१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

विभिन्न घटनामा पाँचको मृत्यु

काठमाडौं, चैत ३०- धादिङको दार्खा गाविस-४ कुरी गाउँमा करेन्ट सर्ट हुँदा ६४ वर्षीया मैजु तामाङको करेन्ट लागेर मृत्यु भएको छ भने १४ वर्षीय रवीन तामाङ दुवै खुट्टा जलेर गम्भीर घाइते र अन्य १३ जना सामान्य घाइते भएका छन्।  
बिहीबार बिहान उक्त स्थानमा रहेको १३/१४ वटा घरमा करेन्ट सर्ट भएपछि मेन स्वीच बन्द गर्नेक्रममा उनीहरूलाई करेन्ट लागेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल धादिङमा लगिएको छ।

त्यसैगरी इलाम चिसापानी-२ स्थित सडकखण्डमा ढुङ्गा अनलोड गरी फर्कने क्रममा मे१ त १२९३ नम्बरको ट्याक्टरमा मजदूरी काम गर्ने बर्दिया जिल्ला मेवालापुर-४ का १७ वर्षीय तिलक ठकुरीले हिजो बेलुकी बिजुलीको तार छुँदा करेन्ट लागेर मृत्यु भएको छ।

यसैगरी चुरोट खाई फालेको ठुटोबाट आगलागी हुँदा धनुषा रघुनाथपुर-८ बस्ने ८० वर्षीय लक्ष्मण ठाकुरको जलेर मृत्यु भएको छ। बिहीबार बिहान शौचालय जानेक्रममा घरनजिकै रहेको परालको थुप्रोमा निजले चुरोट खाई फालेको ठुटोबाट परालमा आगलागी भएको र निभाउन जाँदा उनको जलेर मृत्यु भएको छ।

यसैगरी पर्वतको पाखापानी-५ सिम्ले भन्ने स्थानमा ७५ वर्षीया कौसल्या नेपालीको आगोले जलेर मृत्यु भएको छ। हिजो अपराह्न बच्चाहरूले आगो खेलाउनेक्रममा अचानक आगलागी भएर उनीसहित चारवटा टिनले छाएको घर, तीनवटा फुसले छाएको घर तथा नौवटा कुसले छाएको गोठ जलेर क्षति भएको थियो।
यसैबीच खोटाङ फेदी-६ मा हिजो बेलुकी चट्याङ लागेर खरङ्ग-५ का १८ वर्षीय दीपेन्द्र राईको घटनास्थलमै मृत्यु भएको छ। चट्याङले लागेर अन्य नौ जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा लगिएको छ। घाइतेमध्ये ४६ वर्षीया कुन्ताकुमारी अधिकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
यसैगरी ओखलढुङ्गा दियाले गाविस-७ का ३५ वर्षीय लक्ष्मीप्रसाद घिमिरेको घरमा हिजो बेलुकी नै चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको छ। रासस

प्रकाशित: २९ चैत्र २०६९ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App