coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परेवाटारको घर घरमा खानेपानी

सिद्धलेक गाउँपालिका वडा नं ६ परेवाटारमा निर्माण गरिएको धारा ।

खानेपानीका लिनका लागि घण्टौ धाएर डोकोमा बोकेर ल्याउनुपर्ने धादिङको सिद्धलेक गाउँपालिका वडा नं ६ परेवाटारबासीको घरघरमा धारा मार्फत खानेपानी पुगेको छ। परेवाटारकी स्थानीय बिन्दा विसुन्के खानेपानीको जोहो गर्न गरेको दुःख सम्झिदै घरैमा पानी आएपछि खुसी लागेको बताइन्। ‘खानेपानीको जोहो गर्न नै कठिन थियो, त्यहि माथि पानी भर्न जाँदा दलित भएको कारण हेपिनु परेको तितो अनुभव धेरै छन्,’ उनले भनिन्, ‘अहिले घर घरमा पानी आएको छ, खुसी छौँ।’ पानीका लागि एक बिहान नै जाने गरेकोमा अब टाढा पनि जानु नपर्ने, समयको वचत पनि हुने उनले बताइन्।  

उनी मात्र होइन परेवाटारका ६७ वर्षीय नीरबहादुर माझी घरआँगनमा खानेपानी आउँदा खुसी छन्। माझी दुवै आँखा देख्दैनन्। ‘बस्तीमा पानी नहुँदा हिलो धमिलो पानीले दैनिक गुजारा गर्नु गरिरहेका थियौँ,’ माझीले भने, ‘अहिले खानेपानी समितिले कुनै शुल्क नलिई घरमा नै धारा जडान गरि दिनु भएको छ, हामी जस्ता अशक्तलाई धेरै सजिलो भएको छ।’ घरकै धारामा पानी आउँदा भगवान आए जस्तो भएको सुनाए।

अहिले परेवाटार गाउँको ९२ घरमा २४ सै घण्टा स्वच्छ पानीको व्यवस्था छ। घर घरमा खानेपानीपछि अब परेवाटार गाउँ पूर्ण सरसफाइमा अघि बढेको स्थानीय सुरेन्द्र मगरले बताए। परेवाटारको प्रत्येक घरमा भाँडा सुकाउने टाँड बनाउन थालिएको छ भने फोहोर व्यवस्थापनको लागि डस्विन राख्न सुरु गरिएको छ। पहिला खोलाको धमिलो पानी खानु परेकोमा अहिले घर–घरमा स्वच्छ पानी आएकोमा वृद्धा, महिला तथा बालबालिकालाई धेरै सजिलो भएको स्थानीयले बताए। कार्य सम्पन्न भएसँगै परेवाटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सार्वजनिक सुनुवाई समेत गरेको उपभोक्ता समितिका अध्यक्ष केशव थपलियाले बताए।    

घर–घरमा खानेपानीका लागि अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले पुर्णिमा कार्यक्रम अन्तरगत संचालित योजनाबाट सम्भव भएको हो। परेवाटारका ९२ घरमा धारा र एक वटा विद्यालय, एक स्थाई प्रहरी बिट, एक सामुदायिक हलमा गरि ९५ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ। प्रयास नेपाल धादिङको ७२ लाख ३६ हजार ४ सय ७२ रुपैयाँ, सिद्धलेक गाउँपालिकाको ७ लाख रुपैयाँ र स्थानीय उपभोक्ताबाट जनश्रमदान ३८ लाख १४ हजार ३ सय ७२ रुपैयाँ समेत गरि १ करोड १७ लाख ५० हजार ८ सय ४४ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए।  

सबै घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य अनुसार प्रयास नेपालसँग समन्वय तथा सहकार्यमा परेवाटारमा  खानेपानी योजना संचालन गरिएको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताए। ‘घरघरमा नै धारा निर्माण भएपछि पानी लिनकै लागि घण्टौँ धाउनुपर्ने बाध्यता हटेको छ भने महिलाको कार्यबोझ समेत कम भएको छ,’ अध्यक्ष सिलवालले भने, ‘अब नियमित सरसफाई तथा दिगोपनमा सबै मिलेर ध्यान दिनुपर्छ।’ खानेपानीको समस्या भएका ठाउँमा गाउँपालिकाले विभिन्न क्षेत्रसँग समन्वय गरेर घरघरमा धारा मार्फत पानी पुर्‍याएका छन्।

प्रकाशित: १२ पुस २०७७ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App