१४ माघ २०७७ बुधबार
समाज

प्याराग्लाइडिङ उडानभित्रका उच्छृङ्खलता: उड्दाउड्दै फूल टिपेर यात्रुलाई दिइन्छ

पोखराको आकाशमा प्याराग्लाइडिङ गरिँदै । फाइल तस्बिरः उमेश पुन/नागरिक

पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुइदशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे । ती दुर्घटनामा परेर केहीले ज्यान पनि गुमाए । तर, गत सोमबारको दुर्घटनामा परेर पाइलट राजु गैरे नेपाली (३८) को ज्यान गएको घटना भने सबैका लागि नौलो थियो । किनभने टेण्डम (यात्रु सहित) उडान दुर्घटना हुँदा पाइलटले ज्यान गुमाएको यो पहिलो घटना थियो ।

-फूल र पात टिपेर दिँदा अतिरिक्त पैसा मागिन्छ

-जानीनजानी एक्रोब्याटिक गराइन्छ  

यसअघिका घटनामा सोलो (एकल) उडानका वा प्रशिक्षार्थी पाइलट मात्रै बढीजसो दुर्घटनामा पर्दै आएका थिए । टेण्डम उडान दुर्घटनामा परिहाले पनि यात्रु र पाइलट सामान्य घाइते हुने गरेका थिए । यो पटक अनुभवी टेन्डम पाइलटले नै ज्यान गुमाएका छन् ।  

सोमबारको घटनाबाट प्याराग्लाइडिङका एकजना अनुभवि पाइलटको ज्यान त गएको छ नै त्यो घटनापछि उडान दौरान पाइलटले गर्ने केही गल्तीबारे पनि बहस चल्न थालेको छ । अनुभवि पाइलटहरुका अनुसार प्याराग्लाइडिङ उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन, जसले गर्दा दुर्घटनाको जोखिम बढाएको छ । प्याराग्लाइडिङका अनुभवि पाइलट दामोदर पराजुली भन्छन्, ‘पाइलटले गर्नै नहुने गतिविधि गर्दा पनि दुर्घटनाको जोखिम छ । पाइलटका उश्रृंखल गतिविधिले दुर्घटना दोहोरिने गरेका छन् ।’  

प्याराग्लाइडिङ पाइलटका प्रशिक्षक समेत रहेका पराजुलीका अनुसार उडान दौरान यात्रुलाई रोमाञ्चकता दिलाउने भन्दै कतिपय पाइलटले भूइ नजिकै झरेर फूल र रुखको पात टिप्ने गतिविधि पनि गर्छन् । त्यसले गर्दा दुर्घटनाको जोखिम बढि हुन्छ । ‘आकाशमा उडिरहेको ग्लाइडरलाई रुख नजिकै ल्याएर फूल र पात टिप्न खोज्नुलाई उश्रृंखलता भन्न सकिन्छ,’ उनले भने, ‘उडिरहँदा फूल र पात टिप्न खोज्नु मुर्खता हो ।’ पात र फूल टिपेर यात्रुलाई दिएर खुसी पार्ने निहुँ पाइलटले बनाउने गरेको उनले बताए । ‘उडिरहेको बेला रुखको नजिकै आएर फूल र पात टिपेर यात्रुलाई दिने पाइलटलाई खोजीखोजी कारवाहि गर्नुपर्छ,’ उनले भने । श्रोतका अनुसार गत सोमबारको घटना हुनुमा पनि पाइलटले रुखको पात टिप्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, त्यसको यकिन कारण पहिचान गर्न विशेष अध्ययन टोली खटाइएको छ ।

उनका अनुसार उडान दौरान कतिपय यात्रुले नयाँ र रोमाञ्चक गतिविधि गराउन पाइलटलाई अनुरोध पनि गर्छन्। तर, त्यो बेला पाइलट आफैले निर्णय गर्नुपर्ने उनले बताए । ‘प्यासेन्जरले पनि कसरी सुरक्षित भइन्छ त्यो हेर्नुपर्छ । पाइलटले आफुले जानेको र सक्नेजति मात्र गर्ने हो । प्यासेन्जरको दवावमा पाइलटले बढी जान्ने हुनेगरि गतिविधि देखाउँदा दुर्घटना हुन्छ,’ पराजुली भन्छन्, ‘कतिपय प्यासेन्जरले भनेको र सुनेको भरमा पाइलटलाई दवाव दिन्छन्,’ उनले भने, ‘तर पाइलट आफैले निर्णय गर्ने हो । पाइलट आफैले कत्तिको सक्षम छु वा छैन भनेर निर्णय गर्नुपर्छ । यात्रुको सबै अनुरोध स्वीकार्न हुन्न ।’  

त्यसबाहेक पाइलटले यात्रुलाई रोमाञ्चकता थप्न एक्रोब्याटिक पनि गराउँछन् । पराजुलीका अनुसार एक्रोब्याटिक गराउँदा पाइलटले आफु कुन तहको हुँ भन्ने ख्याल राख्नुपर्छ । ‘यात्रुलाई सामान्य रोमाञ्चकता दिनेगरि गतिविधि गर्दा केही फरक पर्दैन । तर यहाँ जर्बजस्ती एक्रोब्याटिक गराइन्छ,’ उनले भने, ‘पोखरामै एक्रोब्याटिकका पोख्त पाइलट निकै कम छन् । प्यासेन्जरलाइ थोरै रोमाञ्चक सबै पाइलटले दिलाउन सक्छन्। तर, साच्चैको एक्रोब्याटिक गराउने दक्ष पाइलट जम्मा १०–१५ जना छन् ।’ उनका अनुसार सबै यात्रु एक्रोब्याटिक गर्न पनि चाहँदैन । पहिलोपटक उडेका यात्रुलाई त एक्रोब्याटिक बारे थाहै हुँदैन । ‘स्पेशल एक्रोब्याटिक गर्नेहरु स्काईडाइभ, बञ्जी गरेका व्यक्तिका लागि हो,’ उनले भने ।  

अर्का अनुभवि पाइलट बिमल अधिकारी त प्याराग्लाइडिङ उडानका पाइलट पटक्कै पेशाप्रति सिरियस छैनन् । ‘प्याराग्लाइडिङका पाइलट पेशमा चुकेका छन् । व्यवसायी र पाइलट सबै चुक्दा यो अवस्था आएको हो,’ अधिकारीले भने, ‘आफुसँगै उडेका यात्रुलाई पाइलटले सुरक्षित अवतरण गराउने जिम्मा हो । फूल र पात टिपेर दिएर खुसी बनाउन खोज्नु हुँदैन ।’ उनका अनुसार पाइलटले पात र फूल टिपेर दिँदा दुर्घटनाको सम्भावना हुन्छ । ‘पाइलटमा नैतिकता भएन । यसले दुर्घटना निम्त्याउँछ । सबै पाइलट सिरियस हुनुपर्छ,’ उनले भने ।  

एकजना पाइलटका अनुसार फूल र पात टिपेर दिँदा पाँचसय र तालको पानी छुवाउँदा अतिरिक्त एकहजार रुपैयाँ पनि पाइलटले यात्रुसँग लिने गरेका छन् । ‘आकाशमै बार्गेनिङ गरिनु पटक्कै राम्रो होइन,’ ती पाइलटले भने, ‘रमाइलो हुन्छ भनेर यात्रुसँग बार्गेनिङ गर्नु नै अनैतिकता हो । व्यवसायिक पाटो मात्र हेर्नु भएन । ट्याक्सी चलाएजस्तो होइन ।’

पाइलट अधिकारी त सोमबारको घटनापछि नेपाली प्याराग्लाइडिङ पाइलटप्रति र्नै अविश्वास जगाएको बताउँछन् । ‘कोरोनाको यो महामारीले पर्यटन क्षेत्र सुस्ताएको बेला आन्तरिक पर्यटनले प्याराग्लाइडिङ गर्दा व्यवसायमा केही राहत मिलेको थियो,’ उनले भने, ‘आन्तरिक पाहुनाबाट पनि पर्यटन सक्षम छ भन्ने सन्देश पुगेको थियो, तर, अहिले त्यो साख गुमेको छ ।’ घटनापछि नेपाली पाइलट व्यवसायिक छैनन र प्याराग्लाइडिङमा उश्रृंखल गतिविधि हुन्छन भन्ने सन्देश फैलिएको उनले बताए ।  

अर्का प्रशिक्षक पाइलट सानोबाबु सुनुवारका अनुभवमा प्याराग्लाइडिङ इन्जिनबिनाको साधन भएको र हावामा उड्ने भएकोले यसमा रोमाञ्चकता थप्न एक्रोब्याटिक गरिन्छ । ‘हावामा गर्ने गतिविधिलाई एक्रोब्याटिक भनिन्छ । एक्रोब्याटिक सोलो पाइलटले गर्ने हो, सबैले होइन, क्षमता र खुबी भएकाले मात्र गर्छन,’ सुनुवारले भने, ‘सबै ग्लाइडरबाट एक्रोब्याटिक सम्भव पनि हुँदैन र सबै पाइलटले गर्न पनि सक्दैनन् ।’ पानीमाथि लामो समय एक्रोब्याटिक तालिम लिएका पाइलटले मात्र त्यस्ता साहसिक गतिविधि गर्न सक्ने उनले बताए । ‘पाइलटसँग एक्रोब्याटिक अनुभव हुनुपर्छ । एक्रोब्याटिकका लागि भिन्दै ग्लाइडर पनि हुन्छ । टेण्डम गर्नेबाट पनि सामान्य एक्रोब्याट गर्न मिल्छ,’ उनले भने, ‘तर, साच्चै एक्रोब्याटिक गर्नका लागि एक्रोब्याटिक ग्लाइडर आवश्यक हुन्छ ।’

सुनुवारका अनुसार एक्रोब्याटिक गर्दा हावामा प्याराग्लाइडिङको गति बढ्न जान्छ । नर्मल उडान ४५ देखि ६५ किलोमिटर प्रतिघण्टाको एयरस्पिड हुन्छ । तर एक्रोब्याटिक गर्दा ८५ किलोमिटर भन्दा माथि गति हुने उनले बताए । एक्रोब्याटिक गर्दा ग्लाइडरको गति बढाएरै आकाशमै फनफनी घुमाइन्छ । त्यसरी घुम्दा सन्तुलन गुमाउन जाँदा दुर्घटनामा पर्न सकिने उनले बताए । ‘एक्रोब्याटिक गर्दा आकाशमा मच्चिने हो, तर त्यो गतिविधि निकै जोखिमपूर्ण हुन्छ,’ उनले भने ।  

सुनुवारले पनि यात्रु माग नभई पाइलटले थप गतिविधि गर्न नमिल्ने बताए । आफू खुसी गतिविधि गराउन नपाइने उनले बताए । ‘सुरक्षित टेकअफ गरेर रमाइलो गराउँदै अवतरण गराउने हो । तर, पोखरामा प्यासेन्जरको माग नभई आफुखुसी एक्रोब्याटिक गराउँछन् । त्यो गर्दा प्यासेन्जर अत्तालिन्छन,’ सुनुवारले भने, ‘त्यसबाट दुर्घटना पनि हुन्छ ।’ सुनुवारले पनि उडानका क्रममा फूल, रुखका पात टिप्ने काम गर्नलायक गतिविधि नभएको बताए । ‘जमिनमा गर्ने गतिविधि आकाशमा मिल्दैन । तालमा पानी छोएर गतिविधि गरिन्छ,’ उनले भने, ‘त्यो पुरै गलत हो ।’  

हवाई खेलकुद संस्था (एनएए)का अध्यक्ष कृष्ण भण्डारी पनि पाइलटले फूल, पात टिप्ने र पानी छुने गतिविधि पाइलटले गर्दै आएकोबारे थाहा पाएको बताउँछन् । ‘उड्दाउड्दै पात र फूल टिप्ने, तालको पानी छुने जस्ता गतिविधि हुने गरेका छन । ती सबै गतिविधि गर्न नपाउने गरि कडाई गर्दैछौ,’ उनले भने, ‘ती दराम्रा गतिविधि होइनन । व्यवसायिक उडानमा एक्रोब्याटिक गराउनुनै गलत हो ।’  

छानबिन समिति

सोमबारको दुर्घटनामा टेण्डम पाइलटको ज्यान गएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको कारण थाहा पाउन तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्राधिकराका पोखरास्थित प्रबन्धक (एयर ट्राफिक सर्भिस) अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहनेगरि छानबिन समिति बनाएको छ । समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ ।

प्रकाशित: १२ मंसिर २०७७ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App