१ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

४० वर्ष पुरानो सिटी हल भत्काइयो, पार्किङसहित नयाँ भवन बन्ने

झण्डै ४० वर्ष पुरानो ताप्लेजुङको फुङलिङस्थित सामुदायिक भवन र जिल्ला समन्वय समितिका पदाधिकारीको आवास कक्ष भत्काएर मंगलबारदेखि बहूद्देश्यीय सामुदायिक भवन निर्माण कार्य सुरु भएको छ। 

क्रमागत योजना अन्तरगत आगामी एक वर्षभित्र भुईँतलामा पार्किङ केन्द्र निर्माण तथा त्यसभन्दा माथि एक तलामा पिलर सहितको ढलान समेत हुनेछ। मंगलबार जिल्ला समन्वय समितिले पत्रकार सम्मेलनमार्फत बहूद्देश्यीय सामुदायिक भवन निर्माणको कार्यका बारेमा जानकारी गराएको हो। 

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाका अनुसार बहूद्देश्यीय भवन पार्किङ, सामुदायिक, प्रशासनिक र आवासीय सहितको ४ तलाको हुनेछ। नेपाल सरकारको सघन सहरी तथा भवन भवन निर्माण आयोजना झापा (अहिले पाँचथरमा हस्तान्तरण भएको) ले बहुवर्षे योजना अन्तरगत चालु आर्थिक वर्षमा कुल ५ करोडको ठेक्का आह्वान भएकोमा केवी जेएनएस जेभी भक्तपुरले भ्याट र पिएस बाहेक ३ करोड २५ लाख १८ हजार ४५७.९० पैसामा ठेक्का पाएको हो। कम्पनीका प्रतिनिधि टंक खतिवडाका अनुसार २०८२ साल असार १९ गते सम्झौता भएको योजना २०८३ साल असार १८ गते भित्र पूरा हुनेछ।

‘हामी सम्झौता अवधि भन्दा अघि नै जिम्मेवारी अनुसारको कार्य पूरा गरी योजना नियामक निकायलाई बुझाउने छौँ’ निर्माण कार्य निर्धारित मितिमै पूरा गर्नुपर्ने सर्त राखेका नगरप्रमुख अमिर मादेनलाई जवाफ दिदैँ निर्माण कम्पनीका प्रतिनिधि खतिवडाले भने, ‘यो योजना निर्धारित मिति भन्दा अघि नै पूरा गरी प्रशंसापत्र लिएर जाने योजना छ’। 

सघन सहरी तथा भवन भवन निर्माण आयोजनाका प्राविधिक खगेन्द्र खतिवडाका अनुसार ग्राउण्ड फ्लोरमा १८ वटा जीप, कार र बाइक पार्किङ गर्ने स्थल हुनेछ। भुइँतलामा एक स्टोर रुम र गार्ड हाउस समेत हुनेछ। सामुदायिक हलमा कम्तीमा ५ सय जना अट्ने क्षमताको सामुदायिक भवन गरी डीपीआर तयार समेत भएको सघन सहरी तथा भवन भवन निर्माण आयोजनाले जनाएको छ। 

ग्राउण्ड फ्लोर पूरा गरेर दोस्रो तल्लाको पिलर सहितको ढलान कार्य पूरा भएपछि चालु आर्थिक वर्षको निर्माण कार्य पूरा हुने निर्माणको जिम्मेवारी पाएको कम्पनीका प्रतिनिधिले जनाएका छन्। जिल्ला समन्वय समिति प्रमुख लामाका अनुसार बहूद्देश्यीय उक्त भवनमा जिल्लाका ९ स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सदरमुकाम आउँदा बस्न मिल्ने कक्ष समेत उक्त भवनमै बनाइने योजना रहेको छ। 

पञ्चायत रजत जयन्ती २०४२ को अवसरमा निर्माण सुरु गरी २०४३ साल माघ २८ गते तत्कालीन वाणिज्य मन्त्री विजयप्रकाश थेबेले उद्‌घाटन गरेको सामुदायिक भवन झण्डै ४० वर्ष पछि भत्काइएको हो। लिफ्ट र भर्‍याङ समेत हुने उक्त भवनमा रहेको ढुङ्गामध्ये ३ सय २० घनमिटर नयाँ भवनका लागि प्रयोग गरिने छ। 

पुरानो भवनका बाँकी सामग्री (ढुङ्गा,काठ,टिन,फलाम) निर्माण कम्पनीले निर्माण स्थलको एक किलोमिटर टाढा रहेको स्थलमा भण्डारण गर्ने योजना मिलाउने छ। भण्डारण कक्षको व्यवस्थापन जिल्ला समन्वय समितिले गरी पछि लिलाम बिक्री गर्ने जिल्ला समन्वय अधिकारी डम्बरबहादुर जिसीले जानकारी दिए। भवन निर्माण कार्य सुरु गर्न यसअघि २०७४ र २०७९ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईसहितका जनप्रतिनिधिको पहलमा पटक–पटक छलफल र सम्बन्धित निकायमा पैरवी समेत भएको थियो।

प्रकाशित: १९ कार्तिक २०८२ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App