२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राजपुर बम काण्ड : यसरी पक्राउ परे महताब आलम

राजपुर बम कान्डका मुख्य योजनाकार मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले पुर्पक्षका लागि जेलमा रहेका नेपाली कांग्रेसका नेता तथा सांसद महम्मद आफताब आलमका भाइ महम्मद महताब आलमलाई पक्राउ गरेको हो।

पक्राउ परेका आलम चर्चित बम कान्डका मुख्य योजनाकार रहेको मानिन्छन्। प्रदेश प्रहरी कार्यालयको टोलीले सोमबार बिहान बौद्धिमाई नगरपालिका वडा नम्बर ७ बडकी बंकुल एरियाबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसार्इँले जानकारी गराएका छन्।  

प्रहरीले आलमलाई बडकी बंकुल एरियाबाट पक्राउ गरेको बताए पनि आलम लामो समयदेखि भारत बिहारको मोतिहारीमा बस्दै आएको र भारतीय प्रहरीको सहयोगमा आलमलाई मोतिहारीबाटै पक्राउ गरिएको स्रोत बताउँछ।  

पक्राउ परेका महताब आलमकै नेतृत्वमा राजपुरमा बम बनाउने काम भइरहेको थियो। संविधान सभाको निर्वाचनमा धाँधली गरी बुथ कब्जा गर्न र महम्मद आफताब आलमलाई जसरी पनि चुनाव जिताउन पक्राउ परेका आलमले नेपाल तथा भारतको विभिन्न ठाउँबाट बम बनाउन सक्ने मानिसको खोजी गरी ल्याएका थिए र आफ्नै नेतृत्वमा सामानहरु जुटाइ बम बनाउने काम पनि गरेका थिए। २०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा बिस्फोट भएको थियो। तत्कालीन राजपुर फरहदवा गाविस वडा नम्बर ४ हालको राजपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका चर्चित नेता शेख इद्रिशको गोठघरमा बिस्फोटक पदार्थहरु राखी बम बनाउने क्रममा भएको बिस्फोटमा केही मानिसको घटनास्थलमै मृत्यु भएको थियो भने केही घाइते भएका थिए।

बम बनाउने योजनाको नेतृत्व गरेका आलमले रौतहटको सरुअठाका पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुतसमेत घाइते भएका १६ जनालाई ट्रयाक्टरमा लोड गरी नजिकैको इँटा भटामा जिउँदै जलाएका थिए। घटनामा मृत्यु भएका तीन जनालाई पनि आलमले इँटा उद्योगमा जलाउन लगाएका थिए।

इँटा उद्योगका मुख्य मिस्त्रीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका मिस्त्रीले पनि महम्मद महताब आलमले नै घाइते तर जिउँदै मानिसलाई भट्टीमा जलाउन लगाएको बयान दिइसकेका छन्। घटनामा पक्राउ परेका चार अभियुक्तहरुले अहिलेसम्म सांसद महम्मद आफताब आलमको निर्देशनमा महम्मद महताब आलमले नै इँटा भट्टीमा मानिसलाई जिउँदै पोल्न लगाएको बयान दिइसकेका छन्।  

घटनाको सबै प्रमाण नष्ट गर्ने क्रममा महम्मद महताब आलमले बम विस्फोट भएको घरलाई पनि राती नै मरम्मत गरी पुरानै जस्तो बनाउन लगाएका थिए। घटनाबारे जानकारी पाएका संचारकर्मी तथा मानव अधिकारकर्मीलाई महताब आलमकै नेतृत्वले रोकेको थियो।

पक्राउ परेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा महम्मद महताब आलमले आफ्नो दाइ मोहम्मद आफताब आलमको निर्देशनमा घटना लुकाउने उदेश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरुलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।  

सांसद महम्मद आफताब आलमको सम्पूर्ण अपराधको ढाकछोप सोमबार पक्राउ परेका आलमले नै गर्दै आएको र सांसद आलमले अपराधको संरक्षण दिने गरेको आरोप जनता सामाजवादी पार्टीका नेता किरण साहले लगाएका छन्।  

तत्कालीन नेकपा एमालेबाट संविधान सभा सदस्यको उम्मेदवार रहेका शैलेन्द्र साहले पक्राउ परेका आलमको नेतृत्वमा बुथ क्याप्चर गर्ने मानिसको खोजी तथा संरक्षण हुने गरेको,  बम बनाउने मानिस आउने गरेको र बम तथा बन्दुक जस्ता हतियारको प्रयोग हुने गरेको  र अपराधीहरुको संरक्षण हुने गरेको आरोप लगाएका छन्। पक्राउ परेका आलमकै भरमा आलमले अपराध गर्ने तथा लुकाउने गरेको आरोप साहले लगाएका छन्।  

पक्राउ परेका आलमको कोरोना परीक्षण गरी अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला अस्पताललाई कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न सोमवार नै लेखि पठाएको र रिपोर्ट आउनासाथ आलमलाई अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाहले जानकारी गराएका छन्।  

 

 

प्रकाशित: २२ मंसिर २०७७ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App