सप्तकोशी पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झन्डै तीन किलोमिटर वालुवै वालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ। पछिल्लो समय सप्तकोशीको वराहक्षेत्रमा पुल निर्माण भएपछि वेलका नगरपालिकाको रामपुर बजार पुगेर दक्षिणसम्म यातायातको पहुँच भएकाले गर्दा सहजै पुग्न सकिन्छ। आँखाले देखिने क्षितिज भन्दा निकै टाढासम्म फैलिएको वलौटो माटोको टापुमा छरपष्ट कच्ची घरहरु छन्। जताततैबाट हिड्न सकिन्छ, जहाँ बाटाहरु छैनन्।
यहाँ केही समयअघिसम्म बिजुलीको पोल देखिदैन्थ्यो। प्रविधिको नाममा गाउँका धेरैको हातमा मोबाइल थियो। तर, मोबाइल चार्ज गर्न धेरैले सोलार जडान गरेका थिए। अझ छ–सात वर्षअघि त मोबाइलको व्याट्री चार्ज गर्न उनीहरुले करिव तीन किलोमिटर टाढाको प्रकाशपुर नाउँ चढेर आउने गर्थे।
लोडसेडिङको बेला प्रकाशपुरमै दिनभरी कुर्नुपर्ने वाध्यता पनि थियो गाउँलेलाईं। मोबाइल चार्ज उनीहरुका लागि समय र पैसा दुबै हिसावले महंगो थियो। एक पटक चार्ज गर्दा ५ रुपैयाँ र नाउँ चढेको २० रुपैयाँ तिर्नुपथ्यो अनि दिनभरिको समय खर्चनुपर्थ्यो। अहिले भने विजुली बत्ती पुगेको छ। सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बीचमा अवस्थित रहेको श्रीलंका टापु वस्ती अहिले बराहक्षेत्र वडा नं. ६ र ९ मा पर्छ। यो वस्तीमा बिजुली बत्ती बाल्ने धोको पूरा भएको सुवोध चन्द्रवंशीले बताए। बिजुली बत्ती गाउँमा पुगेपछि अहिले गाउँलेले घरैपिच्छे टिभी राखेका छन् भने गाउँलेको प्रविधिमा पहुँच बढेको छ। ‘बिजुली बत्ती सहज भएपछि अहिले हामी गाउँले आनन्दित भएका छौं,’ सुवोधले भने।
टापुमा सुरक्षाको कुनै संयन्त्र छैन। सुरक्षाको कुनै पूर्वाधार नभएकोले टापु वन्यजन्तु शिकारीका लागि सुरक्षित स्थलको रुपमा चिनिन्छ। स्थानीय पूर्णीदेवी चन्द्रवंशीका अनुसार अब भने बिजुलीको सहजताले गर्दा सुरक्षित महसुस हुन थालेको छ। वन्यजन्तुको आक्रमण पनि कम हुन थालेको छ। पहिला वन्यजन्तुको आक्रमणले गर्दा स्थानीय त्राहीमाम हुने गर्थे।
ग्रामीण विद्युतीकरण परियोजना अन्तर्गत दुई करोड हाराहारी लगानीमा श्रीलंका टापुका बासीन्दाका लागि बिजुली जडान गरिएको हो। नेपाल विद्युत प्राधिकरण इटहरी शाखाका अनुसार तीनपटकको बजेटमा दुई हजार छ सयभन्दा बढी घरधुरीका लागि बिजुली जडान गरिएको हो।
कोशीबाट घेरिएको वस्ती सरकार भन्दा निकै टाढा छ। टापुका मतदाता चुनावका बेलामा भोट हाल्न कोशी पूर्वको प्रकाशपुर र महेन्द्रनगर आउँछन्। भोट हाल्छन् त्यो बाहेकको राज्यसँग अरु धेरै लेनदेन देखिदैन उनीहरुको। सुनसरी ५ नं. क्षेत्रमा पर्दा यो टापुका जनताले दुई दिवंगत नेता, काँग्रेसका गिरिजाप्रसाद कोइराला तथा तत्कालिन एमालेका मनमोहन अधिकारीलाई जिताउन योगदान गरेका थिए। यस्तै, तत्कालिन एमालेका जगदीश कुसियैत अनि संविधासभाको निर्वाचनमा क्षेत्र नं. ६ मा पर्दा तत्कालिन एमालेका भीम आचार्यलाई दुईंपटक जिताउन योगदान गरेका थिए। अहिले क्षेत्र नं. ४ मा पर्ने यो क्षेत्रमा संघीय संसदको रुपमा काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र प्रदेशसभामा नेकपाका तर्फबाट फेरि जगदीस कुसियतलाई जिताउन योगदान गरेका थिए।
‘धेरे अगाडिदेखि श्रीलंका टापुका बासीन्दाका लागि बिजुली बत्तीका लागि पहल भएपनि बल्ल सार्थकता पाएको छ,’ संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने। शनिबार गाउँलेसमक्ष भेटघाट गर्न कार्की पुगेका थिए।
टापुको जीवनयापन कृषी र पशुपालनमा निर्भर छ। कोशीको वहावसँगै यहाँको जीवन र अर्थतन्त्र चलेको अनुभव हुन्छ। एक दशकसम्म अघिसम्म मलिलो मानिने यहाँका खेतहरु अहिले रुखो हुँदै गएका छन्। परवलको राजधानी मानिन्थोे, टापु। अहिले भने परवल फल्दैन्। कोशी नजिकै हुँदा चिस्यान हुन्यो खेतमा बाली नाली सबै राम्रो हुन्थ्यो, आजकल कोशी भागेर निकै पूर्व पुगेपछि जमिन रुखो हुँदा कम उत्पादन हुन्छ। टापुँमा धान फल्दैन, गहुँ, मकै कोदो मुख्य उत्पादन हो।
पाँच दशक अघि कोशीका दुबै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापु थिएन। अहिले कोशी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बीचमा टापु बन्न पुगेको हो।
कोशीको तटबन्ध निर्माणका बेला भारतबाट आएका बंगाली नागरिकको संख्या पनि टापुमा उल्लेख्य छ। जो यही घरजम गरेर नेपाली नागरिक भैसकेका छन्। टापुमा बसोबास गर्ने ऐलानी जग्गामा पाखुरी चलाएर जीन्दगी जीउँने छन्। चन्द्रवशी, उराउ, थारु, यादव, कविरत, मुसहर, कोइरी, खत्वे, सार्की, राई, लिम्बु, वाहुन, क्षेत्री सबै खालेको घर बनेको छ, टापुमा।
प्रकाशित: १४ मंसिर २०७७ १०:२१ आइतबार