१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

माया मारिएकी आमा १३ वर्षपछि फर्किएपछि...

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१२, भीमटावरकी वेपत्ता पार्वती माझीलाई १३ वर्षपछि काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपकार समाजले उद्धार गरी परिवारसँग पुनर्मिलन गराएपश्चात् परिवारसँग सामूहिक तस्बिरमा पार्वती। तस्बीरः अर्जुन भुसाल/रासस

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उनी १३ वर्षको हुँदा घरबाट बेपत्ता भइन्। बेपत्ता भएको १३ वर्ष बितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो। श्रीमान् र  तीन छोरा  छाडेर हिँडेकी पार्वतीलाई काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपरोकार समाजले पुनर्मिलन गराइदिएको छ। 

“आमाको सम्झना आइरहे पनि फर्केर आउनुहुन्छ भन्ने लागेको थिएन”, उनले भने, “आज आमा आउँदा सपना जस्तो लागेको छ, निकै खुसी भएका छौँ।” छोराहरु अहिले जवान भइसकेका छन्। आमाले छाडेर हिँडदा जेठा छोरा पुन्टे १३, माइला सन्तोष १२ र कान्छा सेतुराम १० वर्षका थिए। अहिले जेठा छोराले विवाह गरिसकेका छन्।

उनकी ६ वर्षीया छोरी छन्। नाबालक अवस्थामा रहेका छोराहरु छाडेर हिँडेकी पार्वती घर जान पाउँदा निकै खुसी देखिन्थिन्। तेह्र वर्षसम्म सडक, चौपारी, पाटीपैवामा कष्टपूर्ण जीवन बिताएकी पार्वती अन्तत परिवारको सहारामा पुगिन्। श्रीमान् पूर्णबहादुर माझी  श्रीमती घर आउँदा औधी खुसी भएका छन्। पार्वतीको आगमनले परिवारका सबै सदस्यका आँखाबाट आँशु बगिरहेकाे थियाे। “अब आमाको विशेष रेखदेख गरी पालनपोषण गर्छौं” बुहारी अल्काले भनिन्, “आमा आउँदा घरै उज्यालो भएको छ।”

धादिङ सदरमुकाममा होटल व्यवसाय गर्ने उषा श्रेष्ठले सडकमा फालेको फोहर टिपेर खाँदै गरेको देखेपछि केही दिन आफैसँग राखेर पार्वतीको पालनपोषण गरिन्। पछि उनले नवजीवनको जिम्मा लगाइदिइन्। संस्थाले उनलाई धादिङबाट काठमाडौँ ल्याई आश्रममा राख्यो। “उहाँ (पार्वती) ले आफ्नो ठेगाना बताएपछि हामी उहाँको परिवार पत्ता लगाउने क्रममा लाग्यौँ”, समाजका अध्यक्ष दुर्गानाथ दाहालले भने, “पहिले उहाँलाई नलिकनै परिवार भेट्न गयौँ, परिवारको पहिचान भएपछि मात्रै उहाँलाई लिएर सँगै गयौँ।”

पार्वती भेटिएको खबरले गाउँले पनि खुसी भएका छन्। ल्याउने खबर सुनेपछि गाउँले उनलाई हेर्न घरमा भरिभराउ थिए। पुरानो घर भूकम्पबाट  भत्किएर नयाँ घर निर्माण भएकाले सुरुमा त उनलाई चिन्न गाह्रो भयो। पार्वतीको उद्धार गरी घर ल्याउने क्रममा सहयोग गर्ने धादिङका होटल व्यवसायी श्रेष्ठ र काठमाडौँमा बेवारिसे तथा अन्य हिसाबले दुःख पाएकालाई उद्वार गरी आफ्नै आश्रममै लगेर पालनपोषण गर्ने काममा लागेका दाहाललाई परिवारले धन्यवाद दियो। वडा सदस्य तारा माझीले पार्वतीको स्वास्थ्य अवस्था बिग्रिएको र मानसिक  समस्यासमेत रहेकाले औषधि उपचारका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रकाशित: २० पुस २०७७ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App