सेना तयार पारेको उल्लेख गरेका थिए। हिन्दू राज्यका लागि युद्ध लड्ने बताएका मैनाली समूहभित्र मतभेद बढेपछि ०६३ असारमै मैनालीलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो। त्यसबेला उनीबाट रिभल्वर र दुई राउन्ड गोली र विस्फोटक पदार्थ बरामद गरेको थियो।

मोरङको गोविन्दपुर-८ स्थायी घर भएका ३७ वर्षीय मैनालीका दुई छोरी र एक श्रीमती छन्।  ०५४ तिर मैनाली बस सेवाको कर्मचारी भएका थिए। १० कक्षासम्मको अध्ययन गरेका मैनालीले ०५८ सम्म कैलालीको बस टिकट काउन्टरमा काम गरे। एमालेको पारिवारिक पृष्ठभूमि भएका मैनाली ०५९ पछि माओवादी कार्यकर्ता बने। माओवादीमा हुँदा सिकेको हिंसात्मक राजनीतिको अनुभव र भूमिगत हुने कलाको भरमा उनले ०६३ असारमा आफ्नै नेतृत्वमा डिफेन्स आर्मीको गठन गरे।

प्रहरी रेकर्डमा मैनाली
मिति २०६६।२।९ गते ०९.२० बजेको समयमा ललितपुर जिल्ला स्थित मरिया गदग्रहण गिर्जा भवन (Assumption Chruch) मा विष्फोटन गराएको घटनामा संलग्न कथित नेपाल डिफेन्स आर्मीका सैन्य कमाण्डर भनिने राम प्रसाद मैनाली ।

१. नाम थर :- राम प्रसाद मैनाली
उपनाम :- परिवर्तन गिरी, फणिराज, आर. वि. र गोपाल मैनाली
२. उमेर :- अं. ३८ वर्ष
३. वतन :- गोविन्दपुर गा.वि.स. वडा नं. ८ परियापाडा मोरङ्ग
४. जन्मस्थान र मिति :- गोविन्दपुर गा.वि.स. वडा नं. ८ परियापाडा मोरङ्ग
५. बाबुको नाम थर :- गंगाराम मैनाली
६. आमाको नामथर :- गंगालक्ष्मी मैनाली
७. राष्ट्रियता :- नेपाली
८. परिचयात्मक कागजातहरु :- सवारी चालक अनुमति पत्र नं. ०२९४७९ (को.अ. २०६२)
९. पेशा :- आतंकजन्य कृयाकलाप
१०. भाषा :- नेपाली, हिन्दी
११. विस्तृत हुलिया :- गहुँगोरो, उचाई ५ फिट ६ इन्च, शरिर ठिक्कको मोटो
१२. भ्रमण गर्न सक्ने देश तथा ठेगाना :- भारत
१३. मतियारहरु भए :- कथित नेपाल डिफेन्स आर्मीसंग आवद्ध व्यक्तिहरु 

 

प्रकाशित: २० भाद्र २०६६ २३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App