coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोशाक नलगाउने कर्मचारी सिंहदरवार छिर्न नपाउने

तोकिएको पोशाक नलगाउने निजामती कर्मचारीहरू अब सिंहदरबार छिर्न नपाउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको पोशाक नलगाउने कर्मचारीलाई सिंहदरबार छिर्न नदिने नियम बनाउने भएको छ। यस्तो नियम आगामी साताबाट लागु हुने संघीय मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। अर्यालले पोशाकले कर्मचारीलाई अनुशासित बनाउने बताए।

निजामती कर्मचारीहरूले हरेक वर्ष पोशाक भत्ताबापत वार्षिक १० हजार रुपैयाँ बुझ्ने गर्छन्। तर आधाभन्दा बढी कर्मचारीहरूले भत्ता बुझे पनि पोशाक लगाउँदैनन्। ‘पोशाक लगाएका कर्मचारीहरू कार्यालय समयमा कार्यालयबाहिर जान या होटल रेष्टुरेष्टमा तथा व्यक्तिगत काममा जान नैतिक रूपमा अप्ठेरो पर्छ,’ संघीय मन्त्रालयका एक उपसचिव भन्छन्, ‘त्यसैले पनि निजामती कर्मचारी सकेसम्म पोशाक लगाउन चाहन्न्नन्।’ माथिल्लो तहका तहका केही कर्मचारीहरू कार्यालय समयभित्रै लोकसेवा आयोगका तयारी कक्षामा पढाउन जाने गरेको छन्। तर पोशाक लगाएर तयारी कक्षामा जान उनीहरूलाई नैतिक संकट पर्छ। यसैगरी तोकिएको पोशाक लगाएमा कर्मचारीलाई कार्यालय समयभित्रै कार्यालयमा जान नैतिक बाध्यता हुन्छ। त्यसैले कर्मचारीहरू पोशाक लगाउन चाँहदैनन्,’ एक उच्च तहका कर्मचारीले भने।

सिंहदरबारमा काम गर्ने कर्मचारीलाई लोकसेवा आयोगको तयारी कक्षामा भाग लिन सजिलो होस भने धेरैजसो तयारी कक्षा सिंहदरबार वरिपरि खोलिएका हुन्छन्। उनीहरू विभिन्न बाहना देखाएर लोकसेवा आयोगका तयारी कक्षामा पढाउन जाने गर्छन्। केही कमचारीले बिहान/बेलुका लोकसेवा आयोगको तयारी कक्षामा जाने र दिनभर आफ्नो तयारी गर्ने गर्छन्। यद्यपि सरकारले अघिल्लो साता स्वीकृतिविना तयारी कक्षामा जान नपाउने नियम बनाएको छ। यो नियम पूर्ण रूपमा कार्यान्वयन हुनेमा स्वयं कर्मचारी नै विश्वस्त छैनन्।

राष्ट्रिय सतर्कता केन्द्रले हरेक वर्ष कार्यालय समयमा तोकिएको पोशाक लगाएको÷नलगाएको कर्मचारीको विषयमा छड्के अनुगमन गर्नेगर्छ। अनुगमनको क्रममा तोकिएको पोशाक नलगाई कार्यालय जाने कर्मचारीलाई विभागीय कारबाही गर्न विभागीय प्रमुखलाइ सिफारिस गर्नेगर्छ। अघिल्लो आर्थिक वर्ष काठमाडौंमा मात्र करिब २सय ५० कर्मचारीलाई विभागीय कारबाही गर्न केन्द्रले सिफारस गरेको थियो तर सो सिफारिसलाई सम्बन्धित विभागीय प्रमुखले कहिले पनि कार्यान्वयन गरेका छैनन्।

संघीय मन्त्रालयका अनुसार निजामती कर्मचारीहरू मात्र नभई करार, ज्यालादारी तथा अस्थायी कर्मचारीहरूले पनि हरेक वर्ष पोशाक भत्ता बुझ्ने गर्छन। तर उनीहरूले पनि पोशाक लगाउँदैनन्। संघीय मन्त्रालयले करार, ज्यालादरी तथा अस्थायी कर्मचारीलाई पनि अनिवार्य रूपमा पोशाक लगाउनु पर्ने नियम बनाएको छ। यसैगरी सिंहदरबार बाहिरका सरकारी कार्यालयमा पनि अनिवार्य रूपमा तोकिएको पोशाक लगाउनु पर्ने नियम संघीय मन्त्रालयले बनाएको छ। ‘आफ्नो कार्यालयमा पोशाक अनिवार्य गर्न सम्बन्धित विभागीय प्रमुखको नैतिक जिम्मेवारी हो,’ सचिव अर्यालले बताए। अब यो नियम कडाइका साथ लागु हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७७ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App