अमेरिका र क्यानडाबीच महिनौंदेखि चलिरहेको व्यापार वार्ता अन्ततः असफल भएको छ। वार्ता विफल भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले ‘अमेरिकाको एउटा राज्य नभई पनि त्यसको सबै फाइदा लिन खोजेको’ आरोप लगाएका छन्।
उता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडालाई ‘चोट पुर्याउन र विभाजित गर्न’ नयाँ भन्सार शुल्क लगाएको भन्दै दुवै देश अहिले व्यापार युद्धमा प्रवेश गरेको घोषणा गरेका छन्।
शुक्रबार राति व्यापार सम्झौता हुन नसकेपछि ट्रम्पले पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै क्यानडाले अमेरिकाबाट ‘विशेष सुविधा’ लिन खोजेको तर त्यसका लागि आवश्यक जिम्मेवारी लिन नचाहेको टिप्पणी गरे। उनले अमेरिकी किसानमाथि क्यानडाले वर्षौंदेखि अत्यधिक कर लगाएको दाबी पनि गरे।
यता, प्रधानमन्त्री कार्नीले अमेरिकाले लगाएको नयाँ ५० प्रतिशत भन्सार शुल्कलाई ‘गलत गणना’ को संज्ञा दिँदै यसको उद्देश्य क्यानडालाई कमजोर बनाउनु रहेको बताए।
उनले सेप्टेम्बर ८ देखि अमेरिका बराबरकै प्रतिशोधात्मक शुल्क लागू गर्ने घोषणा गरेका छन्। नयाँ क्यानेडियन शुल्क स्टील, दुग्धजन्य पदार्थ, औद्योगिक उपकरण तथा इलेक्ट्रोनिक सामग्रीलगायतका अमेरिकी वस्तुमा लागू हुनेछ।
‘उनीहरूले धेरै मागे र धेरै कम प्रस्ताव गरे। जब तपाईंमाथि आक्रमण हुन्छ, तपाईं युद्धमा हुनुहुन्छ। हामीमाथि आक्रमण भएको छ’, शनिबार राष्ट्रलाई सम्बोधन गर्दै कार्नीले भने।
उनले क्यानडाले आफ्नो राष्ट्रिय हितविपरीत कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पारे। ‘हामी उनीहरूले प्रस्ताव गरेको कुरा स्वीकार गर्न सक्दैनौं, र उनीहरूले मागेको सबै कुरा पनि दिन सक्दैनौं’,उनले भने।
अन्तिम समयमा वार्ता बिग्रियो
हप्ताको सुरुसम्म दुवै पक्ष सम्झौता हुनेमा आशावादी देखिएका थिए। तर अन्तिम समयमा दुवै देशले एकअर्कालाई सहमत भएका सर्त परिवर्तन गरेको आरोप लगाएपछि वार्ता विफल भयो।
वार्ता असफल भएसँगै अमेरिकाले क्यानडाली सामानमा नयाँ ५० प्रतिशत भन्सार शुल्क लागू गरेको छ। यसअघि नै स्टील, आल्मुनियम, अटोमोबाइल र काठमा उच्च कर लागिरहेको अवस्थामा थप नयाँ शुल्कले व्यापार सम्बन्धलाई अझ तनावपूर्ण बनाएको छ।
नयाँ शुल्कले करिब २० अर्ब अमेरिकी डलर बराबरका क्यानडाली वस्तु प्रभावित हुनेछन्, जुन क्यानडाबाट हुने कुल अमेरिकी आयातको करिब पाँच प्रतिशत हो। यसमा वाइन, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा तथा हक्की उपकरणसमेत समावेश छन्।
कार्नीले क्यानडाले ‘अनिच्छुकताका साथ’ प्रतिकारात्मक कदम चाल्नुपरेको बताउँदै त्यससम्बन्धी विस्तृत विवरण केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिए।
वार्ता किन असफल भयो ?
प्रधानमन्त्री कार्नीका अनुसार अमेरिकाले अन्तिम समयमा अत्यन्त कडा र अस्वीकार्य सर्तहरू अघि सारेको थियो। तीमध्ये क्यानडाले भविष्यमा अन्य देशसँग स्वतन्त्र व्यापार सम्झौता गर्न नपाउने व्यवस्था पनि समावेश थियो।
‘ती सर्तहरू अत्यन्त प्रतिबन्धात्मक थिए र क्यानडाको सार्वभौमिक व्यापार नीतिमाथि हस्तक्षेप गर्ने खालका थिए’, उनले भने।
अमेरिकी पक्षले भने क्यानडाले पहिले सहमति जनाएका बुँदाबाट पछि हट्दै नयाँ माग राखेको आरोप लगाएको छ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले शनिबार फक्स न्यूजसँग कुरा गर्दै तत्काल वार्ता पुनः सुरु गर्ने कुनै योजना नरहेको बताए। उनले अमेरिका केही कर घटाउन तयार भए पनि अन्ततः सम्झौता हुन नसकेको बताए।
क्यानडाभित्र व्यापक राजनीतिक समर्थन
व्यापार विवादका विषयमा क्यानडाका प्रमुख राजनीतिक दलहरू प्रधानमन्त्री कार्नीको पक्षमा उभिएका छन्।
विपक्षी कन्जरभेटिभ नेता पियरे पोइलिभ्रेले नयाँ अमेरिकी शुल्कलाई ‘अन्यायपूर्ण’ भन्दै सरकारको समर्थन गरेका छन्।
ओन्टारियोका प्रिमियर डग फोर्डले ट्रम्पलाई ‘विश्वास गर्न नसकिने’ नेता भनेका छन्।
ब्रिटिश कोलम्बियाका प्रिमियर डेभिड एबीले अमेरिकाको प्रस्ताव स्वीकार गरेको भए क्यानडा आर्थिक रूपमा ‘५१औँ अमेरिकी राज्य’ सरह बन्ने चेतावनी दिए। ‘त्यो क्यानेडियालीहरूका लागि कहिल्यै स्वीकार्य हुने थिएन’,उनले भने।
क्युबेककी प्रिमियर क्रिस्टिन फ्रेचेटले नयाँ शुल्कका कारण हजारौं रोजगारी जोखिममा पर्ने चेतावनी दिँदै प्रभावित उद्योगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘यी संख्याहरूको पछाडि वास्तविक मानिसहरूको जीवन जोडिएको छ’,उनले भनिन्।
अल्बर्टाकी प्रिमियर डेनियल स्मिथले भने दुवै देशलाई पुनः वार्ताको टेबलमा फर्किन आग्रह गरेकी छन्।
ट्रम्पको व्यापार नीति विवादमा
विदेशी आयातमा उच्च भन्सार शुल्क लगाउने नीति ट्रम्प प्रशासनको प्रमुख आर्थिक रणनीति रहँदै आएको छ। ट्रम्पले यसबाट अमेरिकी उद्योग संरक्षण हुने, उत्पादन बढ्ने र रोजगारी सिर्जना हुने दाबी गर्दै आएका छन्।
तर आलोचकहरूका अनुसार उच्च शुल्कले अमेरिकी उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थप्नुका साथै विश्वव्यापी आपूर्ति शृंखला र अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ।
व्यापार वार्ता असफल भएपछि उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताको भविष्य पनि अन्योलमा परेको छ।
क्यानडा, अमेरिका र मेक्सिकोबीच लागू रहेको यो सम्झौताले वार्षिक करिब १.६ ट्रिलियन अमेरिकी डलर बराबरको त्रिपक्षीय व्यापारलाई आधार प्रदान गर्दै आएको छ।
यो सम्झौता ट्रम्पले आफ्नो पहिलो कार्यकालमा १९९४ को नाफ्टा सम्झौताको स्थानमा लागू गरेका थिए।
यस वर्षको सुरुमा क्यानडा र मेक्सिकोले सम्झौतालाई थप १६ वर्षका लागि नवीकरण गर्न औपचारिक प्रस्ताव गरेका थिए। तर अमेरिकाले हालकै अवस्थामा सम्झौता नवीकरण गर्न अस्वीकार गरेको थियो।
व्यापार वार्ता विफल भएपछि सम्झौताको भविष्यबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री कार्नीले ‘यो पक्कै पनि राम्रो संकेत होइन’ भन्दै तीन देशबीचको व्यापारिक सम्बन्ध थप जटिल बन्न सक्ने संकेत दिएका छन्।
प्रकाशित: ७ भाद्र २०८३ १२:२३ आइतबार





