आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको विषयमा जिल्ला सरकारी वकिल कार्यालयले पुनरावेदन गर्ने भएको छ। सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न माग गर्दै निवेदन दिए पनि आरोपित पक्षको मात्र बयान सुनेर एकतर्फी सुनुवाइकै आधारमा फैसला गरेपछि पुनरावेदन गर्ने तयारी गरेको हो। जिल्ला न्यायाधीश अर्जुनकुमार कोइरालाको इजलासले बलात्कारजस्तो जघन्य अपराधका आरोपित, त्यसमाथि सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको १० दिनमै सफाइ दिएको थियो। जिल्ला अदालतले अभियोग दाबी पुष्टि हुने प्रमाण नपुगेकाले गर्दा सफाइ दिएको ठहर गरेको छ।
अदालतको तल्लो निकायबाट भएको फैसला चित्त नबुझे माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार हुन्छ। फैसलाको पूर्ण पाठ बढीमा १५ दिनभित्र आइसक्ने अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुल निरौलाले फैसलाको पूर्ण पाठ आएपछि अध्ययन गरेर पुनरावेदन गर्ने बताए। ‘फैसलाको पूर्ण पाठ आउन अब केही दिन लाग्ला,’ उनले भने, ‘त्यसपछि पुनरावेदन गरिनेछ।’ अदालतको तल्लो निकायबाट भएको फैसला चित्त नबुझे माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार हुन्छ। फैसलाको पूर्ण पाठ बढीमा १५ दिनभित्र आइसक्ने अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए। उनले सरकारी वकिल कार्यालयबाट पेसी सार्न निवेदन आए पनि बेन्चले नमानेपछि सार्न नसकिएको बताए।
‘निवेदन आएको कुरा श्रीमान्लाई देखाइदिएकै हौं,’ उनले भने, ‘श्रीमान्ले मुद्दा टुंग्याउनुपर्छ, हामीले भन्ने कुरा केही रहेन।’ सिद्धबाबाले आफूलाई छाड्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि महान्यायाधिवक्ता कार्यालयमा पठाएको मुद्दाको मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा फिर्ता नभएपछि पेसी सार्न माग गरिएको थियो।
जिल्ला अदालतको फैसलाप्रति महान्यायाधिवक्ता कार्यालयले पनि गम्भीर आपत्ति जनाएको छ। महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेटेर आपत्ति जनाएका हुन्। पीडित महिलाले पनि प्रधानन्यायाधीशको सचिवालयमा पुगेर न्यायका लागि याचना गरेकी छन्।
गिरीले आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको घटनामा सुरुमा २०७६ कात्तिकमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको थियो। प्रहरीले कृष्णदासलाई पक्राउ गरेर अनुसन्धान थाले पनि उनी बिरामी भएको बहाना गरेर विराट नर्सिङ होम विराटनगरमा भर्ना भए। उनी अस्पतालमै भएका बेला तत्कालीन जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिए। त्यस आदेशउपर जिल्ला सरकारी वकिलको कार्यालयले अघिल्लो वर्षको पुस २२ गते उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो। जसमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले कृष्णदासलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। उच्च अदालतले गर्ने आदेशकै दिन उनी आफ्ना सुरक्षा गार्डलाई जोगबनी छेउमा छाडेर भारत भागेका थिए। पछि अदालतमा हाजिर भएर क्षेत्रीय कारागार झुम्कामा चलान गरिएको थियो। पछिल्लो समय उनले सर्वोच्च अदालतमा आफूलाई छाड्नुपर्ने माग राखेर निवेदन दिएका थिए।
मुद्दा उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेको थियो। सर्वोच्च अदालतले शुक्रबार कृष्णदासलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश गरेको थियो। न्यायाधीशहरू आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्च अदालत विराटननगरको आदेश सदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको हो। ‘पीडितको किटानी जाहेरी, अतिरिक्त मौका गरेको कागज, वारदात स्थान, समय हेर्दा पीडित प्रतिवादीको आश्रममै रहेको तथ्य, पीडित र प्रतिवादीबीच भएको मोबाइलको म्यासेजबाट देखिएको सामीप्य, अडियो म्यासेजको प्रामाणिकता प्राविधिक जाँचबाट पुष्टि भएको,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘प्राप्त प्रमाणका आधारमा निज अहिले नै निर्दोष रहेछन् भन्न सकिएन।
बराह क्षेत्रलाई धार्मिक तीर्थस्थलका रूपमा विकास गर्दै हरित क्रान्ति, आयुर्वेद, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडीबुटी प्रशोधन र उत्पादन गर्ने बहानामा चतरामा आश्रममा बस्दै आएका गिरी बलात्कार काण्डअघि पनि थुप्रै विवादमा पर्दैै आएका थिए। त्यसो त गिरीले दुई वर्षअघि इटहरीको बालग्रामका दुई बालिकालाई पठनपाठनको व्यवस्था मिलाइदिने भनी अभिभावकको स्वीकृतिमा आश्रममा लगेका थिए। तर उनीहरू आश्रममा गएको केही महिनापाछि बस्न मानेनन्। बालिकाले यौन दुव्र्यवहारकै कारण बस्न नमानेको ठहर त्यतिबेला गरिएको थियो। त्यसपछि सञ्चालक समितिका पदाधिकारीसँग गिरीले भारतमा लगेर पढाए आफूले सहयोग गर्ने वचन दिए। गिरीकै योजनाअनुसार उनीहरूलाई भारतमा पढाउन लगिएको थियो। त्यो घटना मिलाउन स्थानीय राजनीतिक दलका नेता र सामाजिक अगुवासमेत सक्रिय भएका थिए।
गिरीले दुईवटा नेपाली नागरिकता लिएको खुलेको छ। सोलुबाट कृष्णबहादुर गिरीको नाममा झिकेको नागरिकतामा जन्म मिति २०३० मंसिर १० गते लेखिएको छ। चतरामा बस्न थालेपछि उनले २०६५ पुस १७ गते सुनसरीबाट श्री वैष्णव कृष्णदासका नाममा नागरिकता लिएका छन्। दुवै नागरिकतामा जन्मस्थान जुबु सोलु र बुबाको नाम भने छविलाल गिरी नै उल्लेख छ। अन्य विवरण भने फरक छन्। दुईवटा नागरिकता लिएको विषयमा चार वर्षअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरीसमेत परेको थियो। त्यतिबेला उजुरी परेको तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले पुष्टि गरेका थिए।
२०६८ सालमा कृष्णदासले आफन्तसहितका १० नेपालीलाई अवैध बाटोबाट सिंगापुर पठाइदिने भन्दै भारतीय एजेन्टहरूको सहयोगमा दिल्ली पुर्याएका थिए। दिल्लीमा लगेर उनले ती सबैलाई केही दिनसम्म अलपत्र पारी तालिमका नाममा सिंगापुर जान दबाब दिइएको थियो। गिरीको कनेक्सन देशका शीर्ष व्यक्तित्व, हिन्दु धर्मवालम्बीसँग मात्र नभएर कूटनीतिक नियोगका प्रमुखसँग समेत रहेको छ। राष्ट्रपति, प्रधानमन्त्री, उच्च ओहोदाका कर्मचारी, नेता, मन्त्री र भारतीय अधिकारीलाई समेत प्रभावमा पार्न सक्षम उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई त दुईपटक डाकेका थिए।
उनले सुरुवातमा वैष्णव कृष्णदास महाराज भनेर चिनाउने गर्थे। पछिल्लो समय सिद्धबाबा जगतगुरु कृष्णदासजी महाराजका रूपमा चिनिँदै आएका थिए। तर उनको आधिकारिक योग्यता र पहिचान के हो भन्ने नजिकका अनुयायी पनि बताउन सक्दैनन्। उनी आफूले आधिकारिक रूपमा अध्ययन गरेको कुनै पनि विषयको प्रमाणपत्र पनि सार्वजनिक गर्न चाहन्नन्।
प्रकाशित: २५ मंसिर २०७७ ००:४४ बिहीबार





