७ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, १०६ जना घाइते

देशभर पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन्। प्रहरीका अनुसार गण्डकी प्रदेशमा दुई जना र बागमती प्रदेशमा दुई जनाको मृत्यु भएको हो। लुम्बिनीमा ३१, काठमाडौं उपत्यकामा २५, मधेशमा २२, कोशीमा १६ र गण्डकीमा एक जना घाइते भएका छन्। 

दुर्घटनामा मृत्यु हुनेमध्ये कास्कीमा एक, नवलपरासी (पूर्व) मा एक तथा चितवनमा दुई जना रहेका छन्। कास्कीको पोखरा महानगरपालिका १६ लामागाउँमा शुक्रबार अपराह्न करिब ४ बजे मोटरसाइकल अनियन्त्रित भई सडकछेउको विद्युत् पोलमा ठोक्किएपछि विपरीत दिशाबाट आएको बसमा समेत ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २९ वर्षीया रुपा विक गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेका थिए। 

त्यस्तै, नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका ३ महेश खोलानजिक कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा करिब ४० र ४२ वर्षीय हिराबहादुर सारुको मृत्यु भएको छ। बुलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको मोटरसाइकल चालकले उकालोमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते सारुलाई उपचारका लागि भरतपुर पठाइएकोमा राति चिकित्सकले मृत घोषणा गरेका थिए।  

चितवनको भरतपुर महानगरपालिका ९ तरकारीचोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक सलाही ब्रह्मपुरी गाउँपालिका ८ का २३ वर्षीय महेबुब रजा र मोटरसाइकलमा पछाडि सवार महोत्तरी गौशाला नगरपालिका ५ की ३३ वर्षीया अजिमा प्रविनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ७ भाद्र २०८३ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App