रसुवाको तीनवटा गाउँपालिकामा बिहीबार विद्युत् सेवा बन्द भएको छ। जिल्लाको उत्तरगया, कालिका र नौकुण्डमा दिनभर विद्युत् सेवा ठप्प भएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।
समुन्द्रटार–त्रिशूली ३ बि हब १३२ केभी प्रसारण लाइन आयोजनाको स्ट्रिन्जिङको काम सुरु गरिएकाले बिहीबारका लागि विद्युत् सेवा बन्द गरिएको हो। नुवाकोटको विदुर नगरपालिका–७ तुप्चेमा पर्ने एपी १३ र एपी १४ नम्बरको क्रसिङमा पर्ने ११ केभी लाइनमा कन्डक्टर स्ट्रिन्जिङको लागि फिडर सटडाउन गरिएकाले विद्युत् सेवा बन्द भएको केन्द्रले जनाएको छ।
केन्द्रले दिएको जानकारी अनुसार बिहीबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ। जिल्लाको पाँचवटा गाउँपालिकामध्ये गोसाइँकुण्ड र आमाछोदिङ्मोमा भने विद्युत् सेवा बन्द भएको छैन।
प्रकाशित: ९ पुस २०७७ ०६:३२ बिहीबार





