१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

परिवारकै संलग्नतामा युवती बेपत्ता

बेपत्ता पारिएकी युवती पुष्पा चौधरी।

लैगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला परिवारबाटै एउटी युवतीलाई बेपत्ता पारिएको छ। परिवारको इच्छाविपरीत विवाह गरेकी भन्दै पुष्पा चौधरीलाई माइती पक्षले घरमा गएर कुटपिट गरी बलजफ्ती ल्याएर गायब गराएको जनाइएको छ। चार महिनाकी गर्भवतीसमेत रहेकी उनलाई एक सातादेखि गायब पारिएको हो।

परिवारले स्वीकृति नदिएपछि पुष्पाले कञ्चनपुरको महराजगन्ज नगरपालिका–५ का २७ वर्षीय दिनेशप्रसाद कुर्मीसँग गत साउन १८ गते अदालती प्रक्रियाबाट विवाह गरेकी थिइन्। शिवराजन नगरपालिका–१३ बेउवा माइतीघर भएकी पुष्पाको दिनेशसँग लामो समयदेखि प्रेम सम्बन्ध थियो। उनीहरूले गत असार १६ गते मन्दिरमा समेत विवाह गरेका थिए। सो प्रेम सम्बन्ध र विवाहको विरुद्धमा रहेको माइती पक्षका ८÷१० जनाले मंसिर ७ गते साँझ घरमा अभिभावक नभएको मौका छोपेर पुष्पालाई लछारपछार पारी जबर्जस्ती मोटरसाइकलमा लगेको दिनेशकी भतिजी प्रत्यक्षदर्शी दिनु चौधरीले बताइन्।

‘गाउँमा पूजा थियो। घरमा म र काकी मात्रै थियौं,’ दिनुले भनिन्, ‘काकीको माइती पक्षका मान्छेहरू लाठी लिएर आएका थिए। उनीहरूले हामी दुवैलाई लछारपछार पारेर पिटे,’ उनले भनिन्। उनीहरूले पुष्पालाई जबर्जस्ती मोटरसाइलमा राखेर लगेको दिनुको भनाइ छ। कुटपिटबाट दिनुको मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनले घटना गराउनेहरूमध्ये पुष्पाका बुवा काशीराम चौधरी र अन्यमा उमेश चौधरी, शैलेश चौधरीलाई आफूले चिनेको बताएकी छन्।

विवाहपछि दिनेश–पुष्पा दुई महिनाजति बुटवलमा लुकेर बसेका थिए। बुटवलबाट फर्केर केही समय कपिलवस्तु नगरपालिका–९ निग्हिवास्थित आफ्नै ठूलाबाको घरमा लुकेर बसे। घरमा बोलाएपछि उनीहरू कात्तिक अन्तिम सातातिर फर्केका थिए। घरमा आएपछि पुष्पाले माइती पक्षले धम्काउने गरेको भन्दै शान्तिसुरक्षाको माग राखी गत कात्तिक १७ गते प्रशासन कार्यालयमा निवेदनसमेत दिएका थिए। आफ्नी गर्भवती पत्नीलाई बलजफ्ती माइती पक्षका परिवारले लगेर कुटपिट गरी घरमै लुकाएर राखेको दिनेशको दाबी छ। ‘हामी दुवैले मर्जीले नै मन्दिर र अदालत विवाह गरेका थियौं तर पत्नीको माइती पक्षले यस्तो घटना गरायो हो,’ उनले भने।

गैरकानुनी रूपमा आफ्नी पत्नीलाई थुनेर राखेको र पत्नीलाई उपलब्ध गराइदिन भन्दै दिनेशले पाँचजनाविरुद्ध अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दासमेत दिएका छन्। काशीराम, राजेश, उमेश, शैलेश र प्रेम चौधरीविरुद्ध उनले मुद्दा दिएका हुन्। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुखदेव पौडेलले घटना अदालती प्रक्रियामा गइसकेकाले उतैबाट टुंगो लाग्ने बताए।

प्रकाशित: १६ मंसिर २०७७ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App